ad ad

राजनीति


चुनावमा आश्वासनको बाढी, जितेपछि न नेता आउँछन् न त विकास

कँडेल भन्छन् : जनताले हामीसँग अपेक्षा राख्नै पर्छ
चुनावमा आश्वासनको बाढी, जितेपछि न नेता आउँछन् न त विकास

वीरेन्द्रनगर नगरपालिका–१ का महिलाहरु। तस्बिर : दिनेश बुढा/नेपालखबर


दिनेश बुढा
कात्तिक २४, २०७९ बिहिबार १४:५, सुर्खेत

बिहान करिब साढे ८ बजे। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमल, चनाबारी, लालीगुराँस र धारापानीमा मतदाता आफ्नो काममा व्यस्त थिए। 

कोही बिहानको खाना बनाउने तयारीमा थिए, कोही खेतबारीमा काम गरिहरेका थिए।

 कोही खानेपानी लिनका लागि धारातर्फ जाँदै थिए। सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ प्रदेशसभा (२) का लागि नेकपा एमालेका उम्मेदवार यामलाल कँडेल त्यही क्षेत्रको घरदैलेमा पुगे। 

उनीसँगै प्रदेश सभा सदस्यका समानुपातिक बालाराम शर्मा र नन्दा गुरूङ पनि घरदैलो अभियानमा थिए। उम्मेदवारहरु प्रत्येक दिन बिहान ६ बजेदेखि घरदैलो अभियानमा जाने गरेका छन्। 

अभियानकै क्रममा वीरेन्द्रनगर–१ चनाबारी र लालीगुराँस क्षेत्रमा पुगेर उम्मेदवार नमूना मतपत्र बाँड्न थाले।

यामलाल कँडेल प्रत्येक घरमा पुग्दै नमस्कार गरिरहेका थिए। उनी एकपछि अर्को घरका मतदाता फकाउँदै अघि बढिरहे। 

चनाबारीका विभिन्न घरमा पुगिसकेपछि उम्मेदवारको टोली दुर्गा विकको घरमा पुग्यो। उम्मेदवारहरुले विकलाई पनि नमस्कारसहितको औपचारिकता पूरा गर्दै भोट मागे। 

चुनावी अभियानमा उम्मेदवारहरु

तर उनले त्यही मौकामा टोलभर खानेपानी समस्या रहेको गुनासो गरिन्। ‘विगतदेखि नै पानीको विषयमा माग राख्दै आएका छौँ’, उनले भनिन्, ‘भोट हालेर जिताउँछौँ। तर उहाँहरुले आश मात्रै देखाउनु हुन्छ। काम कहिले पनि गर्नु भएन, हामीले पानी पिउन पाएनौँ।’ 

दुर्गाले आधा घण्टा परबाट खानेपानी ल्याउनुपर्ने बाध्यता रहेको सुनाइन्। ‘पानी ल्याउन जाँदा पालो कुर्नुपर्छ। एकजनालाई त पानीको जिम्मा नै छ’, उनले भनिन्, ‘पानी नहुँदा लुगा धुन, नुहाउन मात्रै होइन, पिउन पनि अभाव छ।’ 

उनले उक्त वस्ती धेरैजसो ऐलानी जग्गामा बसेको सुनाइन्। चुनावका बेला नेताहरुले लालपुर्जा दिने वचनपछि फर्केर नआउने गरेको गुनासो गरिन्। उ

‘पानीको समस्या समाधानका लागि बोरिङ हाल्ने कुरा गुर्नहुन्छ। तर, आजको दिनसम्म कुनै नेताले पूरा गर्न सक्नु भएको छैन’, उनले सुनाइन्। घरदैलो अभियानमा दुर्गाको घर पुगेका कँडेलसहितका नेता–कर्यकर्ताले छिट्टै काम हुने आश्वसन दिएर अन्यत्र भोट माग्न हिँडे।

वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमल, चनाबारी, लालीगुराँस, धारापानी  पुगेका उम्मेदवारलाई स्थानीयले दुर्गाका जस्तै गुनासा राखे। त्यहाँका वस्तीमा मुख्य समस्या नै खानेपानी रहेछ।

यस्तै, वीरेनद्रनगर–१ चनाबारीकै ४० वर्षीया कमला सुनारले २० वर्षदेखि भोट हाल्दै आए पनि कुनै परिवर्तन हुन नसकेको बताइन्। ‘चुनावका बेला आउने नेताहरु सधैं आश्वासन र प्रलोभन मात्रै देखाउँछन्, कहिल्यै पूरा गदैैनन्’, उनले सुनाइन्। 

निर्माणाधीन सडक

यस्तै, लालीगुराँस टोलकी मञ्जु विकको गुनासो पनि उस्तै छ। उनले आफ्नो परिवार सामुदायिक वनको जग्गामा बस्दै आएको सुनाइन्। वनले कतिबेला उठाउँछ भने चिन्ता उनमा थियो।  

‘भर्खरै नेताहरुले प्रचा बाँडेर गए। सूर्यमा भोट हाल्नुहोला मात्रै भने हाम्रा समस्या सुनेनन्’, उनले थपिन्, ‘भोट हालीसकेपछि जितेका उम्मेदवारले आफ्ना नातेदारका मात्रै समस्या समाधान गर्छन्। हाम्रो सुनुवाइ हुँदैन। लालपूर्जाका लागि नातेदारको मात्रै नाम दर्ता गरेका छन्।’

त्यहीँकी कल्पना विकको गुनासो पनि उस्तै छ। उनले सञ्चलान गर्दै आएको घुम्ती पनि सामुदायिक वनको जग्गाभित्रै छ। ‘केही वर्षयता मैले पनि भोट हाल्दै आएकी छु। चुनावको समयमा घरमै आएर नमस्कार गर्ने नेता फर्किएर आउँदैनन्,’ उनले सुनाइन्।  

यस्तै, वीरेन्द्रनगर–१ धारापानीका कृष्णबहादुर थापाले नेताहरुले आश्वासन मात्रै बाँडेको सुनाए। आफ्नो वडामा कुनै विकास हुन नसकेको उनले बताए। ‘म ८० वर्षको भएँ। सुकुम्बासी बस्ती बसेको करिब ४० वर्ष भयो। तर, यहाँ जुनसुकै नेताले जिते पनि कसैले विकास गरेनन्’, उनले भने, ‘यहाँ खानेपानीको हाहकार छ। तर, अलिअलि यामलालको आश छ। अरु सबै नेता उस्तै हुन्।’ 

थापाले सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ मा गठबन्धनबाट कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार हृदयराम थानीको नाम लिँदै उनले भने, ‘उनले कहिले पनि काम गर्न सकेनन्। थानी र पानीको भरोसा हुन्न भन्छन्। यिनीहरुले केही गर्ने होइनन्। अब यामलालले केही गर्छ कि गर्छु त भनेका छन्।’

के भन्छन् कँडेल? 

एमाले उम्मदेवार यामलाल कँडेल

मतदाताका गुनासोबारे प्रतिक्रिया दिँदै उम्मेदवार कँडेलले बाटो, खानेपानी, अव्यवस्थित र सुकुम्बासी बस्तीहरु र लालपूर्जाबारे नगरपालिकाले तत्काल काम गर्ने बताए। 

‘जनता आशावादी छन्। विगतको निर्वाचन भन्दा अहिले आफैँले पनि बुझेर, मिलेर अगाडि बढ्ने कुरा जनतामबाट सुनिन्छ’, उनले भने, ‘विकास नहुने कुरामा हाम्रो पनि कमजोरी होला। जनताले जे समस्या भोगिरहेका छन्। तिनै कुरा सम्बोधन गर्न उम्मेदवार तयार हुनै पर्छ।’ 

उनले जनतालाई घर, खानेपानी चाहिने कुरा आधारभूत तहको भएको बताए। उनले लालपूर्जा दिन केपी ओलीको सरकारकै पालामा कानुन बनिसकेको अवस्थामा गठबन्धनको सरकार आएपछि सुकुम्बासी आयोग विघटन गरेकाले सबै कुरा बिग्रिएको सुनाए। 

‘वीरेनद्रनगर नगरपालिकामा एमालेले जितेको छ। लालपूर्जा वितरणका लागि नापी, नक्सा अगाडि बढाउने कुरा भएको छ’, उनले भने, ‘कानुन बनेको छ। जनता जो सुकुम्बासी छन्, जो अव्यवस्थित छन्, उनीहरुले अब नगरपालिकामार्फत लालपुर्जा पाउँछन्।’ 

कँडेलले धारापानी, चनाबारी लगायत स्थानमा बसोबास गर्ने अव्यवस्थित सुकुम्बासी, निमुखा, ददितलाई लाभ दिने गरी सडक निर्माण गरिएको दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .