ad ad

राजनीति


प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै छन् यी १२ राजनीतिक दल, कसको सिट कति?

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै छन् यी १२ राजनीतिक दल, कसको सिट कति?

नेपालखबर
मंसिर २१, २०७९ बुधबार ८:२६, काठमाडौँ

यसपटक प्रतिनिधिसभामा १२ राजनीतिक दलले प्रतिनिधित्व गर्ने भएका छन्। जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पहिलोपटक संसद् प्रवेश गर्दै छन्। 

अबको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य दलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी (लोसपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी छन्।

प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये ५ स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। 

सात पार्टी बने राष्ट्रिय दल  
यसपटकको निर्वाचनबाट सात राजनीतिक पार्टी राष्ट्रिय दल बनेका छन्। निर्वाचन आयोगका अनुसार प्रत्यक्षमा कम्तीमा एक सिट र समानुपातिक ३ प्रतिशत मत (थ्रेसहोल्ड) ल्याएका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी,  जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाएका हुन्। थ्रेसहोल्ड कटाउन नसकेका एकीकृत समाजवादीसहित ४० दल भने राष्ट्रिय दल बन्न असफल भएका छन्। उनीहरूले पाएका समानुपातिक मत त्यसै खेर गएको छ।

प्रतिनिधिसभामा कुन दलको कति सिट? 
प्रत्यक्षतर्फ सबैभन्दा धेरै ५७ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ २७ लाख १५ हजार २ सय २५ मत ल्याएको छ। जसबाट ३२ समानुपातिक सांसद थप्दै कांग्रेस ८९ सिटसहित प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको छ। 

यस्तै प्रत्यक्षमा ४४ सिट जितेर दोस्रो भएको नेकपा एमालेले समानुपातिकतर्फ सबैभन्दा बढी २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको छ। जसबाट ३४ समानुपातिक सांसद थपिँदा एमाले ७८ सिटका साथ प्रतिनिधिसभामा दोस्रो दल बनेको छ। अघिल्लो चुनावमा भने एमाले पहिलो दल बनेको थियो।  

यस्तै प्रत्यक्षमा १८ सिट जितेको माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४ समानुपातिक मत ल्याउँदै यसबाट १४ सिट थपेर ३२ सिटका साथ प्रतिनिधिसभामा तेस्रो शक्ति बनेको छ।

पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा ७ सिट जित्यो भने समानुपातिकतर्फ ११ लाख ३० हजार ३ सय ४४ मत ल्यायो। जसबाट १३ सिट थप्दै कूल २० सिटका साथ राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दल बनेको छ। यसपछि पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छ। प्रत्यक्षमा ७ सिट जितेको उसले समानुपातिकतर्फ ५ लाख ८८ हजार ८ सय ४९ मत ल्याएर ७ सिट थप्दै कूल सिट संख्या १४ बनाएको छ।   

यस्तै प्रत्यक्षमा ७ सिट नै जितेको जनता समाजवादी पार्टी (जसपा) ले ४ लाख २१ हजार ३ सय १४ समानुपातिक मत ल्याएर ५ सिट थप्दै जम्मा सांसदको संख्या १२ पुर्‍याएको छ। 

प्रत्यक्षमा १ सिट मात्र जितेको जनमत पार्टीले समानुपातिकमा ३ लाख ९४ हजार ६ सय ५५ मत ल्याएर राष्ट्रिय दल मात्र बनेन, ५ सिट थप्यो पनि। उसको कूल सिटको संख्या ६ पुगेको छ। 

उता प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादी पार्टीले भने समानुपातिकतर्फ थ्रेसहोल्ड (कूल सदर मतको ३ प्रतिशत) कटाउन नसक्दा राष्ट्रिय दल बन्न पाएन भने सिट पनि थप्न सकेन। यसैगरी प्रतिनिधिसभा प्रत्यक्षतर्फ लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले १/१ सिट जिते भने उनीहरूले पनि समानुपातिकमा थ्रेसहोल्ड कटाउन सकेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .