राजनीति


चुच्चे नक्साको ठाउँबाट एमालेको चुनावी अभियान सुरु गर्दै ओली

चुच्चे नक्साको ठाउँबाट एमालेको चुनावी अभियान सुरु गर्दै ओली

फाइल फोटाे


गोकुल जोशी
कात्तिक ७, २०७९ सोमबार १८:२५, कञ्चनपुर

नेकपा एमालेले आसन्न प्रतिनिधि र प्रदेश सभा केन्द्रीत चुनावी आमसभा सुदूरपश्चिमबाट सुरु गर्ने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्तिक १८ गते दार्चुलाबाट चुनावी राष्ट्रव्यापी अभियान सुरु गर्ने कार्यक्रम तय भएको छ।

‘आसन्न चुनावलाई लक्षित गरेर राष्ट्रव्यापी आमसभा सुदूरपश्चिमबाट उद्घाटन गर्ने तय भएको छ,’ नेकपा एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले नेपालखबरसँग भने, ‘१८ गते दार्चुलाबाट आमसभा उद्घाटन पछि क्रमशः एमालेले देशका अन्य ठाउँमा सभा गर्ने छ।’

दार्चुला सदरमुकाम खलंगामा १८ गते बिहान ११ बजे आमसभालाई सम्बोधन गर्दै सुरु हुने अभियान अन्तर्गत सोही दिन ओलीले सुदूरपश्चिका अन्य दुई जिल्लाका आमसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको सचिव पाठकले बताए।

उनका अनुसार दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा हुने आमसभालाई ओलीले सम्बोधन गर्ने छन्।

भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको दार्चुलाबाट ओलीले एमालेको आसन्न चुनावको राष्ट्रव्यापी अभियान सुरु गर्न लागेका छन्।

ओली सरकारको नेतृत्वमा भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र समेटेर नेपालको नक्सा जारी भएको थियो। 

सोही कुरालाई चुनावमा जनतामाझ लगेर ‘चुच्चे नक्साले ओगटेको भूभाग फिर्ता ल्याउन’ भन्दै मत माग्न एमालेले अभियान सुरु गर्नका लागि दार्चुलालाई रोजेको अनुमान छ।

दार्चुलामा एमालेको आमसभा उद्घाटन गर्न अध्यक्ष ओली आउने कार्यक्रम तय भएपछि तयारी तीव्र पारिएको त्यहाँका अध्यक्ष प्रेमसिंह धामीले बताए। 

‘कार्यक्रमको तयारीमा जुटेका छौँ, आमसभामा हजारौँ मानिसको सहभागीता रहन्छ,’ उनले भने।

ओली ९ वर्षपछि दार्चुला जान लागेका हुन्। यसअघि ०७० सालको चुनावमा गोकुलेश्वरमा आयोजना भएको आमसभालाई सम्बोधन गर्न ओली त्यहाँ पुगेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .