राजनीति


ओलीले सोधे : सत्ता गठबन्धनको कार्यक्रम के हो? अबको प्रधानमन्त्री को हो?

ओलीले सोधे : सत्ता गठबन्धनको कार्यक्रम के हो? अबको प्रधानमन्त्री को हो?

नेपालखबर
कात्तिक २१, २०७९ सोमबार १३:२९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ को निर्वाचनले देशको भाग्य र भविष्य नै निर्धारण गर्ने बताएका छन्। 
नेकपा एमाले जिल्ला कमिटी कास्कीले सोमबार गरेको कार्यकर्ता भेलालाई पोखरामा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'अबको निर्वाचनबाट देशले विनाशको बाटो कि विकासको बाटो रोज्ने पक्का गर्छ। देश पराधीन हुने कि स्वाधीन हुने फैसला निर्वाचनले गर्छ', उनले भने, 'हामीले यस निर्वाचनमा जित्नुपर्नेछ। संसदीय प्रणालीमा, लोकतन्त्रमा जनताका प्रतिनिधिले सरकार छान्छ। यसअघि जनादेशलाई कुल्चिएर परमादेशबाट सरकार बनाउने काम भए। त्यो गल्तीलाई यो निर्वाचनबाट सच्याउनुपर्छ।'

उनले केही प्रतिगामी तत्वहरुले संसद विघटन गरेर जनतामा जाने कुरालाई प्रतिगमन भनेको पनि बताएका छन्। 

‌ओलीले २०७४ मा एमाले र माओवादी मिलेर ल्याएको घोषणा पत्र पुष्पकमल दाहाल प्रचण्डले लत्याएपछि आफूले ताजा जनादेशमा जान खोजेको बताए। 

'प्रचण्डले २०७४ को साझा घोषणा पत्र लत्याइसकेपछि अब त्यसको औचित्य थिएन। प्रचण्डले लत्याएकाले ताजा जनादेशमा गएको हो', उनले भने, 'प्रधानमन्त्री शेरबहादुर देउवा संविधान बचायौँ भन्दैछन्। तर संविधान त कसले मारेको थियो र! हामीले संविधानका कुनै धारा मिचेका थिएनौँ। ताजा जनानेशमा जाँदा संविधान मिचेको हुँदैन। बरु परमादेशबाट संविधान मिचिएको कुरालाई सच्याउनुछ।'

उनले पाँच दलीय गठबन्धनका दलहरुले अलग अलग घोषणा पत्र ल्याएर रमिता देखाएको बताए। 'उनीहरुको घोषणा पत्र कुन कार्यान्वयन गर्ने त?', उनले भने, 'दिशाहीन, योजनाविहीन उनीहरुले केही गर्नु नै छैन। यस्ता गन्तव्यहीन विचार भएकाले कर्ममाण्ड पूरा गर्न घोषणा पत्र ल्याए। उनीहरुको उद्देश्य नै सरकार बनाएर देश लुट्ने हो।'

ओलीले सरकार बनाउनकै लागि गठबन्धन विदेशीसँग लम्पसार पर्ने गरेको बताए। 'त्यही नीतिसहित गठबन्धन अघि बढेको छ। गठबन्धनले अस्थिरताबाहेक केही गर्दैन', उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .