ad ad

राजनीति


गच्छदार हार्दा देउवाको नाममा बन्नेछ ऐतिहासिक जितको रेकर्ड

लगातार ७ वटा चुनाव जित्ने एक मात्र नेता बन्दैछन् देउवा
गच्छदार हार्दा देउवाको नाममा बन्नेछ ऐतिहासिक जितको रेकर्ड

सीताराम बराल
मंसिर ११, २०७९ आइतबार १९:४१, काठमाडौँ

एउटा नेता चुनावमा पराजित हुँदा अर्काे नेताले ऐतिहासिक रेकर्ड निर्माण गर्ने अवसर पाउँदो रहेछ। 

२५ हजार ४ सय ३४ मतका साथ प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट ७ मंसिरमा निर्वाचित भइसकेका छन्। १२ हजार ४ सय ९२ मतअन्तरसहित देउवाले विजय हासिल गर्दा निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन्। 

यो भन्दा बढी मतअन्तरले विजय हासिल गर्ने उम्मेदवार निर्वाचनमा आधा दर्जन बढी होलान्। त्यसैले, देउवाले यसपटक प्राप्त गरेको मतका आधारमा उनले यो निर्वाचनबाट कुनै ‘रेकर्ड’ कायम गर्न सकेका छैनन्। 

तर, मतगणनामा निरन्तर पछि रहँदै आएका विजयकुमार गच्छदार पराजयउन्मुख रहँदा निर्वाचनमा जितको एउटा ऐतिहासिक रेकर्ड प्रधानमन्त्री देउवाको नाममा बन्नेछ। सुनसरी–३ को मतगणनाको अन्तिम परिणाम गच्छदारको प्रतिकूल हुने गरी आयो भने २०४८ यता लगातार ७ निर्वाचनमा विजय हासिल गर्ने नेताको रेकर्ड देउवाको नाममा बन्नेछ।  

यसअघि ६ वटा निर्वाचनमा लगातार विजय हासिल गरेको रेकर्ड देउवा र गच्छदार दुवैको नाममा थियो। यो निर्वाचनबाट सबैभन्दा बढी जित हासिल गर्ने नेताको रेकर्ड बनाउन यिनै दुई नेता ‘प्रतिस्पर्धा’ मा थिए। 

भक्तपुर–१ बाट प्रतिस्पर्धा गर्दै आएका नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले २०७४ को आम निर्वाचनमा प्रतिस्पर्धा नगरेपछि र कांग्रेस नेता रामचन्द्र पौडेल त्यो निर्वाचनमा तनहुँ–१ मा पराजित भएपछि २०४८ पछि लगातार विजय हासिल गर्ने नेता देउवा र गच्छदार मात्र हुन्।  

हुन त २०४८ देखि २०७४ निर्वाचनमार्फत् संसद छिर्ने नेताको सूचीमा रामजनम चौधरीको नाम पनि दर्ज थियो। तर, २०६४ मा समानुपातिक (तत्कालीन मधेशी जनअधिकार फोरमबाट) तर्फबाट चुनिएकाले र यसपटक कैलाली–१ मा पराजित भएकाले लगातार जित हासिल गर्ने नेताको सूचीबाट उनी हटिसकेका छन्।  

देउवा र गच्छदार भने २०४८ देखि २०७४ सम्म प्रत्यक्षतर्फबाट लगाचार निर्वाचित भइरहेका छन्।  

२०६४ को निर्वाचनमा त यी दुई नेता दुई–दुई निर्वाचन क्षेत्रबाट समेत निर्वाचित भए। देउवा डडेलधुराका अलावा कञ्चनपुर–४ बाट झिनो मतले निर्वाचित हुँदा मधेशी जनअधिकार फोरमबाट गच्छदारले मोरङ–७ बाट कांग्रेसका डा. शेखर कोइरालालाई ५ हजार मतान्तरले पराजित गरे। सुनसरी–३ बाट उनी अझ फराकिलो मतान्तरले विजयी भए। 

एक मात्र निर्वाचन क्षेत्र रहँदै आएको डडेलधुराबाट देउवा लगातार निर्वाचित हुँदा गच्छदार २०४८–०५६ सम्म सुनसरी–२ बाट निर्वाचित हुन्थे। २०६४ को निर्वाचनअघि उनी नेपाली कांग्रेस छाडी मधेशी जनअधिकार फोरममा प्रवेश गरे। र, निर्वाचन क्षेत्र हेरफेरका क्रममा सुनसरी–३ बनेको परम्परागत निर्वाचन क्षेत्रबाटै प्रतिस्पर्धा गरी विजय हासिल गर्न थाले।  

पहिलो संविधान सभा निर्वाचनलगत्तै फोरममा विभाजन भयो, गच्छदारले फोरम (लोकतान्त्रिक) बाट २०७० को निर्वाचन सुनसरी–३ र मोरङ–७ बाट प्रतिस्पर्धा गरे। मोरङ– ७ मा कांग्रेसका डा. कोइरालाबाट पराजित भए पनि सुनसरी–३ बाट निर्वाचित भएकाले उनको संसद् यात्रा फेरि पनि निरन्तर रह्यो। 

२०७० को निर्वाचनपछि फोरम (लोकतान्त्रिक) लाई उनले नेपाली कांग्रेसमा विलय लगाए। नेपाली कांग्रेसमै फर्केपछि गच्छदारले २०७४ को निर्वाचनमा एमालेकी भगवती चौधरीसँगको प्रतिस्पर्धामा निकै कठिन जित निकाले। 

२०७० मा पनि उनलाई जित निकाल्न उस्तै कठिन भएको थियो। पछिल्ला दुवै निर्वाचनमा उनी पाँच सयभन्दा कम मतान्तरले विजयी भएका थिए। 

डडेलधुरामा देउवाका लागि भने २०६४ को बाहेक सबै निर्वाचन सहज रह्यो। २०६४ को निर्वाचनमा देउवा १२ हजार ८ सय २४ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका खगराज भट्टले ११ हजार ७ सय ९५ मत प्राप्त गरेका थिए। त्यसअघि र पछि भने उनी लगभग १० हजार मतान्तरले विजयी हुँदै आएका छन्। 

२०६४ देखि २०७४ सम्म देउवासँग प्रतिस्पर्धा गरेर प्रतिद्वन्द्वी रहँदै आएका माओवादीका भट्ट यसपटक सत्ता गठबन्धनबाट डडेलधुरा ‘क’ मा प्रदेश सभाको उम्मेदवार बनी विजयी भइसकेका छन्। २०६४ यताका निकटतम प्रतिस्पर्धी भट्टको साथ पाएपछि देउवालाई यसपटक पनि विजय हासिल गर्न कठिन भएन। भलै स्वतन्त्र उम्मेदवार सागर ढकालले पनि १३ हजार भन्दा बढी मत प्राप्त गरेर चर्चा कमाए। 

यसअघिका ६ वटा निर्वाचनमा विजय हासिल गरेका देउवाले सातौँ निर्वाचनको परिणाम पनि आफ्नो पक्षमा पार्दा गच्छदार भने सुनसरी–३ बाट जित निकाल्न कठिन संघर्षमा छन्। उनी आफूले दुई पटक पराजित गरेकी एमाले उम्मेदवार भगवती चौधरीसँग झण्डै पाँच हजार मतअन्तरले पछि छन्। 

मतगणनाको पछिल्लो परिणाम अनुसार चौधरी २४ हजार २ सय ६३ मतका साथ पहिलो स्थानमा रहँदा गच्छदारले १९ हजार ६ सय ७० मत प्राप्त गरेका छन्। 

हुन त सुनसरी–३ मा अझै २५ हजार भन्दा बढी मतगणना गर्न बाँकी रहेकाले अन्तिम परिणाम कसको पक्षमा जान्छ, त्यसबारे ठोकुवा गर्न सकिँदैन। तर, प्रारम्भदेखि नै पछि पर्दै आएका गच्छदार ५ झण्डै पाँच हजार मतान्तरले पछि रहेका र मतगणनाको रुझान पनि उनको पक्षमा नरहेकाले उनलाई जितको परिणाम निकाल्न निकै कठिन छ।

यसपटक पनि जित निकाले भने देउवासँगै ७ निर्वाचनमा लगातार जित हासिल गर्ने नेताका रुपमा गच्छदारको नाम दर्ज हुनेछ। पराजित भएभने यस्तो ‘दुर्लभ जित’ को रेकर्ड देउवाको खातामा बन्नेछ।   

त्यसैले, सुनसरी–३ मा गच्छेदारको प्रतिस्पर्धा एमालेकी चौधरीसँग भइरहे पनि २०४८ यताका सबै निर्वाचन जित्ने नेताको रेकर्ड बनाउन उनी देउवासँग पनि प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .