ad ad

राजनीति


चुनाव बिथोल्ने आशंकामा विप्लवदेखि शिवसेनासम्म २८ समूह प्रहरीको निगरानीमा

चुनाव बिथोल्ने आशंकामा विप्लवदेखि शिवसेनासम्म २८ समूह प्रहरीको निगरानीमा

उजिर कार्की
कात्तिक २२, २०७९ मंगलबार १९:४८, काठमाडौँ

निर्वाचनका लागि सबै सुरक्षा निकाय तैनाथ हुन थालेका छन्। निर्वाचनको एक महिना पहिलेबाटै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी फिल्डमा खटिन थालेका हुन्। 

मंगलबारदेखि जनशक्ति अपुग रहेका जिल्लामा काठमाडौंँ उपत्यकाबाट थप प्रहरी पठाउन थालिएको हो। मंगलबार विभिन्न जिल्लामा २ हजार बढी प्रहरी पठाइएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए। २५ गतेभित्रमा सबै जिल्लामा काठमाडौँबाट थप जनशक्ति पठाइसकिने छ। 

यस्तै निर्वाचनका लागि नेपाल प्रहरीलाई अपुग साना हतियार पनि नेपाली सेनाबाट ल्याइएको छ। ती हतियार चुनावपछि प्रहरीले फिर्ता गर्नेछ। हरेक बुथमा जुनियर अधिकृतले प्रयोग गर्ने गरी पेस्तोल सेनाबाट ल्याइएको हो। 

नेपाल प्रहरीले यसअघि वैशाखमा सम्पन्न स्थानीय तहलाई हेरेर सुरक्षा योजना बनाएको प्रवक्ता राईले बताए। यस्तै बदलिँदो सुरक्षा परिस्थितिबारे सबै सुरक्षा प्रमुखले प्रदेशमा छलफल तथा निर्देशन दिइरहेको पनि प्रहरीले जनाएको छ। 

चुनावअघि नै प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले प्रदेशमा पुगेर मातहतलाई निर्देशन दिएका छन्। 

यसअघिका निर्वाचनमा भन्दा अहिले सुरक्षा चुनौती कम रहेको भए पनि ढुक्क हुन सकिने अवस्था नरहेको निष्कर्ष प्रहरीले निकालेको छ। 

‘अहिलेको चुनावमा विगतमा जस्तो थ्रेट त छैन तर आशंकित पार्टी र समूहहरुमाथि निगरानी राखेका छौं’, प्रवक्ता राईले भने, ‘गैरकानुनी गतिविधि गर्नासाथ नियन्त्रणमा लिएर कारबाही गर्छौं।’ 

यी हुन् चुनाव बिथोल्न सक्ने २८ पार्टी र समूह
प्रहरीले चुनावमा सहभागी नहुने राजनीतिक दल र समूह गरी २८ वटामाथि निगरानी गरिरहेको छ। मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का नेताहरुमाथि पनि प्रहरीले निगरानी गरिरहेको छ। केही समयपहिले मात्रै विप्लवबाट छुट्टिएका धर्मेन्द्र बास्तोला संयोजक रहेको नेकपा बहुमत पनि प्रहरीको निगरानीमा छ। 

सन्तबहादुर नेपाली संयोजक रहेको नेकपा (मसाल), गोपाल किराती संरक्षक रहेको माओवादी कम्युनिस्ट पार्टी नेपाल, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरु पनि प्रहरीको निगरानीमा छन्।

विश्वभक्त दुलाल अध्यक्ष रहेको वैज्ञानिक समाजवादी पार्टीसँग पनि प्रहरी ढुक्क छैन। तारानाथ लुइँटेल संयोजक रहेको संयुक्त जनआन्दोलन मोर्चाले पनि चुनावमा बाधा गर्न सक्ने प्रहरीको अनुमान छ। 

अनिल बस्नेत अध्यक्ष रहेको शिव सेना नेपाल, शेखरजंग रायमाझी संयोजक रहेको पुनरुत्थानवादी शक्ति, गोविन्द निरौला नेतृत्वको नेपाल समाजवादी कांग्रेस, चन्द्रबहादुर थापा नेतृत्वको राष्ट्रवादी केन्द्र, मणिक लामा अध्यक्ष रहेको नेकपा (एकीकृत माओवादी), गौरव संयोजक रहेको नेकपा माओवादी पनि प्रहरीको सूचीमा छन्। 

यस्तै चन्द्रबहादुर रामदाम नेतृत्वको राष्ट्रवादी नागरिक समाज, दिनेशराज पाण्डे अध्यक्ष रहेको कफन, पशुपति खड्का अध्यक्ष रहेको शाही युवा शक्ति, उमा श्रेष्ठ नेतृत्वको राष्ट्रवादी एकता पार्टी, द्रोण अधिकारी नेतृत्वको देशभक्त पार्टी, शरदचन्द्र दाहाल अध्यक्ष रहेको राष्ट्रिय एकता पार्टी (प्रजातन्त्रवादी), शोभाराम थापाको ३३ दलीय मोर्चा पनि प्रहरीको निगरानीमा छन्। यी सबै दलले चुनाव बहिष्कार गरेका छन्। 

यस्तै केशरबहादुर विष्ट अध्यक्ष रहेको राष्ट्रिय शक्ति नेपाल, हिमालय चन्दको नेतृत्वमा रहेको नेपाल राष्ट्रिय युवा पार्टी, समुन्द्र महासचिव रहेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी), किशोरी महतो अध्यक्ष रहेको २०४७ सालको संविधान पुनर्स्थापना राष्ट्रिय अभियान, सोमविक्रम सिंह नेतृत्वको राष्ट्रिय सरोकार मञ्च, विश्वराज गैरे अध्यक्ष रहेको स्वतन्त्र नागरिक समूह र विक्रान्त संयोजक रहेको नेपाल जनतान्त्रिक मुक्ति मोर्चा पनि प्रहरीको निगरानीमा छ। 

तर कतिपय पार्टी वा समूह भनिए पनि केही व्यक्ति मात्रै आवद्ध रहेको प्रहरीको निष्कर्ष छ। 

‘चुनावमा सहभागी नहुने समूहलाई अहिले हामीले निगरानी मात्रै गर्छौं, गैरकानुनी गतिविधि नगरेसम्म हामी केही गर्दैनौँ। तर कानुनबाहिर गएर गतिविधि भए नियन्त्रणमा लिन्छौँ,’ प्रवक्ता राईले भने। 

यसअघि स्थानीय तहको चुनावमा यी समूह निष्क्रिय रहेकाले यसपटक पनि खासै ठूलो चुनौती नबन्ने प्रहरीको अनुमान छ। यसपटक पनि चुनावमा सहभागी ठूला दलबीच नै लफडा हुन सक्ने र त्यसैले चुनावी सुरक्षामा असर गर्ने प्रहरीको अनुमान छ। चुनावमा सहभागी नभएका दल तथा समूहमाथि पनि निगरानी भने गर्ने भएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .