राजनीति


राष्ट्रसंघीय शान्ति निर्माण आयोगको सदस्यमा नेपाल निर्वाचित

राष्ट्रसंघीय शान्ति निर्माण आयोगको सदस्यमा नेपाल निर्वाचित

नेपालखबर
पुस ६, २०७९ बुधबार ११:४९, काठमाडौँ

नेपाल संयुक्त राष्ट्रसंघ मातहतको शान्ति निर्माण आयोग (पिस बिल्डिङ कमिसन) को सदस्यमा निर्वाचित भएको छ। 

राष्ट्रसंघीय महासभाको ५६औं पूर्ण बैठकले नेपाललाई सो पदमा निर्वाचित गरेको राष्ट्रसंघका लागि न्युयोर्कस्थित नेपाली स्थायी नियोगले प्रेस विज्ञप्तिमार्फ जानकारी दिएको छ। जनवरी १, २०२३ बाट लागू हुने गरी नेपाल दुई वर्षका लागि यूएन पिस बिल्डिङ कमिसनको सदस्य बनेको हो। 

राष्ट्रसंघीय मिसनहरुमा सबैभन्दा धेरै सेना र प्रहरी पठाउने १० देशको समूहबाट नेपालसहित अन्य चार देश पिस बिल्डिङ कमिसनको सदस्यमा निर्वाचित भएको नियोगले जनाएको छ। यसपालि पिस बिल्डिङ कमिसनको सदस्य बन्नेमा दक्षिण एसियाका भारत र बंगलादेश तथा अफ्रिकाका इथोपिया र रुवान्डा छन्। 

नेपालले सन् १९५८ देखि विश्वशान्ति र सुरक्षाका लागि राष्ट्रसंघमा योगदान दिइरहेको छ। राष्ट्रसंघमा धेरै सेना र प्रहरी पठाउने देशको सूचीमा नेपाल अहिले तेस्रो स्थानमा छ। 

‘पिस बिल्डिङ कमिसनको सदस्य बनेसँगै नेपाललाई शान्ति निर्माणकर्ता र शान्ति योगदानकर्ताका रुपमा मुलुकको छवि अन्तर्राष्ट्रिय तहमा अझ माथि उठाउन अवसर मिलेको छ’, स्थाीय नियोगले विज्ञप्तिमा भनेको छ। 

राष्ट्रसंघीय पिस बिल्डिङ कमिसनमा नेपाल पटकपटक निर्वाचित भइसकेको छ। नेपाल सन् २००९-२०१०, सन् २०११-२०१५ र सन् २०१९-२०२० मा कमिसनको अर्गनाइजेसनल कमिटिको सदस्य थियो। 

३१ सदस्यीय पिस बिल्डिङ कमिसन सन् २००५ मा स्थापना भएको थियो। द्वन्द्व प्रभावित मुलुकमा भएका पुनर्निर्माण र संस्था निर्माणका कामलाई व्यवस्थित पार्न सघाउनु यसको कार्यादेश छ। पिस बिल्डिङ कमिसनले संयुक्त राष्ट्रसंघीय महासभा र सुरक्षा परिषद्लाई शान्ति निर्माण र दिगो शान्तिका सवालमा सल्लाह पनि दिने गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .