ad ad

सुदूरपश्चिम


संसदीय दलको नेतामा कांग्रेसका ६ जना आकांक्षी, माओवादीका खगराजलाई भाटको चुनौती

संसदीय दलको नेतामा कांग्रेसका ६ जना आकांक्षी, माओवादीका खगराजलाई भाटको चुनौती

गोकुल जोशी
पुस ६, २०७९ बुधबार २०:५६, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वका मुख्य दाबेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रदेश सभा सांसदहरुले संसदीय दलको नेता बन्ने दौडधूप तीब्र पारेका छन्।

सरकारको नेतृत्व कुन दलले पाउने एकिन हुनु अगावै दलको नेता बनेर मुख्यमन्त्री बन्न सांसदहरु संघीय राजधानी काठमाडौंमा शक्ति केन्द्र धाइरहेका छन्।

सुदूरपश्चिममा सत्तारुढ गठबन्धनलाई सरकार बनाउने सुविधाजनक बहुमत छ। ५३ प्रदेशसभा सदस्यमध्ये सत्तारुढ गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी र समाजवादीका गरेर ३४ जना सांसद छन्। सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन २७ सांसद आवश्यक पर्दछ। 

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिमको नेतृत्व कुन पार्टीले गर्ने भन्ने स्पष्ट भइसकेको छैन।

विगतमा पाँच वर्ष माओवादीले प्रदेश सरकारको नेतृत्व गरेकोले यसपटक कांग्रेसले नेतृत्व पाउनुपर्ने कांग्रेस नेताहरुको भनाइ छ। पुनः प्रदेश सरकारको नेतृत्व पाउनु पर्ने सशक्त दाबी माओवादीको पनि छ।

गठबन्धनको भागबण्डामा अन्य प्रदेश भन्दा सुदूरपश्चिमको नेतृत्व प्राथमिकता राख्न सांसदहरुले शक्ति केन्द्रमा दबाब दिइरहेका छन्। सँगै दलका सांसदहरु मुख्यमन्त्री बन्ने गरी संसदीय दलको नेता बन्नका लागि लबिङमा छन्।

कांग्रेसमा ६ जनाको दाबी 
सुदूरपश्चिम प्रदेश सभाकोे ठूलो दल नेपाली कांग्रेसबाट ६ जना सांसद मुख्यमन्त्रीका आंकाक्षी छन्।

मुख्यमन्त्री बन्नका लागि दलको नेता हुनु पर्ने भएकाले संसदीय दलको नेता बन्न सांसदहरुबीच रस्साकस्सी छ। 

प्रधानमन्त्री देउवाका भतिजा प्रकाशबहादुर देउवा, बहादुरसिंह थापा, मेघराज खड्का, दिवानसिंह विष्ट, कमल शाह र विक्रमसिंह धामीले मुख्यमन्त्रीमा दाबी गरेका छन्।

कांग्रेसका निर्वाचित सांसदमध्ये आफू सिनियर भएकाले संसदीय दलको नेतामा स्वभाविक रुपमा दाबी रहने बहादुर सिंह थापा बताउँछन्।

‘विगतमा माओवादीले पाँच वर्ष सरकार चलायो, यसपटक मुख्यमन्त्री कांग्रेसले पाउनुपर्छ,’ उनले भने, ‘संसदीय दलको नेतामा मेरो दाबी रहन्छ।’

उनी संविधानसभा सदस्य समेत हुन्। प्रदेशसभा सदस्यमा निर्वाचित भएका सांसदहरुले मुख्यमन्त्री, मन्त्री, दलको नेताको दौडमा हुनुलाई स्वाभाविक ठान्छन्, अर्का आंकाक्षी मेघराज खड्का।

‘सांसद भइसकेपछि पदमा दाबी गर्नु स्वभाविक हो, तर अन्तिममा सहमतिमा पुगिन्छ भन्ने विश्वास छ,’ उनले भने।

सुदूरपश्चिममा सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन हुने कांग्रेस सांसद विक्रमसिंह धामी बताउँछन्। 

‘पार्टीको शीर्ष नेतृत्वबाट जे निर्णय हुन्छ, त्यसै अनुसार अगाडि बढ्छौं,’ उनले भने।

माओवादीमा खगराजलाई तगारो
नेकपा माओवादी केन्द्रबाट सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टलाई निर्विकल्प मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएको थियो। प्रधानमन्त्री देउवाले चुनावताका भट्टका लागि मत माग्दै भावी मुख्यमन्त्रीको चित्रण गरेका थिए।

भट्ट डडेल्धुरामा ०६४, ०७० र ०७४ मा देउवासँग प्रतिस्पर्धा गरेका थिए। शीर्ष तहमा मुख्यमन्त्री बनाउने सहमति पछि यसपटक भट्ट प्रदेश सभामा चुनाव लडेका थिए।

मुख्यमन्त्रीको दौडमा रहेका भट्टको पार्टी माओवादीमा संसदीय दलको नेतामा कञ्चनपुरबाट निर्वाचित ओमविक्रम भाटले पनि आंकाक्षा देखाएका छन्। उनले सामाजिक सञ्जालबाट संसदीय दलको नेतामा दाबी गर्ने घोषणा नै गरेका छन्।

उनी पनि भट्टलाई संसदीय दलको नेता बन्नबाट रोकेर आफ्नो पक्षमा माहोल तयार गर्न शक्ति केन्द्र धाइरहेका छन्। 

माओवादी केन्द्रका सुदूरपश्चिम सचिव जनक बुढा भने अहिले माओवादीमा भट्टको विकल्प कोही नभएको बताउँछन्।

‘सबैभन्दा सिनियर नेता हुनुहुन्छ, शीर्ष तहमा पनि उहाँलाई नै मुख्यमन्त्री बनाउने सहमति भएको छ,’ उनले भने, ‘सर्वसम्मत उहाँ(भट्ट) नै दलको नेता चुनिनुहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .