ad ad

राजनीति


चौथो प्रयासमा चुनाव जितिछाड्ने डिना उपाध्यायको अठोट

चौथो प्रयासमा चुनाव जितिछाड्ने डिना उपाध्यायको अठोट

कांग्रेसकी नेता महालक्ष्मी ‘डिना’ उपाध्याय


जेवी पुन मगर
कात्तिक २९, २०७९ मंगलबार ९:५, हेटौँडा

‘मनी र मसल्स’ को बलमा लडिने प्रत्यक्ष निर्वाचन प्रणालीबाट महिलालगायत सीमान्तकृत समुदायका उम्मेदवार संसदमा पुग्न नसक्ने हुनाले निश्चित सिट आरक्षित गरिनुपर्छ भन्दै नेपालमा समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरियो। निगाह नभई अधिकारको रुपमा व्यवस्था गरिएको यो प्रावधानले देखिनेगरी परिणाम पनि दियो। 

पहिलो संविधान सभा निर्वाचनबाट नीति निर्माण कोर्ने ठाउँमा पुगेका १९७ जना महिला सभासदहरुले आफ्नो मुद्दाको पैरवी गर्ने अवसर प्राप्त गरे। ती सभासदहरुको भीडमा त्यसअघि दुईचोटि संसदीय निर्वाचनमा पराजित भइसकेकी नेपाली कांग्रेसकी नेता महालक्ष्मी ‘डिना’ उपाध्याय पनि संविधान सभा हलभित्र छिर्न पाइन्। 

राजनीतिक विरासतमा हुर्किएकी सक्षम महिला नेता त्यहाँ पुग्नुको सार्थकता पनि देखियोे– डिना लगायत विभिन्न दलबाट त्यहाँ पुगेका महिला सभासदहरुले ‘ककस’ बनाई महिला मुद्दामाथिको जोडतोडका साथ पैरवी गरे। जसबाट परम्परागत चिन्तनका स्तम्भहरु त्राहीमाम भए। त्यसले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चर्चा बटुल्यो।

यदि समानुपातिक निर्वाचन प्रणाली नभइदिएको भए पहिलो संविधान सभाको हलभित्र जम्मा ३० जना मात्र महिला सभासद हुने थिए। किनकि माओवादीको दस वर्षे सशस्त्र संघर्ष र ०६२–६३ को जनआन्दोलनको राप र तापबाट निर्मित पहिलो संविधान सभामा समेत प्रत्यक्षबाट जम्मा ३० जना महिला मात्र निर्वाचित हुनसकेका थिए। यो खुसी धेरै लामो समय टिकाउन दिइएन। ६ वर्षपछि भएको दोस्रो संविधान सभा निर्वाचनमा प्रत्यक्षबाट जित्ने महिला सांसदको संख्या १० जनामा झर्यो। ०७४ सालको निर्वाचनसम्म आइपुग्दा त त्यो संख्या झन् घटेर ६ जनामा सीमित भयो।

पहिलो त सदा झैँ महिला उम्मेदवारहरु नै कम संख्यामा उठाइए, उठेकालाई पनि मत नै दिइएन। महिला अधिकारको पैरवी गरी संसद् तताउने डिनासमेत यो राजनीतिको सिकार भइन् र प्रत्यक्षबाट उम्मेदवारी दिएकी उनी तेस्रोचोटि चुनाव हारिन्। 

संघर्षको निरन्तरता
महिलाका निम्ति यस्तो प्रतिकूलता तिनलाई संसद् छिर्न नदिइने कृत्यमा मात्र सीमित थिएन, तिनले आफू संगठित राजनीतिक दलभित्र पनि त्यस्तै अप्ठेराहरु ब्योहोरिरहेका थिए। तिनलाई नेतृत्वमा उक्लिन नदिन अनेकन तिकडम गरिँदै थियो। अन्य दलका महिला नेताले झैँ डिना पनि यो अप्ठेरोसँग जुधिरहेकी थिइन्।

कांग्रेसको १३औँ अधिवेशनमा महिला कोटाबाट केन्द्रीय सदस्यमा जान पाउँदापाउँदै पनि डिनाले त्यस्तो आरक्षित कोटाबाट ‘अर्काे महिलालाई पठाउन सकिन्छ’ भन्दै आफू खुलातर्फबाट निर्वाचनमा भिडिन्। डिनाजत्तिको हक्की महिला केन्द्रमा आए त्यतिबेला शक्तिशाली ठानिएको सह–महामन्त्री पद ओगट्ने डरका कारण सहयोगी ठानिएका एनपी साउद, चन्द्र भण्डारी र डिला संग्रौलाहरु नै उनको हारका कारण बन्न पुगे। 

०३६ सालदेखि विद्यार्थी राजनीतिमा संलग्न, ०४३ सालमा पद्यकन्या क्याम्पसको स्ववियू सभापति र ०४७ सालमा नेपाल महिला संघ मकवानपुरको नेतृत्व हाँकिसकेकी डिना कांग्रेसले गरेको ०४२ सालको सत्याग्रहमा शैलजा आचार्यसँग जेल समेत परिसकेकी नेता हुन्। ०४९ सालमा कांग्रेस महासमिति सदस्यमा निर्वाचित, १५ वर्षभन्दा बढी केन्द्रीय सदस्य र १४औँ महाधिवेशनबाट सह–महामन्त्रीमा निर्वाचित उनीजत्तिको नेताले समेत भोगिरहेको यस्तो राजनीतिक तिकडम नेपाली राजनीतिले बोल्ने कुरुप चित्रण हो। डिना त्यो कुरुप चित्र सच्याउन निरन्तर संघर्ष गरिरहेकी छन्।

यसपालिको निर्वाचनमा अधिकाधिक महिला उम्मेदवार उठाउन कांग्रेसी नेतृत्वलाई दबाब दिएकी डिना स्वंयलाई समानुपातिक सूचीमा राख्न खोजिएको थियो। तर उनले त्यो सिट अर्काे महिलालाई दिइनुपर्ने भन्दै चौथो चोटि प्रत्यक्ष निर्वाचनमा भिड्न आफ्नो गृहजिल्ला मकवानपुर झरिन्। पार्टीभित्र उनले दिएको दबाबका बाबजुद कांग्रेसले यसपालि जम्मा ५ जना महिलालाई मात्र प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ।

डिनामा यो तहको जुझारुपन उनले विरासतमै लिएर आएकी हुन्। डिनाका हजुरबुबा स्वतन्त्रता सेनानी उदयनाथ अधिकारी कांग्रेसले २०१८ सालमा हतियारदरा ‘चितवन कब्जा’ गर्दा नेतृत्वदायी भूमिकामा थिए। त्यतिखेर पक्राउ परेका अधिकारीले नेता कृष्णप्रसाद भट्टराईसँग करिब १५ वर्ष जेल सजाय भोगेको डिना सुनाउँछिन्। 

उनी भन्छिन्, ‘हजरबुबाको विरासत मेरो मुमामा सर्यो। वहाँले पार्टीको लागि धेरै योगदान दिनुभयो। त्यो देखेर हुर्किएको मैले पनि सानै उमेरदेखि राजनीतिको बाटो समाएँ।’

जित्नेमा ढुक्क
२०६४ सालमा जलस्रोत राज्यमन्त्री बनेकी डिना मकवानपुर क्षेत्र नम्बर १ बाट संसदमा पुगी पुनः सीमान्तका आवाज बुलन्द पार्न चुनावी मैदानमा उत्रिएको बताउँछिन्। बिहान ६ बजे घरनजिकैको गठबन्धन दलको चुनावी प्रचार कार्यालयमा पुगिसक्ने डिना राति १० बजेसम्म घरदैलो चहारिरहेकी छन्। घरदैलो सकेर अबेर राति फर्किएकी यी नेताको व्यस्त तालिकाबाट हामीले राति ११ बजेको समय पाएका थियौँ। हामी उनको निवासस्थानमा पुग्दा दिनभरिको दौडधुपले निकै थकित देखिएकी उनको बोलीमा चाहिँ सदाझैँ उर्जा कायम थियो। 

यसपालि आफ्नो जितप्रति निकै ढुक्क देखिएकी डिनाका चुनावी आकलन धेरैहदसम्म यथार्थपरक नै देखिन्छ। २००९ सालमा भक्तबहादुर श्रेष्ठको नेतृत्वमा दुई वर्षसम्म भूमिका निम्ति राज्यसँग किसानहरुले लडे, जसलाई ‘चिसापानी काण्ड’ भन्ने गरिन्छ। सोही स्थानमा पुगी कुराकानी गर्दा त्यहाँ गठबन्धन दलको अवस्था बलियो देखियो।

सहरमा पनि गठबन्धनको पक्षमा राम्रै माहौल देखिन्थ्यो। गएको स्थानीय निर्वाचनमा कांग्रेसले यो निर्वाचन क्षेत्रबाट ३४ हजार ४० मत ल्याई दोस्रो स्थान सुरक्षित गरेकोले पनि डिना हौसिएकी हुन्। किनभने गठबन्धनमा रहेका दुई दल नेकपा माओवादी र एकीकृत समाजवादीको क्रमशः १६ हजार ५६९ र ३२८३ मत पनि डिनाको पक्षमा जोडिन आइपुगेको छ। स्थानीय निर्वाचनको यही मतअनुपात कायम रहेमा ३७ हजार ९५१ मत ल्याई पहिलो स्थानमा रहेको एमालेलाई जित्न सकिने डिनाको सचिवालयले विश्लेषण गरेको छ।

यसपालि क्षेत्रीय अस्पताल र हेटौँडालाई प्रदेश राजधानी बनाउन नेतृत्व लिएका भनी जस पाएका यस क्षेत्रका प्रभावशाली नेता राप्रपा नेपालका कमल थापा र हेटौँडा बजार क्षेत्रमा प्रभाव रहेको ठानिने राप्रपाबाट उठेका दीपक सिंह उनका प्रतिस्पर्धी हुन्। तर एमालेको सहयोगमा सूर्य चिन्ह लिई उठेका थापा राप्रपा छाडेपछि कमजोर भएकोले आफ्नो जित सुनिश्चित रहेको डिना बताउँछिन्।

उनी भन्छिन्, ‘म ३० वर्षदेखि सहकारी आन्दोलनमा आवद्ध छु। त्यहाँबाट मेरो ५ हजार व्यक्तिगत मत प्याक्ड छ। नगरभित्रै कांग्रेसको मात्र २५ हजार मत छ। गठबन्धनसहितको जोड्दा ५३ हजार भन्दा माथि छ। ०७४ मा वाम गठबन्धन भएकोले एमालेले जितेको हो। यो चोटि वाम गठबन्धनमा रहेको माओवादी हामीतिर छ। राप्रपाले पाएको ८ हजार मत अहिले दुईतिर बाँडिएकोछ, त्यसैले मेरो जित सुनिश्चित छ।’ 

प्रत्यक्षबाट लडिएको संसदीय निर्वाचन डिनाले कहिल्यै जितिनन् तर भूमिकाको हिसाबले उनी कहिल्यै हारिनन्। यसपालि कांग्रेसबाट टिकट पाएका ५ जना महिला उम्मेदवारमध्ये डिना र सीता गुरुङको अवस्था राम्रो ठानिएको छ। यहाँका मतदाताले लगातार हराइरहँदा पनि हार नमानेर चौथो पटक पनि मैदानमा भिड्न आइपुगेकी डिनालाई देखेर यहाँका मतदाता पनि आश्चर्यमा छन्। 

डिना भन्छिन्, ‘सीमान्तका हकका निम्ति लड्दै आइरहेको मेरो जितबाट वर्चश्वशालीहरु डराइरहेकोले मलाई हराउन अनेकन तिकडम भए, तर यसपालि मतदाताले मलाई जिताएर संसद छिराउँछन्।’

नेपालखबर स्थलगत :

सर्लाही ४ : कांग्रेसमा ‘आरजु ब्रिगेड’ खडा गरिँदै छः अमरेशकुमार सिंह (अन्तर्वार्ता) 

फेरि धोका नखाने मुसहर समुदायको ‘आइडिया’– पैसा सबैको लिने, भोट काम गर्नेलाई दिने

अर्बपति उम्मेदवार विनोदसँग नवलपरासी १ को देहात चहार्दा​

सर्लाही ४ : बुबा उम्मेदवार बन्न नपाएपछि चुनावी मैदानमा वीर अस्पतालकी नर्स मधुमाला

भक्तपुर २ : दल बदल गरिरहने भक्तपुर २, बस्नेत र थापा दुवै ‘ग्रे जोन’ मा

भक्तपुर १ : नेमकिपाको किल्लामा गठबन्धन र एमालेको ‘शिष्ट’ प्रचार

वामपन्थी ‘रक्तबीज’ जन्माउने म्याग्दीको त्यो दोवा काण्ड, तिनै वामपन्थीबीच यो भिडन्त

महोत्तरी ३ : जलेश्वरमा महन्थ ठाकुरले भने– हामीलाई कागजी रुपमा मात्र नेपाली हुन् भन्ने ठानिन्छ (अन्तर्वार्ता)

सप्तरी २ : ‘रेड जोन’ मा उपेन्द्र यादव, हार टार्न जातीय ‘गुहार’

पुरानो डुंगा लिएर पानीको छाल छल्दै पृथ्वीसुब्बा

बागलुङका यी दुई ‘बागी’, जसले स्थानीय चुनावमा विद्रोह गरे, अहिले एमालेको साथ पाए​

रौतहट १ : गौरमा माधव नेपालले भने— २० सिटमा जित निकाल्न लागिपरेका छौँ (अन्तर्वार्ता)

मधेश ब्रिफिङ : मधेशभर ‘जनकपुर ट्रायल’ को असर : दलभन्दा स्वतन्त्र उम्मेदवार बढी

चितवन १ : विश्वसँगै स्वर्णीम मैदानमा उत्रिए रोकिन सक्छ सुरेन्द्र पाण्डेको ‘ह्याट्रिक’ 

चितवन २ : दलभन्दा बलिया रवि लामिछानेलाई कस्न एउटै रणनीति अपनाउँदै गठबन्धन र एमाले 

चितवन ३ : प्रचण्डलाई हराउने ओली–कोइराला रणनीति कांग्रेसले डेढ वर्षपछि मात्रै थाहा पाएपछि

     

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .