राजनीति


सरकारको परराष्ट्रनीति एउटै हुन नसक्नु दु:खद : अध्यक्ष तिमिल्सिना

सरकारको परराष्ट्रनीति एउटै हुन नसक्नु दु:खद : अध्यक्ष तिमिल्सिना

नेपालखबर
पुस १८, २०७९ सोमबार १७:२१, काठमाडौँ

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको परराष्ट्रनीति एउटै हुन नसकेको गुनासो गरेका छन्।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अन्य मुलुकमा कुनैपनि पार्टीको सरकार बनेपनि एउटै परराष्ट्रनीति भएको तर नेपालमा भने एउटै परराष्ट्रनीति हुन नसकेको बताए।

उनले नेपालमा सत्ता परिवर्तनसँगै परराष्ट्रनीतिहरु पनि परिवर्तन हुने गरेको भन्दै जुनकुनै सरकार आएपनि एउटै परराष्ट्र नीति हुनुपर्नेमा जोड दिए। अध्यक्ष तिमिल्सिनाले नेपालमा सहसचिव, सचिवहरु नै राजनीतिक दलहरुका मान्छे हुने गरेको र आफ्नो स्वार्थपूर्तिका लागि नीति, नियम बनाउँदा प्रणाली बिग्रिएको बताए।

उनले भने, ‘सचिव, सहसचिवहरु पार्टीका मान्छे भइदिँदा समस्या भइरहेको छ। उमेर कम भएको मान्छे ५८ मा उमेरहद बनाएर आफू त्यो स्थानमा हुन चाहनुहुन्छ, ६० वर्ष भएको मान्छे रोकेर आफू नै बस्न चाहनुहुन्छ। म त तपाईंको पार्टीको हजुर, यो ऐन ल्यायौँ भनेर मन्त्रीहरुसँग जान्छन्। त्यसपछि के हुन्छ? हाम्रोमा व्यवहारिक अभ्यास यही नै छ। धेरै यसरी बिग्रिएको छ। हाम्रो परराष्ट्रनीति के हो, अन्य देशमा हेर्दा जुनसुकै सरकार आएपनि हामीलाई हेर्ने एउटै दृष्टिकोण छ। तर हाम्रा त त्यही पार्टीकै मन्त्री फरकफरक भए भने फरक फरक हुन्छ। यस्तो कुरामा नीति अनुसन्धान प्रतिष्ठानले अध्ययन गर्न जरुरी छ।’

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाले पठाएका ५ वटा विधेयक अहिले शुन्यमा पुगेको भन्दै दुःख व्यक्त गरे। उनले आगामी दिनमा मन्त्रिमण्डलको बिस्तार भइसकेपछि सम्बन्धित मन्त्रालयसँग पहिलेका विधेयकहरुलाई नै अघि बढाउन आग्रह गर्ने बताए। उनले आफू अध्यक्ष भइसकेपछिको दोस्रो वर्षदेखिकै विधेयकहरु अहिलेसम्म प्रतिनिधि सभाबाट पास हुन नसकेको भन्दै संसदले लापरबाही गरेर अघि बढे संसदप्रतिको विश्वास गुम्ने बताए।

उनले भने, ‘राष्ट्रिय सभाका धेरै मेहनत गरेर पठाएका ५ वटा विधेयकहरु शुन्यमा पुगे। अस्तित्व बिहीन भए ती अब। ती अब कुनै अस्तित्वमा छैनन्। मैले गर्ने काम अब ती विधेयकहरु प्रधानमन्त्रीज्युलाई र सम्बन्धित मन्त्रालय, जुन मन्त्रालयसँग सम्बन्धित छन्, मन्त्रीज्युहरु नियुक्ति भइसकेपछि गएर अबको विधेयक यही विधेयक लिएर आउनुस् भन्छु। त्यसो भएपछि हामीले धेरै मेहनत गर्नु पर्दैन। किनभने त्यहाँ श्रम, देशको पैसा गएको छ, लापरवाही गर्नु हुँदैन। हामी आएपछि दोस्रो वर्षदेखिका विधेयकहरु नै बाँकी छन्। त्यसो गरेपछि  संसद कसरी विश्वासयोग्य हुन्छ। निष्पक्ष भएर काम गर्दा राजनीतिक नियुक्तिको दबाब कम हुन्छ।’

अध्यक्ष तिमिल्सिनाले सबै पदाधिकारीहरुले निष्पक्ष भएर काम गरेको खण्डमा राजनीतिक नियुक्तिको दबाब कम हुँदै जाने बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .