ad ad

राजनीति


रोल्पा–रुकुमका दुई सिटमा माओवादीका ‘बागी लडाकु’ को कब्जा

रोल्पा–रुकुमका दुई सिटमा माओवादीका ‘बागी लडाकु’ को कब्जा

रुकुमपूर्व ‘क’ मा विजयी सरुल पुन र रोल्पा ‘ख’ मा विजय दीपेन्द्र पुन


नेपालखबर
मंसिर ७, २०७९ बुधबार २१:१, काठमाडौँ

सैन्य–युद्धको पृष्ठभूमीका कारण अन्य पार्टी भन्दा अनुशासित मानिने माओवादी केन्द्रका दुई बागी उम्मेदवारले जनयुद्धको उद्गमथलोमा विजय हासिल गरेका छन्। 

माओवादी सेनाको पृष्ठभूमिका दुई पूर्व लडाकूले बागी उम्मेदवारका रुपमा रोल्पा ‘ख’ र रुकुमपूर्व ‘क’ मा सत्तागठबन्धनका उम्मेदवारहरुलाई पराजित गरेका हुन्।

पछिल्लो पटक रोल्पा ‘ख’मा पनि लडाकू पृष्ठभूमिकै बागी उम्मेदवारले विजय हासिल गरेका छन्। त्यसअघि मंगलबारको अन्तिम गणनामा रुकुमपूर्व ‘क’ मा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज तेजबहादुर ओलीलाई पराजित गर्दै सरुल पुन (अजयदीप) विजयी भइसकेका छन्।

२०७४ मा पनि विजयी ओलीविरुद्ध रुकुमपूर्व ‘क’ का माओवादी नेता–कार्यकर्ताले सरुललाई उम्मेदवारका रुपमा खडा गरेका थिए। 

माओवादीले लगातार गैरखामभाषीलाई सो क्षेत्रमा उम्मेदवार बनाएकाले सरुललाई खामभाषी माओवादी समूहले उम्मेदवारको रुपमा अघि सारेको थियो। 

जनयुद्धको क्रममा सोलु भएको आक्रमणमा गम्भीर घाइते उनी जनमुक्ति सेनाको ब्रिगेड कमाण्डरसम्म भएका थिए। पराजित ओली डिभिजन कमाण्डर थिए।

जनसेनाको कमाण्डरका रुपमा सरुल पुन 

पूर्व जनमुक्ति सेनाको तल्लो संरचनाको कमाण्ड गरेको कमाण्डरले माथिल्लो स्तरको कमाण्डरलाई बागी उम्मेदवारका रुपमा ‘ब्यालेट वार’ मा पराजित गरेको यो पहिलो घटना थियो।

बुधबार अपरान्ह सकिएको रोल्पा ‘ख’ को अन्तिम मतगणनामा बागी उम्मेदवार दीपेन्द्र पुन (सिजल) ले  विजय हासिल गरेका छन्। 

सो क्षेत्रमा सत्तागठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका अमरसिंह पुनलाई पराजित गर्दै सिजलले विजय हासिल गरेका हुन्। 

माओवादी शान्ति प्रक्रियामा आउनुपूर्व राजनीतिक फाँटमा सक्रिय रहेपनि आन्तरिक दुर्घटनामा परी घाइते हुनुअघि ‘सिजल’ पनि माओवादी जनमुक्ति सेनाका कमिसार थिए। पाल्पामा एउटा आक्रमणको क्रममा आन्तरिक विस्फोटमा परी हात गुमाएपछि उनलाई माओवादीले राजनीतिक फाँटमा सरुवा गरेको थियो। 

जनयुद्धका क्रममा माओवादी आधार क्षेत्रमा पत्रकारहरुसँग दीपेन्द्र पुन (सैन्य ड्रेसमा)।

२०७४ को निर्वाचनमा रोल्पा ‘ख’ बाट प्रदेशसभामा विजयी उनी आफूले विजय हासिल गरेको क्षेत्र माओवादी केन्द्रले कांग्रेसलाई छाडेपछि असन्तुष्ट माओवादीहरुको जोडबलमा बागी उम्मेदवार बनेका थिए। 

जिल्लाको ठूलो माओवादी पंक्तिले साथ दिएपछि उनी साढे ४ हजार भन्दा बढीको मतान्तरले विजयी भए। 

रोल्पा र रुकुमपूर्वमा प्रदेशसभाका चार सिटमध्ये माओवादी केन्द्रले एक–एक सिट पाएको थियो। दुई सिट (रुकुमपूर्व ‘ख’ र रोल्पा ‘ख’) नेपाली कांग्रेसको भागमा परेको थियो। 

माओवादी केन्द्रले रोल्पा ‘क’ र रुकुमपूर्व ‘क’ लिएको थियो। यसमध्ये माओवादी उम्मेदवार रुकुमपूर्व ‘क’ मा आफ्नै बागीबाट पराजित भए भने रोल्पा ‘ख’ मा कांग्रेस उम्मेदवारलाई पनि माओवादीकै बागीले पराजित गरे। 

रोचक संयोग, आधिकारिक उम्मेदवारलाई पराजित गर्ने दुबै बागी सैन्य पृष्ठभूमीका नेताहरू हुन पुगे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .