राजनीति


देशव्यापी रुपमा गठबन्धन सफल भइसक्यो : पुन

देशव्यापी रुपमा गठबन्धन सफल भइसक्यो : पुन

नेपालखबर
मंसिर १, २०७९ बिहिबार १०:२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सत्तारुढ गठबन्धन सफल भएको बताएका छन् । 

धेरैले गठबन्धन बीचैमा टुट्ने बताए पनि उनले गठबन्धन थप बलियो भएको र चुनावमा एकअर्का दललाई शतप्रतिशत मत ‘ट्रान्सफर’ हुने अवस्था निर्माण भएको बताए।

नेताहरुको सत्ता स्वार्थका कारण नभई आफूहरुले केपी ओलीको निरंशुकता र प्रतिगमनविरुद्ध सैद्धान्तिक गठबन्धन निर्माण गरेको उनको भनाइ थियो।

देशव्यापी रुपमा देखिएको जनलहर देखिएको भन्दै उनले गठबन्धनका उम्मेदवारहरुको विजयको औपचारिक घोषणामात्र बाँकी रहेको उल्लेख गरे।

 ‘धेरैले सत्ता स्वार्थका लागि गरिएको गठबन्धन धेरै दिन नटिक्ने भनेका थिए। जनताले त्यस्तो दाबीलाई अस्वीकृत गरेका छन्। यो गठबन्धन केपी ओलीको प्रगितमनविरुद्धको गठबन्ध हो। दुईईपटक संसद विघटन गरेपछि गरिएको सैद्धान्तिक गठबन्धले हो’, गृहजिल्ला रोल्पाको लिवाङमा आयोजित घरदैलो कार्यक्रमपछिको सभालाई सम्बोधन गर्र्दै पुनले भने, ‘गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गरेको छ।  जसले केपी ओलीको स्वेच्छाचारिता, निरंकुशता र तानाशाही प्रवृत्तिविरुद्ध संघर्ष गरेको छ। राष्ट्रव्यापी रुपमा गठबन्धनमा पक्षमा देखिएको जनलहरले गठबन्धन सफल भएको पुष्टि भइसकेको छ।’

ओलीले सबैलाई गाली गर्ने र होच्याउने काम मात्र गरेको टिप्पणी उनको थियो। पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले मुलुकको अर्थतन्त्र संकताग्रस्त हुनुमा ओली जिम्मेवार रहेको आरोप लगाए। ओली प्रधानमन्त्री बन्नुअघि सात खर्ब हाराहारीमा रहेको वैदेशिक ऋण बढेर २१ खर्ब पुगेको तथ्याङ्क उनले प्रस्तुत गरे।

‘विगतमा सात खर्ब हाराहारीमा रहेको ऋण ओली प्रधानमन्त्री भएपछि २१ खर्ब पुगेको छ। झण्डैझण्डै ओलीले ७० हजारको हाराहारीमा ऋण बढाउने काम गरेका छन्’, पुनले भने, ‘जनताले बैंकबाट पैसा लिएर व्यवसाय गर्छु भन्न पाउँदैन। बैंकमा पैसा छैन। हामी गठबन्धनको सरकार बनेपछि बैंकमा पर्याप्त मौज्दात हुने वातावरण बनाउछौं। राज्यले गर्नुपर्ने खर्च नगरेर जनताको गोजी रित्याउने काम हुँदैन।’

राज्यले पैसा खर्च रगेपछि जनताले सस्तोमा ऋण पाउने र अर्थतन्त्र चलायमान हुने उनको भनाइ थियो। ‘पैसा सरकारको ढुकुछटीमा थुपारेर राख्ने होइन। जनताको आयस्तर बढाउन उद्योग र ठूला आयोजनाहरु निर्माण गर्नुपर्छ’, पुनले भने।

पुनले आफूहरु ओलीको जस्तो गफ मात्र नगर्ने भन्दै जनतालाई सडक, खानेपानी, विद्यालय, अस्पताल र कृषिमा आधुनीकीकरण चाहिएको बताए। सत्ता गठबन्धन कम्तिमा पाँच वर्ष टिक्ने भन्दै उनले राजीतिक स्थायित्व, सुशासन, विकास र समृद्धिका लागि काम गर्ने बताए। उनले ओलीले जस्तै आफूहरुले  संसद विघटन नगर्ने र लोकतन्त्रका नाममा निर्वाचित तानाशाही प्रवृत्ति नदेखाउने प्रतिबद्धता जनाए। ‘ओली तन्त्रमा जस्तो सरकार र नेताले गल्ती गर्दा आलोचना गर्न र लेख्न नपाउने अवस्था गठबन्धन सरकारका कारण आउँदैन’, पुनले भने, ‘लोकतन्त्र नेताको पेवा र सत्ता स्वार्थका लागि सुदरुयोग गर्ने वस्तु होइन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .