ad ad

राजनीति


पूर्वपश्चिम लोकमार्ग चार लेनको बनाउने कांग्रेसको घोषणा

पूर्वपश्चिम लोकमार्ग चार लेनको बनाउने कांग्रेसको घोषणा

नेपालखबर
कात्तिक १२, २०७९ शनिबार १३:५८, काठमाडौँ

नेपाली कांग्रेसले आसन्न निर्वाचन पछि सरकारको नेतृत्व गरे पूर्वपश्चिम लोकमार्ग चार लेनको बनाउने घोषणा गरेको छ। निर्वाचन लक्षित घोषणा पत्रमा कांग्रेसले आगामी सरकारको नेतृत्व लिने दाबी गर्दै पूर्वपश्चिम लोकमार्ग चारलेनको बनाउने घोषणा गरेको हो। 

कांग्रेसको घोषणा पत्रमा मुग्लिङदेखि पोखरासम्मको पृथ्वी लोकमार्ग पनि चार लेनको बनाइने उल्लेख छ। घोषणा पत्रमा निजगढ–काठमाण्डौं द्रतमार्ग सञ्चालन भइसक्ने पनि लेखिएको छ। 

आगामी ५ वर्षमा हुलाकी सडक, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्गलाई सम्पन्न गरिएको र मनाङदेखि मुस्ताङ हुँदै जुम्ला जोड्ने सडकको अधिकांश भाग सम्पन्न गरिने कांग्रेसको भनाइ छ।  

कांग्रेसले आगामी ५ वर्षभित्रमा उत्तर–दक्षिण मार्गहरु (मेची करिडोर, कोसी करिडोर, सगरमाथा करिडोर, तमोर करिडोर, कालीगण्डकी करिडोर, भेरी करिडोर, कर्णाली करिडोर, महाकाली करिडोर) सम्पन्न हुने पनि बताएको छ।  

बीपी लोकमार्ग, अत्तरियादेखि तिंकर जोड्ने, खाड्पेदेखि बझाङ जोड्ने मार्गहरु स्तरोन्नति गरिने छन्। काठमाडौंका चक्रपथ विस्तार सम्पन्न भइसक्ने र डुम्रे–बेशीसहर–मनाङ सडक कम्तिमा दुई लेनको बन्ने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ। 

कांग्रेसले उच्च प्राथामिकताका साथ टोखा–छहरे सुरुङ्ग मार्ग पाँच वर्षभित्र सम्पन्न हुने उद्देश्यका साथ कार्य अगाडि बढाइने र नागढुङगा–सिस्नेरी, सिद्धबाबा तथा काठमाडौं–निजगढ सडकखण्डका सुरुङ निर्माण सम्पन्न हुने पनि घोषणा गरेको छ। 

दुम्किबास–बर्दघाट, माझिमटार–शक्तिखोर, खुर्कोट–चियाबारी, ब्याउलिढुंगा–इमिल्चाखोला, सुर्खेत–रानीघाट–भुरिगाउँ लगायतका सुरुङमार्गको सम्भाव्यता अध्ययन पूरा गरी निर्माण सुरु गरिने कांग्रेसको भनाइ छ।  

कांग्रेसले त्रिभुवन विमानस्थलको स्तरोन्नति गरिने र लुम्बिनी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सफल सञ्चालनमा ल्याइने पनि घोषणा पत्रमार्फत् घोषणा गरेको छ। 

रेल मार्गलाई पूर्वी तराईका भिट्टामोड–जलेश्वर–जनकपुर खण्ड, कुर्था–जनकपुर–बर्दिबास खण्ड तथा बिराटनगर खण्डमा सम्पन्न गरिने कांग्रेसको घोषणा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .