ad ad

राजनीति


जनमोर्चाले सुरु गर्‍यो ‘समानुपातिक अभियान’

जनमोर्चाले सुरु गर्‍यो ‘समानुपातिक अभियान’

नेपालखबर
कात्तिक १६, २०७९ बुधबार १६:३९, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले समानुपातिक निर्वाचनमा पार्टीलाई भोट माग्न ‘समानुपातिक अभियान’ सुरु गरेको छ।

बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानको सुरुवात गरेको हो। 

भोलि (कात्तिक १७) गतेदेखि बुटवलबाट सुरु हुने अभियान कात्तिक २८ गते बुटवलमै पुगेर समापन गरिने जनमोर्चाले जनाएको छ।

जनमोर्चाले ‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित निर्वाचनमा भाग लिने निर्णय गरेको स्पष्ट पारेको छ।

पत्रकार सम्मेलनमा बोल्दै जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले कात्तिक १७ देखि २८ गतेसम्म देशका सम्भव भएका सबै जिल्लाहरूमा केन्द्रीय टोलीको नेतृत्वमा सो अभियान सञ्चालन हुने जानकारी दिए। त्यसक्रममा केन्द्रीय तहका नेताहरुको नेतृत्वमा आमसभा, कोणसभा, जनभेटघाटलगायतका कार्यक्रम हुने छन्।

अभियानअन्तर्गत देशव्यापी रूपमा नै मतदाताहरूसँग घरदैलो, भेटघाट, विभिन्न सभा, कोणसभा, पत्रकार सम्मेलन गरेर समानुपातिक निर्वाचनमा राष्ट्रिय जनमोर्चाका पक्षमा मत मागिने उनले बताए।

बुटवलबाट सुरु हुने अभियान कात्तिक १७ गते बुटवल, सोही दिन कपिलवस्तु (४ नं. चौक), १८ गते दाङको भालुवाङ र सोही दिन कोहलपुरमा कार्यक्रम हुनेछ। 

यस्तै, कात्तिक १९ गते बर्दियाको बाँसगढी र भुरीगाउँ, कैलालीको चिसापानीमा कार्यक्रम हुनेछ।

जनमोर्चाले २० गते कैलालाीको अत्तरियार, धनगढी तथा कञ्चनपुरको बेलौरी र विनवारीमा कार्यक्रम गर्नेछ।

यसैगरी कात्तिक २१ गते सुर्खेत, २२ गते सुर्खेतकै छिन्चु, २३ गते तुल्सीपुर र कपिलवस्तुको चन्द्रौटा, २४ गते पाल्पा, गुल्मीको तमघास र पुर्तिघाटका कार्यक्रम गर्ने जनमोर्चाले जनाएको छ।

कात्तिक २५ गते पर्वतको बिहादी र गुल्मीको कालिगण्डकी तथा २६ र २७ गते कास्कीको पोखरा २८ गते चितवन र नवलपुरको रजहरमा कार्यक्रम गरी सोही दिन बुटवल पुगेर कार्यक्रम समापन हुने छ। 

जनमोर्चाले पाँचदलीय गठबन्धनबाट प्रतिनिधि सभातर्फ प्युठान र बागलुङ १ तथा प्रदेश सभातर्फ लुम्बिनीको अर्घाखाँची क मा उम्मेदवारी दिएको छ। 

समानुपातिकतर्फ प्रदेश १ र २ बाहेक पाँच वटा प्रदेश र प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .