राजनीति


झापा १ का मतदातालाई माओवादी नेता राम कार्कीको अपिल

भने : अब ढुक्कले आफ्नो क्षेत्रमा डुल्छु, काम गर्छु
झापा १ का मतदातालाई माओवादी नेता राम कार्कीको अपिल

फाइल तस्बिर


नेपालखबर
मंसिर १, २०७९ बिहिबार १९:१८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले झापा क्षेत्र नम्बर १ का मतदाताका लागि एक अपिल जारी गरेका छन्। 

झापा १ बाट २०७४ मा विजयी उनले त्यहाँका मतदाताको नाममा अपिल जारी गरेका हुन्। उनी निर्वाचित त्यस क्षेत्रमा यस पटक सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा चुनावी मैदानमा छन्। 

उनले शर्माको नाम नलिइ मतदाताहरुलाई गठबन्धनको पक्षमा मतदान गर्न भनेका छन्। 

‘राजनीतिमा समिप र टाढा पुर्याउने राजनैतिक मुद्दाहरुले हो। त्यसै बमोजिम अहिले हाम्रो संश्रय र गठबन्धन तयार भएको छ’, उनले भनेका छन्, ‘गठबन्धनको पक्षमा मतदान गर्न देशैभरिका र विशेषतः यस क्षेत्रका जनतासँग हार्दिक अपिल गर्दछु।’

उनले पाँच वर्षअघि नेकपाको तर्फबाट विजयी भए पनि नेकपा नै कमजोर हुँदै गएर विघटन भएको स्मरण गरेका छन्। 

‘त्यसैले सोचे जस्तो जनताको पक्षमा विशेषतः मजदुर, किसानको पक्षमा काम हुन सकेन। जनमुखी शिक्षा र जनस्वास्थ्यलाई नेकपा सरकारको पहिलो प्राथमिकतामा पार्न सकिएन।’

उनले यसपटक आफ्नो उम्मेदवारी नरहेको विषय पनि विस्तारै खुल्दै जाने भनेका छन्। ‘जनतालाई प्रतिनिधि चाहिएको हो कि मुक्तिदाता सबै अलमलमा छौँ’, उनले भनेका छन्, ‘यसपटक प्रतिनिधिसभाका निम्ति मेरो उम्मेदवारी छैन। कारण क्रमशः प्रकट हुँदै जानेछ।’ 

उनले सांसद नभए पनि अब धित मरुन्जेल आफ्नो क्षेत्र घुम्ने बताए। ‘अब धित मरुन्जेल यो क्षेत्र घुम्ने छु। हाम्रा जनप्रतिनिधिहरुलाई सृजनात्मक आलोचना गरेर हामीले थालेका कामहरुलाई निरन्तरता पनि दिनु छ’, उनले भनेका छन्, ‘टिमाई–बुद्धशान्ति र सिद्धिखोला–मेचीनगर बृहद खानेपानी योजनालाई अगाडि बढाउनु छ।’ 

पूर्ण पाठ

मेरो आदर र प्रेमको केन्द्रमा रहनुहुने झापा क्षेत्र नं १ का आफन्तहरु, 

तपाईहरुलाई सम्बोधन गरिएको यो पत्र हाम्रा सबै सह नागरिकहरुका निम्ति पनि हो।

हामी निर्वाचनको रन्कोमा छौं। यसपटक पनि नागरिकहरुको प्रतिनिधित्व गर्छौं भन्ने आवाज मलिनो छ। नागरिकहरुको उद्धार गर्छौं भन्ने आवाज जताततै घन्किएको छ। 

जनतालाई प्रतिनिधि चाहिएको हो कि मुक्तिदाता सबै अलमलमा छौं। यसपटक प्रतिनिधिसभाका निम्ति मेरो उम्मेद्वारी छैन। कारण क्रमशः प्रकट हुँदै जानेछ। 

पाँच वर्षअघि नेकपाको तर्फबाट उम्मेदवार बनेको थिएँ र तपाईहरुले विजयी तुल्याउनु भएको थियो। नेकपाकै हालत कमजोर हुँदै गएर विघटन भएको साक्षी तपाईहरु स्वयम् हुनुहुन्छ। त्यसैले सोचे जस्तो जनताको पक्षमा विशेषतः मजदुर, किसानको पक्षमा काम हुन सकेन।

जनमुखी शिक्षा र जनस्वास्थ्यलाई नेकपा सरकारको पहिलो प्राथमिकतामा पार्न सकिएन। सरकार गठन भएको एक वर्षपछि बिबिसीको पत्रिकामा ’मार्क्सवादी दृष्टिमा सरकारको एक वर्ष’ भन्ने मेरो लेख प्रकाशित भएको छ। चासो हुनेले पढ्न सक्नु हुन्छ। (लिंक तल दिईएको छ।)

गत निर्वाचनमा प्रदेशसभामा दुई र प्रतिनिधिसभामा एक गरि हामी तीन जनाको टोली बनेको थियो। तीन वर्षसम्म हामीले सामुहिक रुपमा काम गर्यौं। यो अवधिको जसअपजस हामी तीनै जनाले लिनु पर्छ। त्यसबाहेक प्रतिपक्षी पार्टीका मेयरहरुसंग पनि समन्वय गरेर हामीले काम गर्यौं। पार्टी टुक्रिएपछि पनि जनप्रतिनिधि साथीहरुसंग मेरो सम्बन्ध सौहार्द रहेको थियो। अहिले कसले के ठान्छ मलाई थाहा छैन। 
जनप्रतिनिधि हुँदाका रमाईला अनुभवहरु ः 

कोरोना सुरु भएपछि झापाबाट प्रतिनिधिसभाका सदस्यहरुको एउटा बैठक मेची अस्पतालका डाक्टरहरुलाई समेत सहभागी गराएर भद्रपुरमा सम्पन्न भयो। त्यो बैठकमा अन्य माननीयहरुले के कस्तो सहयोग गरे रेकर्ड हेर्दा हुन्छ। मेरो विचारमा गरीबहरुको कोरोनाको उपचार गर्ने भरपर्दो थलो मेची अस्पताल नै थियो। त्यसैले हाम्रो कोषबाट २० लाख रुपैयाँ दिएर मैले अस्पतालका प्रमुखलाई अस्थायी टहरोमै भएपनि पर्याप्त बेडहरु राख्न अनुरोध गरे। कोरोना रोकथामका निम्ति १० लाख बराबरका सामग्रीहरु वितरण गरियो। त्यसको हप्ता दिन नबित्दै एक जना झ्वाँकीले फेसबुकमा लेखे, ’यत्रो कोरोना कहरमा राम कार्की बेपत्ता’। 

हुन त सामान्य नागरिकलाई के भन्नु भर्खरै एक जना दबंग नेताले एउटा चोकमा उभिएर म हराएको घोषणा गरे। उनी उभिएर बोलेको स्थान भन्दा २० गज परको विद्यालयलाई कुरीकुरी लाग्यो होला। किनकी मेरै पहलमा त्यो विद्यालयमा २० लाख भन्दा बढी रकमको कम्प्युटर, प्रिन्टर र अन्य इन्टरनेट सम्बन्धी सामग्री पुर्याईएको छ। उनी चम्कीचम्की बोलेको चौरबाटै सुरु हुने पिच रोड पनि हाम्रै पहलमा तयार भएको थियो। राम कार्की बेपत्ता भन्ने उनको भाषणमा उनका कार्यकर्ताहरुले हो हो भन्ने कोलाहल गर्दा म बबुरो चाहिं त्यहाँबाट एक किलोमिटर पर बसेर यो चर्तिकलाको खबर लिईरहेको थिएँ।

मेरो साथी जीवन शर्माले एउटा गीत गाउँछन् ’आएन परदेशी फेरि पनि लाग्यो बर्खा’। केहि मान्छेहरुले ’जितेर गएपछि राम कार्की फर्केर आएन’ भन्ने सदावहार गीत गाउँछन्। सुरुमा त कस्तो कस्तो लाग्थ्यो तर एकपटक  झन्डै दुई महिना निरन्तर झापा बस्दा पनि गीत रोकिएन। मैले मान्नै पर्यो गणतन्त्रको लडाईमा ती मान्छेहरुलाई प्राप्त सहुलियत हो, जताततै जितेर गएको नेता फर्की आएन भन्ने नारा घन्किरहेको छ। मत बाझिएकाहरुलाई फर्केर आएन भनिदियो लण्ठै साफ। 

आफन्तहरुसँग थप कुराः
२०७४ सम्म त्यो निर्वाचन क्षेत्रमा कति किलोमिटर पिच रोड थियो र आज कति किलोमिटर बढेको छ। मापन गर्ने तरिका त यस्तो हुनु पर्ने हो। तर हामी पार्टी लागेकाहरु मौका परे न्यातपोल, पाटन र भक्तपुरका दरबार पनि हाम्रै पार्टीले बनाएको भनेर जिद्धि गर्ने संस्कृतिका सिकार भएका छौं। अरुलाई खसाल्दा कतिपयलाई आफु अग्लिएको भ्रम हुन्छ। 

कोरोना कहरले चाहेजति घुम्न र झुम्मिन नपाएको दुख छ तर तपाईहरुसंग सहकार्य र झापाको बसाई आनन्दमय रहेको छ। मेरो सहयोगले थोरै भएपनि दुखीः झापालीहरुको अनुहारमा मुस्कान फैलिएको देख्न पाउनु मेरो निम्ति सबभन्दा आनन्दको क्षण हो। मिठुमाया दिदिको मुजा परेको अनुहारमा छचल्किएको मुस्कान, सानो दुर्गा अधिकारीको आँखामा देखिएको सन्तोष मेरो निम्ति अविष्मरणिय प्रेरणाको स्रोत बनेको छ। अब धित मरुन्जेल यो क्षेत्र घुम्ने छु। हाम्रा जनप्रतिनिधिहरुलाई सृजनात्मक आलोचना गरेर हामीले थालेका कामहरुलाई निरन्तरता पनि दिनु छ। टिमाई–बुद्धशान्ति र सिद्धिखोला–मेचीनगर बृहद खानेपानी योजनालाई अगाडी बढाउनु छ। 

सबै भन्दा महत्वपूर्ण कुरा त प्रत्येक वडामा स्वास्थ्य परिक्षण ल्याबहरु स्थापना गर्ने हाम्रा अभियानले निरन्तरता पाउनु पर्दछ। विद्यालय पठनपाठनको निगरानी गर्न स्तरोन्नतिका निम्ति सहयोग गर्न, विश्वासको सट्टा विज्ञानतर्फ नानीहरुलाई प्रोत्साहित गर्ने अभियान महिला, विद्यार्थी, युवाहरुले चलाई राख्नु पर्दछ। 

राजनीतिमा समिप र टाढा पुर्याउने राजनैतिक मुद्धाहरुले हो। त्यसै बमोजिम अहिले हाम्रो संश्रय र गठबन्धन तयार भएको छ। गठबन्धनको पक्षमा मतदान गर्न देशैभरिका र विशेषतः यस क्षेत्रका जनतासंग हार्दिक अपिल गर्दछु। 

हाम्रो सन्दर्भमा समाजवाद भनेको प्रत्येक नानीहरुको निम्ति दुधको जोहो पनि हो, बिरामी हुँदा सर्वस्व गुमाउने, केटाकेटीलाई राम्रो शिक्षा दिन नसक्ने हालतमा रहेका किसानलाई त्यो कठिनाईबाट मुक्त गर्ने उपाय र परिपाटीको नाम हो समाजवाद। 

क्यास्ट्रोले क्युबामा, पाउल कागामेले रुवान्डामा र दक्षिण एसिया कै कतिपय देशहरुमा पनि नानी केटाकेटीका निम्ति दुधको सुनिस्चितता गरिएको छ। मैले कोशिस गरेको दुध अभियानको चर्को विरोध गर्नेले पनि बिहान नानीहरुलाई एक बोतल दुध भन्ने नाराको सट्टा कुनै अर्को विषालु नारा पक्कै दिने छैनन्। 

आज भोलि मसँग भेट हुने कतिपयसँग यस्तो संवाद हुने गर्दछ : 
यसपटक टिकट पाउनु भएन?  
पाइएन।
समानुपातिकमा नाम छ?
छैन। 

यो सुन्नासाथ् शोक धुन बजाउन खोज्ने शुभचिन्तकहरुलाई भन्दछु, ढुक्क हुनुहोस – ज्यूँदो जनता ५ वर्ष कोमामा जाने छैन। राजनीतिमा थुप्रै छनौटहरु छन्। हाम्रो समाजलाई व्यवहारिक राजनीति भन्दा बढी वैचारिक राजनीतिको खाँचो छ। तपाईहरुको निगरानी, साथ् र सहयोगमा राजनीतिमा झनै सक्रिय रहने छु। 

राम कार्की

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad