राजनीति


राष्ट्रिय सहमतिको सरकार बनाउने कसरत : होला त सफल?

राष्ट्रिय सहमतिको सरकार बनाउने कसरत : होला त सफल?

सागर न्यौपाने
पुस २५, २०७९ सोमबार २०:३०, काठमाडौँ

‘विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै होइन, सिंगै ‘हाउस’ विश्वासको मतमा उभिन्छ भन्ने मेरो विश्वास छ,’ सोमबार (२५ पुस) बसेको संसदको पहिलो बैठकबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने।

सोमबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासँग यसकै लागि प्रचण्डले भेट गरेका छन्। देउवा निवास धुम्बाराही पुगेर प्रचण्डले राष्ट्रिय सहमति कायम गरी देशका समस्या समाधान गर्न सबै दल मिलेर जानुपर्ने बताए।  

बिहान आफ्नै दलको बैठक, त्यसपछि संसद् बैठक, लगत्तै सरकारको न्यूनतम साझा कार्यक्रमको सार्वजनिकीकरण र साँझ कांग्रेसका सभापतिसँग छलफल– विश्वासको मत लिनुभन्दा अघिल्लो दिन (२५ पुस) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दिनभर निकै व्यस्त भए।

हुन त उनलाई सात दल र ३ स्वतन्त्रसहित १६९ सांसदको समर्थन छ। तर, प्रचण्डले सबै राजनीतिक दलको समर्थन जुटाउने कोसिस गरिरहेका छन्। मंगलबार (२६ पुस) संसद् बैठकमा विश्वासको मत लिन लागेका उनको ध्यान राष्ट्रिय सहमति कायम गराउन छ। 

सोमबारको पहिलो संसद् बैठकमा बोल्ने अधिकांश नेताहरुले सहमतिमै अघि बढ्नुपर्नेमा जोड दिएपछि प्रधानमन्त्री प्रचण्ड हौसिएका छन्। तीन घण्टा चलेको संसद् बैठकमा १२ राजनीतिक दलका प्रमुख र तीन स्वतन्त्र सांसद बोलेका थिए।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका सांसद चित्रबहादुर केसीबाहेक अन्य १३ जनाले संसदमा पनि दलहरु जान जोड दिए। 

माओवादीको प्रयास
नेकपा माओवादी केन्द्रको सोमबार बिहान बसेको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमति जुटाउने प्रयास भइरहेको भन्दै कांग्रेसलाई पनि विश्वासमा लिने वातावरण बनाउन आफ्ना सांसदलाई निर्देशन दिए।

‘अहिलेसम्म त कांग्रेसले विश्वासको मत दिने विषयमा मुख खोलिसकेको छैन,’ प्रचण्डले दलको बैठकमा राखेको भनाइ उधृत गर्दै एक सांसदले नेपालखबरसँग भने, ‘तर, मैले सभापति शेरबहादुरजीलाई पनि आग्रह गरेको छु विश्वासको मत दिँदा कांग्रेसकै हितमा हुन्छ। तपाईंहरु सबै माननीयज्यूलाई आग्रह छ, त्यसखालको वातावरण बनाउन लागौँ, त्यसो हुँदा राष्ट्रिय सहमतिको सरकार बन्छ।’

एक सांसदका अनुसार कांग्रेसका दोस्रो तहका नेताहरुसँग माओवादीका केही प्रभावशाली सांसदहरुले छलफल र संवाद गरिरहेका छन्।

‘प्रधानमन्त्रीले आज संसद् बैठकमा निकै सन्तुलित धारणा राख्नुभएको छ, उहाँले सबै राजनीतिक दललाई समेट्न खोज्नुभएको छ,’ माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा सांसद माधव सापकोटाले नेपालखबरसँग भने, ‘सबै दलहरुले विश्वासको मत दिने वातावरण भएमा नेपालका केही मुद्दाहरु सम्बोधन गर्ने ढोका खुल्छ।’

संसद् बैठकलगत्तै सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै सत्ता घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि त्यसबारे संकेत गरे। 

‘हामीसँग करिब १८०/१८५ मत छ, त्यसमाथि भोलि ८५/८८ थपियो भने पनि केही अप्ठ्यारो मान्नुपर्दैन,’ बैठकमा ओलीले भने, ‘पानी ग्यासमा नराखेर अन्त पोख्नुको अर्थ छैन सबैले बुझ्नुपर्छ।’

ओलीले व्यंग्यका रुपमा भने वा कांग्रेसका नेतासँग संवाद भएर भने प्रष्ट छैन, तर संसद् बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले राखेको धारणा नरम छ।

‘देश र जनताको बृहत्तर हितमा काम गर्नेछौँ। यो प्रतिनिधि सभामा नेपाली कांग्रेस एकताबद्ध, जिम्मेवार र रचनात्मक भई प्रस्तुत हुनेछ,’ देउवाले भने, ‘जनताका जीवनसँग जोडिएका विषयमा हाम्रो विषेश ध्यान जानेछ।’

तर, कांग्रेसका सांसद प्रदीप पौडेल भने राष्ट्रिय सरकारको  पक्षमा आफूहरु नरहेको बताए।

‘प्रतिपक्षको भूमिका हाम्रा लागि अवसर हो। त्यसैले यो अवसरलाई जतिसक्दो प्रभावकारी ढंगबाट हामीले उपयोग गर्न सक्नुपर्दछ,’ पौडेलले भने, ‘तमाम बेथितिका विरुद्ध हामीले संसदमा आवाजलाई बुलन्द गर्न सक्नुपर्दछ।’

यसबारे कांग्रेसले मंगलबार बिहान (२६ पुस) दलको बैठक बोलाएको छ। 

१० पुसमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन्। यसपटक उनी ७ राजनीतिक दल, ३ स्वतन्त्रसहित १७९ सांसदको समर्थन लिएर प्रधानमन्त्री बनेका हुन्। उनले विश्वासको मत पाए कम्तीमा साढे २ वर्ष सरकारको नेतृत्व गर्नेछन्। कुल २७५ सदस्यीय प्रतिनिधि सभामा विश्वासको मत पाउन १३८ सांसदको समर्थन चाहिन्छ।

राप्रपा अस्थिरताको कारक बन्दैन : राजेन्द्र लिङ्देन
संसदमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले देशका समस्या सामूहिक रुपमा पुरा गर्नुपर्ने बताए। 

‘अहिले कसैले कसैलाई निषेध गरेर म मात्रै अगाडि बढ्छु भन्ने अवस्था छैन,’ उनले भने, ‘संसद्मा यस्तो प्रकारको प्रतिबिम्ब छ, जसमा सबै राजनीति दल र विचारहरु मिलेर मात्रै अगाडि बढ्न सक्छौँ भन्ने जनताको अभिमत छ।’

उनले थपे, ‘हामीभन्दा माथि देश छ, देशलाई शिरमा राखेर देशका समस्याहरुलाई सामूहिक रुपमा सम्बोधन गर्नुपर्छ, राप्रपा देशमा अस्थिरताको कारक बन्ने छैन।’

सरकार छिटो परिवर्तन नहोस् : माधव नेपाल
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले छिटोछिटो सरकार परिवर्तन होस ्भन्ने पक्षमा आफू नरहेको बताए।

‘भोलि त विश्वासको मत लिनु छ। यो कार्यकाल कति दिनको भन्ने आउला, तपाईंहरुको बहुमत संख्या पुगिसकेको छ। सबैले यो देशमा राजनीतिक स्थायित्वको अपेक्षा पनि गरेका छन्,’ नेपालले भने, ‘हामी चाहँदैनौँ छिनछिनमा सरकारहरु परिवर्तन होस्। विगतको अनुभवहरुले हामीलाई केही शिक्षा दिएको छ। विगतको शिक्षाबाट राम्रो ढंगले शिक्षा ग्रहण गरेर अघि बढ्न सक्नु पर्छ।’

‘नवनियुक्त हुनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई म शुभकामना दिन चाहान्छु। उहाँले केही गरेर देखाउने, नयाँ ढंगले अघि बढ्ने, नमुना काम गर्ने, सबै क्षेत्रमा सुधार देखाउने बताउनु भएको छ। जनताले अनुभूति गर्नेगरी अघि बढोस्, बोली र व्यवहारमा समान्ज्यस्य आओस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .