राजनीति


‘प्रधानमन्त्रीको विषयले हलो अड्किँदैन, गठबन्धनकै सरकार बन्छ’

मन्त्री कार्की भन्छन्– आज गम्भीर छलफल भयो, भोलि टुंग्याउँछौं
‘प्रधानमन्त्रीको विषयले हलो अड्किँदैन, गठबन्धनकै सरकार बन्छ’

फाइल तस्बिर।


नेपालखबर
पुस ९, २०७९ शनिबार १९:१८, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेको समय नजिकिँदै गर्दा राजनीतिक दलहरू धमाधम सांसदहरूको हस्ताक्षर जुटाउने अभियानमा छन्। एकातिर हस्ताक्षर संकलनको अभियाननै चलिरहँदा अर्कोतर्फ राजनीतिक दलहरू कसरी अघि बढ्ने भन्नेबारेको छलफलमा जुटेका छन्। 

सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले पनि छलफलाई तिव्र बनाएका छन्। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले कुनै औपचारिक निर्णय भने लिन सकेको छैन्। 

सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पहिलो प्रधानमन्त्रीमा आ–आफ्नो दाबी अघि सारेसँग सरकार गठनको विषय पेचिलो बन्दै गएको हो। 

सत्ता गठबन्धनको बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता समेत रहेका सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोलि(आइतबार) बिहान बस्ने बैठकपछि निर्णय आउने बताएका छन्। 

‘खबरहरु सुखदै छन्। आज निर्वाचनपछि सम्भवतः पहिलो पाँच दलीय गठबन्धनको बैठक बसेर अहिलेको विकसित राजनीतिक घटनाक्रमको बारेमा गम्भीर छलफल भएको छ,’ आजको बैठकबारे जानकारी दिँदै कार्कीले भने, ‘आगामी दिनमा कसरी जाने भन्नेबारेमा पनि छलफल भएको छ।’

आजको बैठकमा धेरै विषयमा गम्भीर रुपबाट छलफल भएको र ती छलपलहरु सकारात्मक भएको उनले बताए। 

‘हामीले जनताबाट प्रकट भएको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने भन्दै आजको बैठक सकिएको छ’ उनले भने। 

‘प्रधानमन्त्रीको विषयले हलो अड्किँदैन’
मन्त्री कार्कीले संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीको विषय गौण भएको बताए। 

‘प्रधानमन्त्रीको विषयमा हलो अड्किन्न, प्रधानमन्त्री को पहिलो हुने भन्ने कुरा गौण कुरा हो,’ मन्त्री कार्कीले भने, ‘मुलुकलाई जनताको आकांक्षाअनुसार कसरी अघि बढाउने भन्ने कुरा महत्वपूर्ण हो। गठबन्धनकै नेतृत्वमा सरकार निर्माण हुन्छ।’

भोलि (आइतबार)सम्म निर्णयमा पुग्नपर्ने बताउँदै उनले आफूहरुसँग संवैधानिक बाध्यता रहेको समेत सुनाए। ‘छलफल जारी छ। भोलि हामी निर्णयमा पुग्नपर्ने बाध्यताहरु पनि छन्।’

कार्कीका अनुसार भोलि बिहान बैठक बसेर निर्णय लिइनेछ। उनले सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी पनि गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad