ad ad

राजनीति


सुदूरपश्चिमका ५ निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन ‘रेड जोन’ मा

‘भोट ट्रान्सफर भए १६ वटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारले जित्छन्’
सुदूरपश्चिमका ५ निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन ‘रेड जोन’ मा

केशव सावद
कात्तिक २८, २०७९ सोमबार १८:१३, काठमाडौँ

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा प्रतिनिधि सभाका १६ निर्वाचन क्षेत्र छन्। तराईका २ जिल्ला कञ्चनपुर–कैलाली र पहाडी जिल्ला अछामबाहेक अन्य ६ जिल्लामा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन्। कञ्चनपुरमा ३, कैलालीमा ५ र अछाममा २ प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरु छन्। 

मंसिर ४ गते हुने निर्वाचनका लागि सुदूरपश्चिमका १६ क्षेत्रमा सत्ता गठबन्धनले भागबण्डा गरेर उम्मेदवारहरु खडा गरेको छ। सत्ता साझेदार दलहरुबीच भएको सहमतिअनुसार नेपाली कांग्रेसले ९, नेकपा माओवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादीले ३ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन्।

कांग्रेसले डडेल्धुरा, दार्चुला, बाजुरा, अछाम–२, कञ्चनपुर २ र ३, कैलाली १, ४ र ५ मा, माओवादी केन्द्रले कञ्चनपुर–१, बैतडी, कैलाली २ र ३ तथा एकीकृत समाजवादीले डोटी, अछाम–१ र बझाङमा उम्मेदवार उठाएको छ। 

सत्ता गठबन्धनविरुद्ध छुट्टै गठबन्धन गरेर निर्वाचनमा होमिएको नेकपा एमालेले डडेल्धुराबाहेक सबैतिर आफ्नै उम्मेदवार उठाएको छ। एमालेले डडेल्धुरामा नेपाली कांग्रेस बीपीलाई समर्थन गरेर उम्मेदवारी नदिएको हो। 

तर, पछि कांग्रेस बीपीले डडेल्धुरामा एकीकृत समाजवादीसँग प्रदेश सभामा तालमेल गरेपछि चिढिएको एमालेले समर्थन फिर्ता लिएको थियो। यद्यपि, अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका चुनावी सभामा आफूहरुको समर्थन कांग्रेस बीपीलाई नै रहेको अभिव्यक्ति दिएका छन्। 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतको आधारमा सुदूरपश्चिमका १६ मध्ये ९ मा कांग्रेस, ६ मा एमाले र १ मा नागरिक उन्मुक्ति पार्टी बलियो देखिएको छ। 

जसअनुसार कांग्रेस डडेल्धुरा, कञ्चनपुर–२ र ३, कैलाली–३, ४ र ५, अछाम–१ र २ तथा डोटीमा अगाडि छ। यस्तै एमाले कञ्चनपुर–१, कैलाली–२, बैतडी, दार्चुला, बझाङ र बाजुरा तथा नागरिक उन्मुक्ति पार्टी कैलाली–१ मा बलियो छ। 

स्थानीय तह निर्वाचनको मत परिणामले आफू बलियो देखिए पनि भागबण्डा मिलाउन कांग्रेसले डोटी र अछाम–१ एकीकृत समाजवादीलाई दिएको छ। यस्तै एमालेपछि कांग्रेस दोस्रो ठूलो दल हुँदाहुँदै बझाङ पनि एकीकृत समाजवादीको भागमा परेको छ। कांग्रेस बलियो स्थितिमा रहेका कञ्चनपुर–१, कैलाली–२ र ३ तथा बैतडी माओवादी केन्द्रको भागमा परेका छन्। 

स्थानीय तहको निर्वाचनलाई आधार मान्दा भागबण्डा मिलाउने क्रममा सत्ता साझेदार दलहरुले पाएको क्षेत्र डोटीमा एकीकृत समाजवादीको मत ३ हजार २०५ छ। यहाँ कांग्रेसको ३४ हजार ४७, माओवादी केन्द्रको ७ हजार ७८९ र एमालेको २४ हजार ९१६ मत छ।    

एकीकृत समाजवादीको भागमा परेको अछाम–१ मा उक्त दलको कुल २ हजार १७५ मत देखिन्छ। यहाँ कांग्रेसको १९ हजार ३३९, माओवादी केन्द्रको ६ हजार ४४१ र एमालेको १७ हजार ९८७ मत छ। 

एकीकृत समाजवादीको भागमा परेको तेस्रो निर्वाचन क्षेत्र बझाङमा ७ हजार ६३२,  कांग्रेसको २० हजार १६६ र माओवादी केन्द्रको ९ हजार १४५ मत छ। यहाँ एमालेको मत २८ हजार ६११ छ। 

स्थानीय तह निर्वाचनकै मत आधार मान्दा माओवादी केन्द्रको भागमा परेको कञ्चनपुर–१ मा उक्त दलको ‘पोजिसन’ तेस्रो देखिन्छ। यहाँ एमालेको १८ हजार ७७३, कांग्रेसको १८ हजार ७३२, माओवादी केन्द्रको १५ हजार २८९ र एकीकृत समाजवादीको ३ हजार ५२१ मत छ। 

माओवादी केन्द्रको भागमा परेको कैलाली–२ र कैलाली–३ मा उक्त दलको ‘पोजिसन’ क्रमशः तेस्रो र दोस्रो छ भने बैतडीमा तेस्रो छ। कैलाली–२ मा एमालेको १७ हजार ८३४, कांग्रेसको १३ हजार ८२०, माओवादी केन्द्रको ८ हजार ७२४, नागरिक उन्मुक्ति पार्टीको ५ हजार २४३, राप्रपाको २ हजार ४०७ र एकीकृत समाजवादीको २ हजार ३०६ मत छ। 

कैलाली–३ मा कांग्रेसको पक्षमा १९ हजार ९९२, माओवादीको पक्षमा ११ हजार ७१६, एमालेको पक्षमा ११ हजार २५७, राप्रपाको पक्षमा ६ हजार ६९९, नागरिक उन्मुक्ति पार्टीको पक्षमा ५ हजार २४७, जसपाको पक्षमा २ हजार ८५९, एकीकृत समाजवादीको पक्षमा १ हजार ९७८ मत देखिन्छ। 

र, बैतडीमा एमालेको ३५ हजार ४८, कांग्रेसको ३३ हजार ६८३, माओवादी केन्द्रको १४ हजार ९९८, एकीकृत समाजवादीको ३ हजार १४० र राप्रपाको २ हजार ४ मत रहेको स्थानीय तह निर्वाचनको मत परिणामले देखाएको छ। 

को को छन् उम्मेदवार?
सत्ता गठबन्धनका तर्फबाट कांग्रेसले डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवा, दार्चुलामा उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू, बाजुरामा सहमहामन्त्री बद्रीप्रसाद पाण्डे, अछाम–२ मा पुष्पबहादुर शाह, कञ्चनपुर–२ मा एनपी साउद र ३ मा रमेश लेखक, कैलाली–१ मा रामजनम चौधरी, ४ मा वीरबहादुर बलायर र ५ मा डिल्लीराज पन्तलाई उम्मेदवार बनाएको छ।  

यस्तै माओवादी केन्द्रबाट कञ्चनपुर–१ मा बिना मगर, कैलाली २ मा भगतबहादुर बडुवाल र ३ मा कृष्णकुमार चौधरी तथा बैतडी नरेन्द्रबहादुर कुँवरलाई उठाइएको छ। एकीकृत समाजवादीबाट डोटीमा प्रेमबहादुर आले, अछाम–१ मा शेरबहादुर कुँवर र बझाङमा भानुभक्त जोशी प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्। 

एमालेले बझाङमा ऐनबहादुर महर, बाजुरामा कर्णबहादुर थापा, अछाम–१ मा झपटबहादुर बोहरा, अछाम–२ मा यज्ञबहादुर बोगटी, डोटीमा गौरीकुमारी ओली, कैलाली–१ मा तपेन्द्रबहादुर रावल, २ मा झपटबहादुर रावल, ३ मा गौरीशंकर चौधरी, ४ मा लेखराज भट्ट र ५ मा नारदमुनि रानालाई उम्मेदवार बनाएको छ। 

दार्चुलामा गणेशसिंह ठगुन्ना, बैतडीमा दामोदर भण्डारी, कञ्चनपुर–१ मा तारा लामा तामाङ, २ मा नरबहादुर धामी र ३ मा निरुदेवी पाल एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्। 

कैलालीको पूर्वी क्षेत्रमा जबरजस्त पकड बनाउँदै गएको नागरिक उन्मुक्ति पार्टीले क्षेत्र नम्बर १ मा रञ्जिता श्रेष्ठ, २ मा अरुणकुमार चौधरी, ३ मा गंगाराम चौधरी, ४ मा कइयाँ चौधरीलाई उम्मेदवार बनाएको छ। यो टीकापुर घटनाका मुख्य आरोपित रेशम चौधरीको दल हो। 

सत्ता गठबन्धनले सोचेझैँ छैन चुनावी लहर
सुदूरपश्चिममा सत्ता गठबन्धनका उम्मेदवार ‘ग्रिन जोन’ मा अर्थात जित सहज देखिएका क्षेत्र हुन्– बाजुरा, अछाम २, बझाङ, दार्चुला, भगतबहादुर बडुवाल, कैलाली ३, कैलाली ४, डडेल्धुरा, कञ्चनपुर १, कञ्चनपुर २ र कञ्चनपुर ३।

एमाले मुख्यालयले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा आफ्ना ६–७ जना उम्मेदवार विजयी हुने आकलन गरेको छ। 

सत्तारुढ दलहरुले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन गरे पनि आमजनतामा सत्ता गठबन्धनले माहौल सिर्जना गर्न सकेको छैन। फरक–फरक विचार र सिद्धान्त बोकेका दलहरुबीच गठबन्धन भए पनि उनीहरुका परम्परागत मतदाताहरुले एकले अर्कोलाई सहजै मत दिने अवस्था नबनेका कारण यस्तो स्थिति पैदा भएको हो।

‘भोट ट्रान्सफर’ को समस्या, क्षेत्रमा पकड नभएका दलको उम्मेदवार र कांग्रेसका ‘बागी’ उम्मेदवारहरुका कारण सुदूरपश्चिममा सत्ता गठबन्धनले आशा गरेअनुरुप माहौल नबनेको दलहरुकै कार्यकर्ता स्वीकार गरिरहेका छन्। 

रक्षामन्त्री रहिसकेका कांग्रेस नेता डा. मिनेन्द्र रिजालको नजरमा सुदूरपश्चिमका ७ निर्वाचन क्षेत्र ‘रेड जोन’मा छन्। यद्यपि, राम्रोसँग ‘भोट ट्रान्सफर’ भए सुदूरपश्चिमको प्रतिनिधि सभामा एमाले शून्य हुने उनको तर्क छ। 

‘भोट ट्रान्सफर भयो भने १६ वटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारले जित्छन्,’ रिजालले नेपालखबरसँग भने, ‘भएन भने ९ सिट मात्रै आउँछ।’ नेपालखबरसँगको कुराकानीका क्रममा ‘भोट ट्रान्सफर’ नहुँदा सत्ता गठबन्धनले गुमाउने निर्वाचन क्षेत्रहरु भने उनले खुलाउन चाहेनन्। 

रिजालको विश्लेषणका आधारमा सत्ता गठबन्धनका लागि ‘रेड जोन’ मा रहेका सुदूरपश्चिमका ७ क्षेत्रहरु माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा परेका क्षेत्र हुन् भन्ने बुझ्न सकिन्छ। 

‘माओवादी र एकीकृत समाजवादीको नेपाली कांग्रेसमाथिको निर्भरता निकै बढी छ,’ रिजालले भने, ‘असाध्यै मेहनत गर्नुपर्छ। राम्रै क्याम्पेनिङ गर्नुपर्ने देखिन्छ। कांग्रेसले भोट ट्रान्सफारका लागि मतदातालाई निकै रिझाउनु पर्ने अवस्था छ।’

नेपालखबरले सुदूरपश्चिमका विभिन्न जिल्लाका विभिन्न दलमा आवद्ध नेता–कार्यकर्ता, सामाजिक अभियन्ता, सुरक्षा निकायहरूको रिपोर्ट, मानवअधिकारकर्मी र सञ्चारकर्मीसँगको कुराकानी आधारमा विश्लेषण गर्दा सुदूरपश्चिमका ५ निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन ‘रेड जोन’ मा छ। ती क्षेत्रहरु हुन्– कैलाली–१, ५, अछाम–१, बैतडी र डोटी। 

कैलालीको पूर्वी क्षेत्रमा पर्ने निर्वाचन क्षेत्र नम्बर १ थारु समुदायमा नागरिक उन्मुक्ति पार्टी प्रतिको बढ्दो ‘क्रेज’ र क्षेत्र नम्बर ५, अछाम–१, बैतडी तथा डोटीमा कांग्रेसका पूर्व र भर्खरै कारबाहीमा परेका नेताहरुले बगावत गर्दा सत्ता गठबन्धनका लागि चुनौती थपिएको छ। 

कैलाली–१ 
कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिकाका १, ३, ४, ६, ७, भजनी नगरपालिकाका ६, ८ र जोेशीपुर गाउँपालिकाको १ नम्बर वडाको भूगोल गाभेर क्षेत्र नम्बर १ निर्धारण गरिएको छ।    

स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षले पाएको मतको आधारमा यहाँ नागरिक उन्मुक्ति पार्टीको मत १७ हजार १९३ छ। कांग्रेस (११ हजार ६७८), माओवादी केन्द्र (६ हजार ९३०) र एकीकृत समाजवादीको (२ हजार २३२) को कुल मत २० हजार ८४० छ। यहाँ एमालेको १० हजार ३२२, राप्रपाको ३ हजार ५६१, जसपाको २ हजार ३०२ देखिन्छ। 

स्थानीय तह निर्वाचनको संघारमा दर्ता भएको नागरिक उन्मुक्तिले कैलाली–१ मा रञ्जिता श्रेष्ठलाई प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाएको छ। उनी रेशम चौधरीकी धर्मपत्नी हुन्। रेशम २०७४ को निर्वाचनमा ३४ हजार ३४१ मतका साथ प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। 

उनका प्रतिस्पर्धी एमाले नेतृ मदनकुमारी शाहले १३ हजार ४०३ र कांग्रेस नेतृ ईश्वरी न्यौपानेले ११ हजार २०३ मत प्राप्त गरेका थिए। त्यसबेला रेशमले भूमिगत अवस्थामै प्रचार–प्रसार गरेर निर्वाचन लडेका थिए। 

यो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेस केन्द्रीय सदस्य रामजनम चौधरी उम्मेदवार छन्। उनी अघिल्लो निर्वाचनमा कैलाली–३ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका थिए। गठबन्धनबीच भएको सहमतिअनुसार पुरानो क्षेत्र माओवादी केन्द्रको भागमा परेपछि चौधरी कैलाली–१ बाट उम्मेदवार बनेका हुन्। 

कैलालीका सामाजिक अभियन्ता प्रमोद पाठक क्षेत्र नम्बर १ को थारु समुदायमा नागरिक उन्मुक्ति पार्टीको प्रभाव अत्यन्त राम्रो भएका बताउँछन्। उनको बुझाइमा क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीमाथि सत्ता गठबन्धनले जित निकाल्न सकस देखिन्छ। 

‘थारु समुदायमा उन्मुक्तिको राम्रो प्रभाव छ,’ पाठकले नेपालखबरसँग भने, ‘कैलाली–१ र २ मा जित्छ।’ 

क्षेत्र नम्बर १ का कांग्रेसकै एक मतदाता पनि कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीको पकड बलियो रहेको स्वीकार्छन्।

‘कांग्रेसलाई यहाँ गाह्रो देखिन्छ। गठबन्धनमा रहेका दलका थारु मतदाताले उता सहयोग गरे भने कांग्रेसले क्षेत्र गुमाउँछ,’ उनले भने। 

यद्यपि, कांग्रेस उम्मेदवार चौधरीको आत्मविश्वास हेर्दा आफूलाई जितिने सम्भावना पनि उत्तिकै लाग्ने गरेको ती मतदाताको भनाइ छ।

‘गाह्रो त गाह्रो छ। तर, रामजनम दाइको कन्फिडेन्स लेभल देख्दा जित्नु हुन्छ कि पनि लाग्छ,’ टीकापुर क्षेत्रका ती मतदाताले भने, ‘थारु बस्तीमा उहाँको प्रभाव बढ्दै गएको पनि छ। राप्रपाको पनि मत पाउँछु भन्नुहुन्छ। अढाई–तीन हजार मत छ यहाँ राप्रपाको।’

कैलाली–५    
कैलालीको धनगढी उपमहानगरपालिका तथा कैलारी गाउँपालिका ६ र ९ नम्बर वडाको भूगोल समेटेर निर्वाचन क्षेत्र नम्बर ५ निर्धारण गरिएको छ। यहाँ सत्ता गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त र एमालेबाट नारदमुनि रानासहित ५ जना दलीय र ५ जना स्वतन्त्र उम्मेदवार छन्। 

स्वतन्त्रतर्फका उम्मेदवार पुष्करनाथ ओझाका कारण यो क्षेत्रमा सत्ता गठबन्धन ‘रेड जोन’मा छ। उनी कैलालीको राजनीतिमा राम्रो पकड भएका कांग्रेस नेताका रुपमा चिनिन्छन्। यद्यपि, उनलाई कांग्रेसले २०७४ सालको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही गरिसकेको थियो। 

ओझाले कांग्रेसकै मत काट्ने भएका कारण यो क्षेत्रमा सत्ता गठबन्धनलाई गाह्रो भएको अधिकांशको बुझाइ छ। कांग्रेस र पूर्वकांग्रेस उम्मेदवारका लागि कांग्रेसका परम्परागत मतदाता विभक्त हुने भएका कारण एमाले उम्मेदवार रानाको सम्भावना बलियो भएको विश्लेषण अधिकांशको छ। 

‘डिल्लीराज पन्त र पुष्करनाथ ओझाका कार्यकर्ता एकै, मतदाता उनै। दुवैको पुख्र्यौली डोटी। नातापात–इष्टमित्र पनि,’ सामाजिक अभियन्ता पाठक भन्छन्, ‘दुवै पुराना अनि कैलालीका घरानियाँ हुनुहुन्छ। भाइ फुटे गवाँर लुटे भन्छन् नि, हो त्यसो भयो भने नारदमुनिको सम्भावना देखिन्छ।’ 

उनले थारु समुदायबाहेकको मत नपाउँदा भने रानाको जित कठिन रहेको पनि टिप्पणी गरे।

‘नारदमुनिलाई थारु सेन्टिमेन्ट क्यास गर्ने खालको राजनीति गर्छन् भन्ने आरोप लाग्छ। पहाडी समुदायमा यो सेन्टिमेन्टले काम गर्यो भने उहाँलाई गाह्रो हुन्छ,’ पाठकले भने।

डोटी
कांग्रेस नेतृत्वले जिल्लामा पार्टी संगठनको पकड राम्रो हुँदाहुँदै डोटी एकीकृत समाजवादीलाई दिएपछि स्थानीय स्तरमा व्यापक असन्तुष्टि देखिएको छ। डोटीमा कांग्रेस नेता नरेन्द्रबहादुर खड्काले ‘बागी’ उम्मेदवारी दिएका छन्। 

तर, उनी आफूलाई ‘बागी’ उम्मेदवार भन्न रुचाउँदैनन्। ‘म कसरी बागी? मैले टिकट मागेर नपाएपछि उम्मेदवारी दिएको भए पो ‘बागी’? नत्र के को बागी,’ पार्टी निर्णयविपरीत ‘बागी’ उम्मेदवारी दिनुको कारणबारे नेपालखबरले राखेको जिज्ञासामा खड्काले भने, ‘म स्वतन्त्र उम्मेदवार हुँ।’

स्थानीय तह निर्वाचन–२०७९ को परिणामअनासार ३४ हजार ४७ मत भएको कांग्रेसबाट ‘बागी’ उठ्दा ३ हजार २०५ मत रहेको एकीकृत समाजवादीका उम्मेदवार प्रेमबहादुर आलेलाई निर्वाचनमा जित निकाल्नु ‘फलामको च्युरा चपाउनु’ जस्तै देखिएको छ। 

हालसम्मको चुनावी माहौल हेर्दा डोटीमा स्वतन्त्र उम्मेदवारको पल्ला भारी देखिएको स्थानीय मतदाताहरुको दाबी छ। 

‘स्वतन्त्रको पल्ला भारी छ, चुनावको दिनसम्म अहिलेकै अवस्था रह्यो भने आले तेस्रो हुन्छन्,’ नेपाल पत्रकार महासंघ डोटीका पदाधिकारी रही सकेका एक मतदाताले नेपालखबरसँग भने, ‘कांग्रेसले ७५ प्रतिशत मत खसाए पनि उनको जितका लागि पर्याप्त नहुन सक्छ।’

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष भइसकेका अर्का पत्रकार पनि डोटीमा एकीकृत समाजवादीको आधार नभएको बताउँछन्। उम्मेदवार आले कांग्रेसका मतदाताका लागि सर्वस्वीकार्य नेता नभएका कारण पनि सत्ता गठबन्धनले आशा गरेअनुसार परिणाम आउन कठिन देखिएको उनको भनाइ छ।

‘आलेजीको डोटीमा आधार छैन। फेरि उहाँ कांग्रेसका मतदाताका लागि स्वीकार्य नेता होइन भन्ने मनोदशा देखिन्छ। आलेजीलाई भौतिक रुपमा नेता मानिए पनि आत्मीय रुपमा कहिल्यै एक हुन सकिन्न भनेर जिल्लाकै प्रभावशाली नेताहरुले भनिरहेको अवस्था छ,’ उनले नेपालखबरसँग भने, ‘उहाँका मान्छे कांग्रेस, एमाले, माओवादी तीनै दलमा छन्। अब उनीहरुले कत्तिको मेहनत गर्छन्। त्यसमा भर पर्ने देखिन्छ।’

एमालेभित्रको असन्तुष्टिले स्वतन्त्रको सम्भावना कति?
डोटी एमालेमा पनि टिकटको विषयलाई लिएर असन्तुष्टि छ। आकांक्षी चक्र मल्ललाई प्रदेश सभामा थन्क्याएर गौरीकुमारी ओलीलाई प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाएपछि एमालेमा असन्तुष्टि देखिएको हो।  
 
डोटीको बोगटान क्षेत्रका एक मतदाता कांग्रेस र एमालेमा टिकटका विषयमा देखिएको असन्तुष्टिले स्वतन्त्र उम्मेदवारले जित्न सक्ने बताउँछन्। ‘कांग्रेसमा व्यापक असन्तोष छ। एमालेमा पनि किचलो नै छ,’ उनले भने, ‘यसको फाइदा कांग्रेसका बागीले उठाउन सक्छन्।’

डोटी प्रदेश ‘ख’ मा मत ‘होल्ड’ गर्न सक्ने कार्यकर्ताहरु कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायरको पक्षमा प्रचार–प्रसार गर्न कैलाली–४ झरेका कारण आलेलाई थप चुनौती देखिएको उनको भनाइ छ। 

‘आलेलाई पहिले लुकेर सघाउने अहिले गठबन्धनका तर्फबाट खुलेरै सच्चा सिपाही भएका छन्। प्रदेश २ मा मत होल्ड गर्न सक्ने प्रायः बलायर दाइलाई जिताउन कैलाली झरेका छन्,’ ती मतदाताले भने।

डोटीको प्रदेश सभाका दुई क्षेत्रमध्ये ‘क’ मा बढी मतदाता छन्। स्वतन्त्र उम्मेदवार खड्का त्यही क्षेत्रका बासिन्दा हुन्। उनी डोटी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष र सामाजिक अभियन्ताका रुपमा पनि चिनिन्छन्। एकीकृत समाजवादीका उम्मेदवार आले प्रदेश ‘ख’ का बासिन्दा हुन्। कांग्रेसको ‘गढ’ मानिने प्रदेश सभा ‘क’ मा जिल्लाको कुल मतदाता १ लाख २४ हजार ८ सय ७० मध्ये ६८ हजार १ सय ८८ मतदाता छन्। यो क्षेत्रका अधिकांश मत स्वतन्त्र उम्मेदवारलाई जान सक्ने सम्भावना रहेको स्थानीय बुद्धिजीवीहरूको आकलन छ। 

स्वतन्त्र उम्मेदवार खड्काले यस क्षेत्रबाट बढी मत ल्याउँदा एमाले उम्मेदवार ओलीका लागि जित सहज हुन सक्ने अनुमान धेरैले गरेका छन्। तर, स्वतन्त्र उम्मेदवारका पक्षधर भने कांग्रेसका ७० प्रतिशत बढी मत खड्काले ल्याउने दाबी गर्छन्।

बैतडी
बैतडीमा सत्ता गठबन्धनले माओवादी केन्द्रका नेता नरेन्द्रबहादुर कुँवर र एमालेले दामोदर भण्डारीलाई प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाएको छ। स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार बैतडीमा एमालेको पकड बलियो छ। 

यहाँ कांग्रेसको उपस्थिति एमालेपछि दोस्रामा देखिन्छ। तर, सत्ता गठबन्धनले बैतडीमा तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको भागमा पारेको छ। बैतडीमा एमालेको ३५ हजार ४८, कांग्रेसको ३३ हजार ६८३, माओवादी केन्द्रको १४ हजार ९९८, एकीकृत समाजवादीको ३ हजार १४०, राप्रपाको २ हजार ४ मत छ।

बैतडी माओवादी केन्द्रको भागमा परेपछि कांग्रेस नेता पूर्व सहायकमन्त्री केशव चन्दले ‘बागी’ उम्मेदवारी दिएका छन्। उनको उम्मेदवारी सत्ता गठबन्धनका लागि चुनौती र एमालेका लागि अवसर सावित हुन सक्ने स्थानीय बुद्धिजीवीहरु बताउँछन्। 

माओवादीले अघि सारेका उम्मेदवार सर्वस्वीकार्य नभएका र कांग्रेसकै पुराना नेता चन्द ‘बागी’ उठ्नाले सत्ता गठबन्धनले बैतडी गुमाउने अवस्था देखिएको विश्लेषण हुने गरेको छ। 

‘गठबन्धनले कमजोर उम्मेदवार दियो। त्यसमा केशव चन्दको स्वतन्त्र उम्मेदवारीले सहज अवस्था देखिँदैन,’ नेपाल पत्रकार महासंघमा सुदूरपश्चिमबाट उपाध्यक्ष रही सकेका एक पत्रकार भन्छन्, ‘७ हजारजति मत केशव चन्दले ल्याए गठबन्धनले बैतडी गुमाउँछ।’ 

बैतडीका एक कांग्रेस कायकर्ताको नजरमा उम्मेदवार कुँवरले द्वन्द्वकालमा दिएको दुःख सम्झेर पनि कांग्रेसका मतदाताले उनलाई मत नदिने पक्षमा छन्। ‘विजयसुन्दर (कुँवर) नेपाली कांग्रेसका मतदाताले पचाउने उम्मेदवार हुँदै होइनन्। उनले जनयुद्धका बेला दिएको दुःख हामीले भुलेका छैनौँ।’

बैतडीको पुर्चौंडी क्षेत्रका केही मतदाताहरुले नेपालखबरसँगको टेलिफोन कुराकानीमा द्वन्द्वमा माओवादीबाट पीडित भएका कांग्रेस कार्यकर्ताले नसघाए माओवादी केन्द्रका उम्मेदवार कुँवरको सम्भावना न्यून रहेको दाबी गरेका छन्।

‘नेपाली कांग्रेसका मतदाता द्वन्द्वको दुःख, कष्टले रुष्ट छन्। उनीहरुले केशव चन्दलाई सघाए दामोदर भण्डारी विजयी हुन सक्छन्,’ उनीहरुको भनाइ थियो। 

अछाम–१ 
सत्ता गठबन्धनले प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका मध्ये ‘रेड जोन’ मा देखिएको अर्को निर्वाचन क्षेत्र हो अछाम–१। यहाँ सत्ता गठबन्धनले एकीकृत समाजवादीका तर्फबाट श्रममन्त्री शेरबहादुर कुँवरलाई उम्मेदवार बनाएको छ। 

स्थानीय तह निर्वाचनमा झण्डै तीन हजार मत पाएको एकीकृत समाजवादीलाई पार्टी नेतृत्वले क्षेत्र छाडेपछि काग्रेसका युवा नेता राजन कुँवरले ‘बागी’ उम्मेदवारी दिएका छन्।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत आधार मान्दा अछाम–१ मा कांग्रेसको १६ हजार ७२८, एमालेको १६ हजार ५६७, माओवादी केन्द्रको ६ हजार ७९० र एकीकृत समाजवादीको २ हजार ७५२ मत छ। 

यहाँ ‘बागी’ राजनले कांग्रेसको मत काटे एमाले उम्मेदवार झपटबहादुर बोहरालाई निर्वाचन जित्न सहज हुने स्थानीयको आकलन छ। 

अछाम कांग्रेसका जिल्ला सदस्य रही सकेका एक नेता भन्छन्, ‘शेरबहादुर कुँवरको अवस्था नराम्रो भन्न मिल्दैन। राजनले केही मत मात्रै काट्दा खासै फरक पर्दैन। तर, कथमकदाचित उनले बढी मत ल्याए भने झपट बोहराको सम्भावना रहन्छ।’ 

अछाम–१ एमाले नेता भीम रावलले लड्दै आएको निर्वाचन क्षेत्र हो। यसपटक उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकटबाट वञ्चित गरेर उम्मेदवार हुन रोकेका छन्। 

यो क्षेत्रमा नेता रावलको सहयोग पाउने उम्मेदवारले सहजै जित्ने बताइन्छ। कांग्रेसका पूर्व जिल्ला सदस्य भन्छन्, ‘रावलले एउटा टिम अछाम पठाउनुभएको छ। कसलाई समर्थन गर्छन् थाहा भएन। तर, शेरबहादुर कुँवरलाई समर्थन गर्ने सम्भावना पनि उत्तिकै छ। समर्थन पाए सहजै जित हुन्छ।’ 

सुदूरपश्चिमका कैलाली–१ र ५, डोटी, बैतडी र अछामबाहेकका अन्य निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनकै पक्षमा माहौल राम्रो देखिएको नेपालखबरसँग कुराकानी गर्ने व्यक्तिहरुले बताएका छन्। यद्यपि, दार्चुला, बझाङको नतिजा पनि निकै रोमाञ्चक हुन सक्ने उनीहरुको भनाइ छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .