ad ad

राजनीति


संघ र प्रदेश दुवैमा सत्ता गठबन्धनले बहुमत ल्याउँछ : अनिल झा (अन्तर्वार्ता)

लोसपाबाहेक अरु मधेशवादी दल नै होइनन्
संघ र प्रदेश दुवैमा सत्ता गठबन्धनले बहुमत ल्याउँछ : अनिल झा (अन्तर्वार्ता)

फाइल तस्बिर


जयन्त ठाकुर
कात्तिक १३, २०७९ आइतबार १२:५४, जनकपुरधाम

आगामी मंसिर ४ को निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी अन्तिम समयसम्म नेकपा एमालेसँग चुनावी तालमेल तयारीमा थियो। तर जनता समाजवादी पार्टी (जसपा) ले एकाएक एमालेसँग चुनावी तालमेल गर्ने सम्झौता गरेपछि नेपाली कांग्रेसले लोसपालाई सत्तारुढ गठबन्धनमा ल्याएको थियो। एमालेसँग चुनावी तालमेल हुन नसक्नुको कारणमध्ये धनुषा निर्वाचन क्षेत्र नम्बर ३ पनि एक हो। 

हुनत यस क्षेत्रका लागि सत्तारुढ गठबन्धनमासमेत लामै छलफल चलेको थियो। तर रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजववादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई सत्ता गठबन्धनबाट उठाएपछि अनिलकुमार झाले धनुषा ३ बाट टिकट लिए। झा २०७४ को निर्वाचनमा रौतहट १ बाट निर्वाचित भएका थिए। रौतहट १ का निवर्तमान सांसद झालाई धनुषा ३ मा एमाले नेतृ एवम् पूर्वमन्त्री जुलीकुमारी महतोले टक्कर दिइरहेकी छन्। 

रौतहटबाट धनुषा आएर उम्मेदवारी दर्ता गराएका झाका लागि जुलीलाई पराजित गर्न सहज हुने देखिँदैन। यसका साथै धनुषा ३ का मतदाताको विश्वास जित्नु पनि उनका लागि चुनौती छ। यी सबैबीच धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका झाले आफ्नो चुनावी अभियान कसरी चलाइरहेका छन्? गठबन्धन दलका नेता कार्यकर्ताहरुबाट सहयोग मिलेको छ कि छैन? यहाँका मतदाताबाट कस्तो प्रतिक्रिया आइरहेको छ? यसहित विषयमा नेपालखबरले गरेको कुराकानी: 

धनुषा ३ बाट उम्मेदवारी दर्ता गराएर घरदैलोमा व्यस्त हुनुहुन्छ। यहाँका मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ?
सबै पक्षबाट सकारात्मक सहयोग पाइरहेको छु। यहाँका मतदाताले जसरी मलाई सकारात्मक प्रतिक्रिया दिइरहेका छन्, यसले मेरो मनमा जित्ने विश्वास आइरहेको छ। सत्ता गठबन्धनले मलाई उम्मेदवार बनाएर यहाँ पठाएको छ। 

गठबन्धनका सबै दलहरुबाट राम्रो सहयोग पाइरहेको छु। म यहाँ घरदैलोमा व्यस्त छु, गठबन्धन दलका सबै नेता कार्यकर्ता खटिरहनु भएको छ, सबैको सहयोग मिलेको छ। यस्तै सहयोग रहे धनुषा ३ को प्रतिनिधिसभा र दुवै प्रदेशसभा क्षेत्र सत्ता गठबन्धनले जित्नेमा विश्वस्त छु।

तपाईंले गठबन्धनका दलको सहयोग पाइरहेको भन्नुभयो, तर एक कार्यक्रममा कांग्रेसी नेता कार्यकर्तालाई बिरानो नठान्न पनि आग्रह गर्नुभयो। यो सम्बोधनले तपाईंमा गठबन्धनबाटै असहयोग हुने सम्भावना छ भन्ने डर झल्किरहेको देखियो नि?
हाम्रै दलका केही नेता कार्यकर्ताहरुले फलानोले सहयोग गर्दैनन् भन्ने मलाई सुनाउनु भयो। त्यही सन्दर्भलाई जोडेर मैले कांग्रेसी मित्रहरुलाई मैले तपाईंहरुलाई विरानो मान्दिनँ, तपाईंहरु पनि आफूलाई बिरानो नठान्नु भनेको थिएँ। यद्यपि कुनै साथीको व्यक्तिगत टिप्पणी दलको आधिकारिक भनाइ हुँदैन।

पार्टीको आधिकारिक टिप्पणी त दलको नेता, उम्मेदवार वा दलको कुनै कमिटीको अध्यक्षले सार्वजनिक मञ्चबाट दिएको मन्तव्य वा हस्ताक्षरसहित लिखित रुपमा गरेको मात्रै हुन्छ। त्यसैले गठबन्धन दलहरुबीच कुनै प्रकारको संशय छैन। स्वभाविक रुपमा ५ वर्षअगाडि नेपाली कांग्रेस र तत्कालीन राष्ट्रिय जनता पार्टी (जुन अहिले लोसपा छ) बीच यहाँ कडा प्रतिस्पर्धा भएको थियो। अहिले केन्द्रीय नीति बमोजिम एक ठाउँमा छौँ। म साथीहरुलाई भरोसा दिलाउन चाहन्छु, राजेन्द्र महतो वा विमलेन्द्र निधिजीले जुन किसिमको सुमधुर व्यवहार गर्नुभयो, त्यस्तै मैले पनि गर्नेछु।

चुनावी अभियानका क्रममा अनिलकुमार झा

तपाईंलाई टुरिष्ट उम्मेदवारको संज्ञा दिइएको छ, यसलाई कुन रुपमा लिनु हुन्छ?
मलाई एकदमै खुशी लागिरहेको छ। जब विपक्षी दल वा उम्मेदवारसँग राजनीतिक कुनै एजेण्डा हुँदैन, तब व्यक्तिगत चरित्र वा पार्टीको नीतिसम्बन्धी कुनै कुरा हुँदैनन्। अनि यस प्रकारको भ्रम फैलाइन्छ। मलाई पाहुना उम्मेदवार भन्ने विपक्षी नै धनुषा ३ का होइनन्। उहाँ आफैं यस क्षेत्रबाहिर जन्मेको, क्षेत्रबाहिरै बिहे भएको उम्मेदवार हुन्। उनी आफैँ धनुषा ४ को मतदाता हुन्, सबैलाई थाहा छ।

यदि क्षेत्रभित्रलाई भित्रिया जनाउँछ भने म मात्रै बाहरिया होइन। यदि बाहरिया मधेसबाहिर वा नेपाल बाहिरलाई जनाउँछ भने म बाहरिया होइन। राजनीतिमा मेरो लगानी अरुभन्दा अब्बल नै होला, दोयम छैन जस्तो लाग्छ। राजनीतिमा कुनै एजेण्डा नभएर यस्ता भ्रम फैलाइएको मलाई लाग्छ।

दलहरुबीच चुनावी तालमेलपूर्व मधेशकेन्द्रित दलहरुबी चुनावी तालमेल हुनुपर्ने आवाज उठिरहेको थियो। मधेसकेन्द्रित दलहरुबीच किन चुनावी तालमेल हुन सकेन?
नेपालमा कुनै मधेसवादी दल छ भने त्यो लोसपा मात्रै हो। यदि कुनै दलले मधेसी हाकिमलाई नङ्ग्याएर सडकमा घुमाउँछ, कुनै दल घरीघरी आफ्नो एजेण्डा फेरिरहन्छ, जुन दलको अध्यक्ष नेपालमा मधेसवाद नै छैन भन्छ भने त्यो दल मधेसवादी हुन सक्दैन। जुन दलको कुनै डकुमेन्टमा मधेसवाद शब्द नै उल्लेख छैन, त्यस्तो दल मधेसवादी कसरी हुन सक्छ? हो मधेसी नेता त्यो दलमा होलान्। सबै दलमा मधेसी नेता छन्।

तत्कालीन संघीय समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टीले २०७४ को निर्वाचनमा गठबन्धन गरेर लड्दा प्रदेश र प्रतिनिधिसभा दुवैमा राम्रै परिणाम आएको थियो। तर यस पटक अलग अलग गठबन्धनमा हुँदा तपाईहरुको पक्षमा आउँछ त?
लोसपा यो देशमा महन्थ ठाकुरको नेतृत्वमा छ। विगतमा यस दलको नाम फेरिए पनि मधेशवादलाई कहिल्यै छोडेन। पार्टीलाई घाटा भए पनि, राजनीतिक रुपमा अलिकति आफूलाई डिमोरलाइज गरेर भए पनि, मध्यरातमा फुटको संघारमा रहेको दललाई बचाइदिन भए पनि महन्थजीसहित हामी सदैव अग्रसर भएका छौँ।

रह्यो बहुमत, अल्पमतको कुरा, यो लोकतन्त्रमा चलिरहने प्रकृया हो। अहिले लोसपा ५ दलीय गठबन्धनमा छ। यही गठबन्धनले प्रदेश र प्रतिनिधि दुवैमा बहुमत ल्याउने हाम्रो विश्वास छ। विगतमा हाम्रो अलग्गै समीकरण थियो अहिले त्यो समीकरण छैन। अहिले ५ दलीय गठबन्धनको जुन समीकरण छ, यसले संविधान कार्यान्वयन, संशोधन, नागरिकतासम्बन्धी मुद्दा समाधान र संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत बनाउने दिशामा काम गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .