अमेरिका र इरानबीचको तनाव बढ्दै गएको छ। पहिल्यैबाट अमेरिकी प्रतिबन्धको सामना गरिरहेको इरानमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि उमाथि कडा प्रतिबन्ध लगाइदिएका छन्।
नयाँ प्रतिबन्ध ट्रम्पले इरानका सर्वोच्च नेता आयोतल्लाह अली खानेमेइमाथि पनि केन्द्रित गरेका छन्। आयोतल्लाह इरानका आध्यात्मिक नेता तथा सर्वोच्च अधिकारी हुन्।
इरानको शासनमा भइरहेको प्रतिकूल कामको लागि आयोतल्लाह जिम्मेवार भएको बताउँदै ट्रम्पले उनीमाथि प्रतिबन्ध लगाएको बताएका छन्।
बासिङ्टनस्थित बीबीसी संवाददाता बारबरा प्लेटले आयोतल्लाह खानेमेइमाथि लगाइएको प्रतिबन्ध महत्वपूर्ण भएको बताउँछिन्।
उनी भन्छिन्,‘आयोतल्लाह इरानका सर्वोच्च नेता हुन्। इरानको राजनीतिक र सैन्य मामलामा अन्तिम फैसला उनकै हुन्छ। उनीसँग विशाल आर्थिक शक्ति पनि छ।’
आयोतल्लाह ‘सेताद’ नामको संस्था चलाउँछन्। यस संस्थाले सन् १९७९ को क्रान्तिपछि छाडिएका सम्पत्तिलाई आफ्नो नियन्त्रणमा लिएको थियो। यसबाट ९५ अर्ब डलरको ठूलो व्यापार खडा गरिएको छ।
सेतादमा अमेरिकाले पहिल्यैबाट प्रतिबन्ध लगाएको छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझ कडा प्रतिबन्ध लगाएका छन्। ट्रम्पका अनुसार इरान जे गरिरहेको छ, त्यसको पछाडि आयोतल्लाहकै हात छ। आयोतल्लाहबाट सँधै खतरनाक चिज आउने उनको भनाइ छ। यसमा इस्लामिक रिभोलुस्नरी गार्डपनि समावेश छन्।
ट्रम्पको नयाँ प्रतिबन्धले इरानका सर्वोच्च नेता तथा त्यहाँका सबैलाई कुनै पनि वित्तिय सहयोग प्राप्त हुनेछैन। आयोतल्लाह खानेमेइ बारम्बार पश्चिमा देश खासगरी अमेरिको निन्दा गरिरहन्छन्।
नयाँ प्रतिबन्धले इरानी सम्पत्तिको अरबौ डलर फ्रिज हुनेछ। अमेरिकाले पहिला इरानको तेलसँगै आर्थिक प्रतिबन्ध लगाइसकेको छ।
अझ प्रतिबन्ध लगाएर अमेरिका इरानलाई झुकाउन चाहन्छ। अमेरिका इरान परमाणु कार्यक्रम बन्द गरोस् भन्ने चाहन्छ। साथै क्षेप्यास्त्र उत्पादन बन्द गरेर अरब विद्रोही समूहलाई सहयोग नगरोस भन्ने चाहन्छ।
हालै इरानले अमेरिकी ड्रोन बिमानलाई ध्वस्त बनाएको थियो। त्यसपछि अमेरिका इरानसँग झन रुष्ट बनेका छन्। अमेरिकी ड्रोनले आफ्नो हवाई सुरक्षा क्षेत्र अवज्ञा गरेपछि आफूले ड्रोनलाई ध्वस्त बनाएको इरानको भनाइ छ।
अमेरिकाले आफ्नो ड्रोन अन्तर्राष्ट्रिय हवाई क्षेत्रमै हुँदा इरानले ड्रोन खसाएको आरोप लगाएको छ।
इरानका विदेशमन्त्री जावेद जरीले ट्वीटमा भनेका छन्,‘ट्रम्प प्रशासन युद्ध प्यासी हो।’ अमेरिकी वित्तमन्त्री स्टीवन मिन्युचिनले अमेरिका इरानसँग वार्ता गर्न तयार भएको बताउँछन्।

प्रतिक्रिया