राजनीति


नयाँ-पुराना जनप्रतिनिधिसँग सहकार्य गरेर अघि बढ्छु : प्रदीप पौडेल

नयाँ-पुराना जनप्रतिनिधिसँग सहकार्य गरेर अघि बढ्छु : प्रदीप पौडेल

फाइल।


नेपालखबर
मंसिर २६, २०७९ सोमबार ११:४४, काठमाडौँ

नेपाली कांग्रेसका नेता तथा काठमाडौं-५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले आफू नयाँ–पुराना जनप्रतिनिधिहरुसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताएका छन्।

बूढानीलकण्ठ नगरपालिका–४ मा पर्ने चपली घुम्तीमा सोमबार बिहान आयोजित विष्णुमती किनारमा करिडोर सडकको शिलान्यास गर्दै उनले नवनिर्वाचित, स्थानीय तहका र पुराना जनप्रतिनिधिहरुसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताएका हुन्। 

‘नयाँ–पुराना र स्थानीय तहका जनप्रतिनिधिहरुसँग सहकार्य गर्न चाहन्छु। सल्लाह सुझाव लिएर अगाडि बढ्न चाहन्छु,’ नेता पौडेलले भने, ‘अब हामीले यो दल, त्यो दल भन्नु हुँदैन। सहकार्य गरेर अगाडि बढ्नु पर्छ। म हातमा हात राखेर सँगै जान चाहन्छु।’ 

घोषणापत्र लेख्ने, प्रतिवद्धताहरु व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर रहे राजनीतिसँग कोही पनि नजोडिने उनको भनाइ थियो। नेता पौडेलले विकास निर्माणका काम हुन नसके राजनीतिको ठूलो तहमा पुगेका नेताहरुलाई पनि समाजले सम्मान गर्ने स्थिति नरहने दाबी गरे। 

पौडेलले भइरहेका, रोकिएका र गर्नुपर्ने कामको सूची बनाएर व्यवस्थित र प्राथमिकताका आधारमा कामहरु अघि बढाउन आफू प्रतिवद्ध रहेको पनि बताए। उनले विष्णुमतीमा मापदण्डअनुसार करिडोर निर्माण भए रिङरोडको ट्राफिक जाम पनि कम हुने विश्वास व्यक्त गरे। 

विष्णुमतिको मुहानदेखि आफ्नो निर्वाचन क्षेत्रमा पर्ने करिडोर सडकलाई बनाउने, स्तरोन्नती गर्ने र कालोपत्रे गर्ने कुरामा आफू निरन्तर लागि पर्ने पौडेलले प्रतिवद्धता जनाए।

‘४ नम्बरमा सबै करिडोर बनेको छ, हाम्रो ५ मा करिडोर बनाउन किन रोकिएकोरु मापदण्ड अनुसार बनाउँदै जाऔँ। विष्णुमतिमा मापदण्डअनुसार करिडोर बनाउन किन रोकिएको?,’ पौडेलले प्रश्न गर्दै भने, ‘करिडोर बनेको खण्डमा रिङरोडको ट्राफिक जाम पनि कम हुन्छ। 

विकास व्यवस्थित ढंगले अघि बढ्ने परिस्थिति बन्छ। तत्काल हामीले करिडोर अघि बढाउन के गर्नुपर्छ, त्यसका लागि हामीले स्थानीय जनप्रतिनिधिसँग छलफल गरिरहेका छौं।’

कतिपय सडकमा विद्युत प्राधिकरणले तार भूमिगत गर्ने भन्दै सडक अलपत्र छोडेको र मेलम्ची खानेपानीका लागि पाइप बिच्छ्याउन सडक खनेर अलपत्र पारेकाले जनताले सास्ती भोग्नुपरेको पौडेलले बताए। उनले बिग्रिएका बाटोहरुको मर्मतका लागि आवश्यक पहल गरिरहेको पनि जानकारी दिए।

‘विद्युत प्राधिकरणले तार भूमिगत गर्छु भनेर बाटो भत्काएर अलपत्र बनाएको छ। खानेपानीले पानी ल्याउँदा बाटो नै भत्काएर अलपत्र बनाएको छ,’ उनले भने, ‘धुलो उडेर जनताले सास्ती पाएका छन्। हामीले बिग्रिएका बाटोहरुको मर्मतका लागि लबिङ गर्न जरुरी छ।’

बूढानीलकण्ठ–४ का वडाध्यक्ष श्रीराम केसीका अनुसार पौडेलले शिलान्यास गरेको बाटोले बूढानीलकण्ठ–४ र टोखा नगरपालिका–२ भएर तारकेश्वर नगरपालिका जोड्छ। १२ करोड ४२ लाखमा ठेक्का सम्झौता भएको उक्त सडक चालु आर्थिक वर्षभित्रै सम्पन्न गरिने उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad