राजनीति


रवीन्द्र मिश्रको प्रश्न : राजाले गल्ती गर्न नहुने? गल्ती नगर्ने राजा कहाँ छन्?

रवीन्द्र मिश्रको प्रश्न : राजाले गल्ती गर्न नहुने? गल्ती नगर्ने राजा कहाँ छन्?

नेपालखबर
कात्तिक १२, २०७९ शनिबार १८:५१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार रवीन्द्र मिश्रले देशलाई भूराजनीतिको भुमरीबाट बचाउन राजा चाहिने बताएका छन्।

राजा देशका लागि अति आवश्यक भइसकेको भन्दै विगतमा राजाले गल्ती गर्नु स्वाभाविक भएको पनि दाबी गरे।

‘मान्छे मारेर आउनेले यो मुलुकमा शासन गर्न हुने, माडीमा दिउँसै बसमा बच्चा र वृद्ध जलाउनेले त्यहीँबाट चुनाव जित्न हुने। पृथ्वीनारायण शाहको सालिक भत्काउनेले गोेरखामा गएर चुनाव जित्छु भन्न हुने। अनि, यो देशमा राजाले गल्ती गर्न नहुने?’ मिश्रको प्रश्न थियो, ‘संसारमा गल्ती नै नगर्ने राजा कहाँ छन्? मलाई देखाउनुस्।’

‘राजा मेरो लागि चाहिएको होइन। तर यो देशका लागि राजनीति गर्ने हो भने यो देश जुन प्रकारको भूराजनीतिमा पर्दैछ, पहिला हामी अमेरिका–रुसको शीत युद्धको कुरा गथ्र्यौं, अब त्यो शीतयुद्ध सरेर दक्षिण एसियामा आउँदैछ। दुईतिर चीन र भारत उठेर आउँदैछन्। अनि, त्यसमा पश्चिमा चासो छ। र, नेपाल जहाँ, कुनै क्षयीकृत नभएको संस्था छैन। त्यो भूराजनीतिको भुमरीमा परेको देशलाई जोगाउन राजा र राजसंस्था चाहिन्छ,’ उनले भने।

राप्रपाका पूर्वअध्यक्ष पशुपति शमेशर राणाले ठूला दलले मुलुकलाई दुर्गतिमा पुर्याएको अब हलोले भलो गर्ने दाबी गरे।

‘ठूलो दलको अति भो। यिनीहरुको दुर्भाग्य अब देशले भोग्न नपरोस् भनेर त्यसको तयारी गर्न राप्रपा अगाडि लम्केको छ। अब हलो आयो आयो। अगाडि बढ्यो हलो। हलोले भलो गर्छगर्छ,’ उनले भने।

अर्का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राप्रपाको विजयलाई कसैले रोक्न नसक्ने बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .