राजनीति


सरकारका प्रवक्ता भन्छन् : चोलेन्द्रविरुद्धको महाअभियोग जीवितै छ

सरकारका प्रवक्ता भन्छन् : चोलेन्द्रविरुद्धको महाअभियोग जीवितै छ

फाइल तस्बिर


नेपालखबर
मंसिर २१, २०७९ बुधबार १५:१३, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग जीवितै रहेको बताएका छन्।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

‘प्रतिनिधिसभामा चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोगको प्रस्तावमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन अब गठित अर्को प्रतिनिधिसभामा छलफल हुने विषय जीवितै छ,’ कार्कीले भने, ‘यो महाअभियोग सार्वभौमसम्पन्न संसद्को सम्पत्ति हो। यसको छलफल अब आउने प्रतिनिधिसभामा छलफल भएर एउटा निर्णयमा पुग्छ।’

गत फागुन १ मा २१ बुँदे आरोप लगाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले महाभियोग दर्ता गराएका थिए।

तर गत असोजमा संसदको पाँच वर्षे कार्यकाल सकिएपछि यो महाअभियोग पनि निष्प्रभावी भएको पत्र संसद सचिवालयले बुधबार दिएको हो।

सत्ता गठबन्धनका सांसदहरुले संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव बुधबारदेखि निष्क्रिय भएसँगै चोलेन्द्र शमशेर जबरा एक सातालाई प्रधानन्यायाधीश रहने भएका छन्। 

संसद सचिवालयका महासचिव भरतराज गौतमले महाअभियोग निष्प्रभावी भएको पत्र थमाएसँगै चोलेन्द्र सरकारी निवास बालुवाटारबाट सर्वोच्च अदालत जाने तयारीमा छन्।

बिहीबार सार्वजनिक बिदा भएकाले उनी बुधबार दिउँसो ३ बजे सर्वोच्च पुगेर हाजिर गर्ने तयारीमा छन्। उनले यसको जानकारी आफूनिकटस्थहरुलाई दिइसकेका छन्। 

चोलेन्द्रको कार्यकाल अब केबल एक सातालाई बाँकी छ। आगामी २७ गते अनिवार्य अवकाश पाउँदैछन्। यस्तोमा उनी बुधबारदेखि एक सातालाई सर्वोच्चको प्रधानन्यायाधीशका रुपमा काम गरेर अवकाशमा जानेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .