ad ad

राजनीति


मेस्सीजस्तै तीन हारपछि ‘नाति जर्नेल’ ले चाखेको जित

मेस्सीजस्तै तीन हारपछि ‘नाति जर्नेल’ ले चाखेको जित

प्रतिनिधि सभाको जेष्ठ सदस्य पशुपति शमशेर राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले ६ पुसमा शपथ ग्रहण गराएकी छन्


सीताराम बराल
पुस ६, २०७९ बुधबार २२:२५, काठमाडौँ

राणाकालमा रोलवाला राणाजीका कतिपय सन्तानलाई जन्मिँदै नेपाली सेनाको जर्नेलको दर्जा दिने चलन थियो।

अन्तिम राणा प्रधानमन्त्री श्री ३ मोहन शमशेरका नाति एवं राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर राणाले जन्मने बित्तिकै जर्नेली दज्र्यानी पाए कि पाएनन् कुन्नि! तर, ठट्ट्यौलीस्वरुप राणालाई ‘नाति जर्नेल’ को विशेषण दिने प्रचलन अहिले पनि छँदैछ।  

तिनै ‘नाति जर्नेल’ ले गणतन्त्रपछिको चौथो संसद् (प्रतिनिधि सभा ०७९) का सदस्यहरुलाई शपथ ग्रहण गराउने अवसर पाएका छन्। भोलि (७ पुस) मा प्रतिनिधि सभाको जेष्ठ सदस्यका हैसियतमा शपथ ग्रहण गराउने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार (६ पुस) मा राणालाई शपथ ग्रहण गराइसकेकी छन्। 

नागरिकतामा २५ वैशाख १९९८ जन्ममिति उल्लेख भएकाले प्रतिनिधि सभाको सबैभन्दा जेष्ठ सदस्यका हैसियतमा राणाले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुलाई शपथ ग्रहण गराउने अवसर प्राप्त गरेका हुन्। 

खेल जीवनको उत्तराद्र्धमा निकै कठिन संघर्षबाट अर्जेन्टिनी स्टार लियोनल मेस्सीले आफ्नो मुलुकलाई विश्वकप दिलाएजस्तै, राजनीतिक जीवनको उत्तराद्र्धमा रहेका ८१ वर्षीय राणाले पनि त्यस्तै संघर्षबाट यो ‘विरल’ अवसर प्राप्त गरेका हुन्।

समानुपातिक सांसद बन्न पनि प्रतिस्पर्धा
विश्वकपको अन्तिम प्रतिस्पर्धामा अर्जेन्टिनी कप्तान मेस्सीका ठूला बाधक थिए, फ्रेन्च क्लब पेरिस जेन्ट जर्मन (पिएसजी) मा उनीसँगै फरवार्डका रुपमा खेल्ने फ्रेन्च स्टार केलियन एम्बाप्पे। 

सबैलाई थाहा छँदैछ, विश्वकपको यात्रामा एम्बाप्पेले मेस्सीलाई अन्तिमसम्म कस्तो चुनौती दिइरहेका थिए!

मेस्सीलाई एम्बाप्पेको चुनौतीजस्तै राणाको यसपटकको संसद यात्राका लागि राप्रपाका ‘स्टार’ अध्यक्ष राजेन्द्र लिङ्देन सुरुमै बाधकका रुपमा देखिए। 

अघिल्लो मंसिर (०७८) मा सम्पन्न राप्रपा महाधिवेशनमा कमल थापालाई पराजित गर्दै लिङ्देन अध्यक्ष निर्वाचित भएका थिए। लिङ्देनलाई निर्मल निवासको भित्री आशीर्वाद थियो। सार्वजनिक रुपमा काँध थापिदिने काम चाहिँ राप्रपाका अर्का वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले गरेका थिए। 

महाधिवेशनमा राणा कतै खुलेनन्। उनले सम्भवतः कमल थापाकै पक्षमा मतदान गरे। तर, डा. लोहनीको खुला–सक्रिय साथ पाएका लिङ्देन अध्यक्षमा सहजै विजयी भए। 

खासमा आम निर्वाचन–०७९ मा आफूलाई समानुपातिकतर्फको सूचीमा एक नम्बरमा राख्ने, निर्वाचनपछि संसदीय दलको नेता बनाउने र केन्द्रीय निर्देशन समितिको अध्यक्ष बनाउने गोप्य सहमतिपछि डा. लोहनीले महाधिवेशनमा लिङ्देनलाई सहयोग गरेका थिए। 

तर, अध्यक्ष लिङ्देनले समानुपातिक बन्दसूचीमा लोहनी होइन, हरिबहादुर बस्नेतको नाम समावेश गरे। त्यसपछि आक्रोशित डा. लोहनीले त्यो गोप्य सहमति १० असोजको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सार्वजनिक गरिदिए।

निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा राणाको नाम खस–आर्य क्लस्टर अन्तर्गत डा. लोहनीभन्दा पनि पछि थियो। डा.लोहनी पाचौँ र राणा छैटौँ नम्बरमा राखिएका थिए। 

त्यही सूची कायम रहँदो हो त राणाले यसपटक प्रतिनिधि सभामा छिर्ने मौकै पाउने थिएनन्। 

प्रतिनिधि सभाको सदस्य नै नरहेपछि कसरी ‘जेष्ठ सदस्य’ का हैसियतमा बाँकी २ सय ७४ सांसदलाई शपथ ग्रहण गराउनु! 

लिङ्देनले निर्वाचन आयोगमा बुझाएको त्यो सूचीलाई डा. लोहनीले मात्र होइन, राणाले पनि अस्वीकार गरे। लोहनीको माग आफ्नो नाम पहिलो नम्बरमा राख्नुपर्छ भन्ने थियो भने राणाको माग कसको नाम पहिलो नम्बरमा राख्नुपर्छ भन्ने विषयमा मतदान गर्नुपर्छ भन्ने रह्यो।

आखिरमा राणाको माग अनुसार १० असोज (२०७९) मा यस विषयमा केन्द्रीय कार्यसम्पादन समितिमा मतदान भयो। मतदानमा राणालाई बन्दसूचीको पहिलो नम्बरमा राख्नुपर्छ भन्ने पक्षमा ११ मत प्राप्त भयो, डा. लोहनीले ९ मत मात्र प्राप्त गरे। 

यो परिणाम अनुसार बन्दसूची सच्याउँदै राणाको नाम पहिलो नम्बरमा राखेर राप्रपाले निर्वाचन आयोगमा पुनः बन्दसूची पेस गर्यो।

यदि राणा दोस्रो नम्बरमा मात्र राखिएका हुन्थे भने उनी यसपटक पनि संसदमा छिर्न नपाउने रहेछन्। किनकी, मत परिणाम अनुसार खस–आर्य क्लष्टरबाट राप्रपाले एकजना मात्र पठाउन पाउने भयो। 

तर, संघर्ष र प्रतिस्पर्धामार्फत् राणा बन्दसूचीको पहिलो नम्बरमा आफ्नो नाम पार्न सफल भएकै कारण राणाले प्रतिनिधि सभामा प्रवेश गर्ने मौका पाए।  

आफ्नै सहकर्मी केलियन एम्बाप्पेसँगको प्रतिस्पर्धाबाट मेस्सीले विश्वकप सुरक्षित गरेजस्तै राणाले पनि पञ्चायत कालदेखिकै सहकर्मी डा. लोहनीसँग आन्तरिक प्रतिस्पर्धाबाट मात्र यसपटक प्रतिनिधि सभाको सिट सुरक्षित गर्न सके।

गणतन्त्रमा पराजित ‘पञ्च–गणतन्त्रवादी’
आफ्नो नेतृत्वमा अर्जेन्टिनी फुटबल टोलीलाई विश्वकप दिलाउने मेस्सीको इच्छा तेस्रो प्रयासमा मात्र सफल हुन सक्यो। कप्तानी सम्हालेपछि पहिलो पटक सन् २०१४ मा मेस्सीले आफ्नो टोलीलाई फाइनलसम्म पुर्याए, तर विश्वकपको उपाधि चुम्न सकेनन्। 

सन् २०१८ मा चाहिँ अन्तिम १६ बाटै अर्जेन्टिनी टोली बाहिरियो। तेस्रो प्रयासमा यसपटक (सन् २०२२) सफलता प्राप्त गरेका मेस्सीले विश्वकप सुरु हुनुअघि भनेका थिए, ‘यो नै मेरो अन्तिम विश्वकप प्रतिस्पर्धा हुनेछ।’ 

मेस्सीले जस्तै राणाले पनि ‘यही कार्यकाल नै सांसदको रुपमा मेरो अन्तिम कार्यकाल हुन्छ’ त भनेका छैनन्। तर, अबको निर्वाचन सम्भवतः पाँच वर्षपछि मात्र हुने र त्यो बेला राणा ८६ वर्षका हुने भएकाले राणाको यो कार्यकाल पनि अन्तिम नै हुनसक्ने सम्भावना बढी छ।   

मेस्सी सन् २००६ देखि अर्जेन्टिनी टोलीको सदस्यका रुपमा विश्वकप खेल्न थालेका हुन्। तर, विश्वकप छुनमात्रै उनले १५–१६ वर्ष प्रतीक्षा गर्नुपर्यो। 

विसं २०३० को दशकदेखि लगातार राष्ट्रिय पञ्चायत (पञ्चायती संसद) सदस्य र बहुदलकालका तीन निर्वाचनमा विजयी राणालाई पनि गणतन्त्रकालीन संसद् छिर्न १५ वर्ष नै कुर्नुपर्यो।

२०४६ को परिवर्तनपछिको निर्वाचनमा सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, मरिचमान सिंहजस्ता पञ्चायती नेताहरु निर्वाचनमा पराजित हुँदा राणा र डा. लोहनी २०४८, ०५१ र ०५६ गरी बहुदलकालका तीनवटै निर्वाचनमा क्रमशः सिन्धुपाल्चोक र नुवाकोटबाट विजयी भएका थिए। 

राजा ज्ञानेन्द्रले शासन हातमा लिएपछि सत्ताको बलमा राप्रपाभित्र गृहमन्त्री कमल थापाको तुजुक बढ्यो। अध्यक्ष राणालाई अपदस्थ गरी थापा आफैँ राप्रपाको अध्यक्ष बने। जबकि, त्यतिबेलासम्म पनि राणा राजतन्त्रकै वकालत गर्दथे। 

२०६३ को परिवर्तनपछि राणा, सूर्यबहादुर थापा, प्रकाशचन्द्र लोहनीजस्ता दिग्गज राजावादी र पञ्च नेताहरु गणतन्त्रको पक्षमा ढल्किए। कमल थापालाई अघि सारेर निर्मल निवासले राप्रपा कब्जा गरेपछिको ‘इख’ का अलावा परिवर्तनलाई आत्मसात गर्नुपर्छ भन्ने भावनाका कारण पञ्चायतकालीन यी दिग्गज राजावादीहरु एकाएक गणतन्त्रवादी बन्न पुगेका थिए।

तर, राणा ‘गणतन्त्रवादी’ बन्दाबन्दै गणतन्त्रकालीन तीन वटै निर्वाचन (२०६४, २०७० र २०७४) मा सिन्धुपाल्चोकको आफ्नो परम्परागत निर्वाचन क्षेत्रमा पराजित भए। जबकि राजतन्त्रकालीन कुनै निर्वाचनमा प्रचारमा नजाने पशुपतिपुत्री देवयानी राणा गणतन्त्रकालीन तीन वटै निर्वाचनमा पितालाई जिताउन सिन्धुपाल्चोकका चुनावी सभाहरुमा गएर सम्बोधन गरेकी थिइन्। 

मेस्सी बार्सिलोनाबाट खेल्दा पनि आफ्नो टोलीलाई विजयी गराउँथे, फ्रेन्च क्लब पीएसजीबाट खेल्दा पनि उस्तै नतिजा निकाले। तर, आफ्नै मुलुकको तर्फबाट खेल्दा भने सन् २०२१ अघि उनले अर्जेन्टिनालाई उपाधि दिलाउन सकेनन्। 

राणालाई पनि झण्डै यस्तै भयो। राजतन्त्रवादी छँदा बहुदलकालका चुनाव समेत जिते। तर, गणतन्त्रवादी बनेपछि चाहिँ तीन वटै चुनावमा पराजय मात्रै हात लाग्यो।

मेस्सीलाई जस्तै अन्तिममा राणालाई पनि सुखद परिणाम प्राप्त भयो। समानुपातिक कोटाबाट सांसद के निर्वाचित भएका थिए, जेष्ठ सदस्यका हैसियतमा प्रतिनिधि सभाका बाँकी २ सय ७४ सांसदहरुलाई शपथ ग्रहण गराउने अवसर पनि प्राप्त गरे। 

मेस्सीले आफ्नो अर्जेन्टिनी टोलीलाई सन् २०२१ मा कोपा अमेरिका र यसपटक विश्वकप जिताएजस्तै राणाले बन्दसूचीको एक नम्बरका लागि भएको निर्वाचन जिते, अनि राप्रपाको तर्फबाट खस–आर्य क्लस्टरको एक मात्र सांसद बन्ने अवसर पनि पाए।

जेष्ठ सदस्य : भाग्यले जुराएको अवसर 
प्रतिनिधि सभा सदस्यजस्तै जेष्ठ सदस्यको हैसियतमा शपथग्रहण गराउने अवसर पनि उनलाई सहज रुपमा प्राप्त भएको होइन। 

२०७४ मा जेष्ठ सदस्यको हैसियतमा शपथग्रहण गराएका महन्थ ठाकुर पनि महोत्तरी–३ बाट निर्वाचित भएर प्रतिनिधि सभामा आइपुगेका छन्। तर, नागरिकता अनुसार भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ठाकुर भन्दा माओवादी केन्द्रको तर्फबाट सर्लाही–२ बाट निर्वाचित महिन्द्र राय यादवको उमेर बढी देखिन्छ।

निर्वाचन आयोगमा बुझाइएको नागरिकताको प्रतिलिपि अनुसार यादवको आधिकारिक जन्ममिति २४ वैशाख १९९४ हो भने ठाकुरको २४ वैशाख १९९९ हो। 

यसअनुसार ठाकुरभन्दा यादव ५ वर्ष पाका देखिन्छन्। त्यसैले, २०७४ मा पनि यादवलाई नै जेष्ठ सदस्यका हैसियतमा अन्य सांसदलाई शपथ ग्रहण गराउने अवसर जुरेको थियो।

तर, आफ्नो वास्तविक जन्ममिति त्यो (२४ वैशाख १९९४) नभएको भन्दै जेष्ठ सदस्यका रुपमा शपथग्रहण गराउन यादवले अस्वीकार गरे। त्यसपछि प्रतिनिधि सभाका बाँकी २ सय ७४ जना सदस्यलाई २०७४ मा शपथ ग्रहण गराउने अवसर ठाकुरले प्राप्त गरेका थिए। 

यदि चुप बसेको भए शपथ ग्रहणको अवसर यादवलाई नै प्राप्त हुने थियो। तर, उनी यसपटक पनि पुरानै अडानमा रहे। 

स्पेन, जर्मनी, बेलायत जस्ता विश्वकपका महारथी मुलुकहरु विश्वकपको फाइनलअघि नै प्रतिस्पर्धाबाट पन्छिँदा मेस्सी जसरी विश्वकपको नजिक पुगे, त्यसैगरी यादवको अडान राणाका लागि फलिफापसिद्ध हुन पुग्यो।

यादव हटे पनि मेस्सीका लागि एम्बाप्पेजस्तै सशक्त दाबेदारका रुपमा महन्थ ठाकुर खडा छँदै थिए। एम्बाप्पेले २०१८ मा फ्रान्सलाई विश्वकप दिलाएजस्तै ठाकुरले पनि २०७४ मा शपथ ग्रहण गराएका थिए। 

यादव पछि हटेपछि प्रतिनिधि सभाका २ सय ७४ सदस्यलाई शपथग्रहण गराउने सम्भावित जेष्ठ सदस्यका बारेमा अनुमान र विश्लेषण सुरु भयो। 

यस्तै अनुमान र विश्लेषणका बीच आयोगले २०५० को दशकदेखि नै प्रतिनिधि सभामा रहँदै आएका र यसपटक पनि निर्वाचित तीन जना पाका सदस्यहरु– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी (बाग्लुङ–२), लोसपा अध्यक्ष महन्थ ठाकुर (महोत्तरी–३) र राणाको नागरिकताको प्रतिलिपि झिकायो र जेष्ठ सदस्य निक्र्याेल गर्न खोज्यो।  

२०७४ मा जेष्ठ सदस्यको हैसियतमा शपथग्रहण गराएका ठाकुर नागरिकता जाँचमा पछि परे। जेष्ठतामा राणाले ठाकुरलाई उछिने। ु

यसपटकको विश्वकप र मेस्सीको चर्चा अझै सेलाएको छैन। मेस्सीको संघर्ष जसरी नै संघर्षमार्फत् प्रतिनिधि सभामा पुगेका राणालाई यही बेला प्रतिनिधि सभाका २ सय ७४ सदस्यलाई शपथ ग्रहण गराउने मौका जुरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .