स्याङ्जाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उपसभापति तथा अनियमितताका घोर आलोचक धनराज गुरुङ तथा एमाले सचिव पद्मा अर्याल आमने–सामने छन्।
यी ‘हेभीवेट’ को प्रतिस्पर्धामा राष्ट्रिय चासो छ। तर, चुनाव सकिएको चौथो दिनसम्म पनि त्यहाँ मतगणना हुन सकेको छैन।
एमालेकी पद्मा अर्यालसहित राष्ट्रिय स्वतन्त्र पार्टीका टीकाराज गुरुङले बुथ कब्जाको आरोप लगाउँदै केही मतदान केन्द्रमा पुनःमतदानको माग गरेपछि गणना रोकिएको हो। उनीहरुले यसको उजुरी निर्वाचन आयोगमा नै दिएका छन्।
चापाकोट नगरपालिकाअन्तर्गत ४ वटा बुथमा विदेश गएका र मृत्यु भएका १ हजार ८० जनाभन्दा बढीको नाममा मतदान भएको एमालेको दाबी छ। कतिसम्म भने, तारा एयरको दुर्घटनामा ज्यान गुमाएकी किशोरीको नाममा समेत भोट हालिएको एमालेको दाबी छ।
अन्य दलका प्रतिनिधिलाई लखेटेर कांग्रेसले ती बुथमा ९० प्रतिशतभन्दा बढी मतदान गराएको उजुरी निर्वाचन आयोगमा पुगेको छ।
कांग्रेसले यो आरोपको खण्डन गरेको छ। कांग्रेस नेता दीलिपप्रताप खाँणले मतदानपछि एमालेका प्रतिनिधिहरुले पनि हस्ताक्षर गरेकोले पुनः मतदान स्वीकार्य नहुने बताएका छन्।
उम्मेदवार धनराजसहितको टोलीले सोही माग राख्दै मंगलबार वालिङमा रहेको निर्वाचन आयोगमा धर्ना दिएको थियो भने एमाले नेतृ पद्माले पत्रकार सम्मेलन गरी पुनः मतदानको माग गरेकी थिइन्।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले हालसम्म कुनै निर्णय नभएको बताए। ‘केही निर्णय भएको छैन, छानबिन हुँदैछ’,उनले भनेका छन्।
Shares

प्रतिक्रिया