राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मतको लागि अन्य राजनीतिक दलहरुलाई आग्रह गर्ने निर्णय गरेको छ।
आइतवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले बैठकमा सरकारले प्रश्तुत गर्न लागेको न्यूनतम साझा कार्यक्रमका बारेमा छलफल गरेको बताए।
उनले बैठकमा पार्टीका तर्फबाट महामन्त्री एवं न्यूनतम साझा कार्याक्रम कार्यदलका सदस्य मुकुल ढकालले न्यूनतम साझा कार्यक्रमका बारेमा जानकारी गराएको बताए। उनले न्यूनतम साझा कार्यक्रममा आफ्नो पार्टीले अघि सारेका मुद्दाहरु स्थापित भएको बताए। साथै बैठकमा नवनिर्वाचित सांसदहरुले आफ्नो गृहजिल्लाको भ्रमण गरेको बारेमा पनि जानकारी गराएको बताए।
उनले भने, ‘आज हाम्रो संसदीय दलको बैठक सिंहदरबारमा बस्यो। हामीले विशेष गरी सरकारले प्रश्तुत गर्न लागेको न्यूनतम साझा कार्यक्रम हाम्रो छलफल भयो पार्टीका तर्फबाट महामन्त्री मुकुल ढकाल जो न्यूनतम साझा कार्यक्रमको समितिमा सदस्य हुनुहुन्थ्यो। त्यसमा बनाउँदा के भयो भन्ने छलफल भयो। हाम्रा मुद्दा स्थापित भएका छन् त्यसको बारेमा छलफल भयो, गृह जिल्लामा सांसदहरुको अवस्था जनताको के छ भन्ने बारेमा छलफल भयो। भोलि १० बजे पुनः संसदीय दलको बैठक बस्नेछ। सरकारलाई विश्वासको मतको लागि अन्य राजनीतिक दलहरुलाई आग्रह गर्ने कुरा भयो।’
सांसद परियारले पार्टीको संसदीय दलको बैठक सोमवार बिहान १० बजे पुनः बस्ने बताए।
Shares

प्रतिक्रिया