प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र सभामुखको निर्वाचनमा पनि प्रतिपक्षी दल नेपाली कांग्रेससहित सहमतिको वातावरण बनाउने प्रयासमा आफू भएको बताएका छन्।
शनिबार राजधानीमा सम्पादकहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठकमार्फत सहमति खोज्ने प्रयास भइरहेको बताए।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि आगामी ३ माघमा सर्वदलीय बैठक बोलाइएको जानकारी दिँदै प्रचण्डले भने, ‘राष्ट्रिय सहमति भएको छ। अब राष्ट्रिय इस्युमा पनि सहमति गरेर अघि बढियो भने ऐतिहासिक हुन्छ। ३ गतेको बैठकमा यसबारे छलफल हुन्छ।’
अब कांग्रेसले मलाई राष्ट्रपतिमा भोट हालेको जस्तोगरी सभामुख बन्छ कि बन्दैन भन्ने हो,’ प्रचण्डले भने, ‘मेरो कोसिस सहमति बनाएर जाउँ भन्ने छ।’
राष्ट्रपति र सभामुख कसलाई बनाउने भन्नेबारे लिखित सहमति नभएको पनि उनले बताए।
प्रधानमन्त्री प्रचण्डले आजै बिहानमात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। सो भेटमा भोलि बेलुकीसम्ममा सरकारले पूर्णता पाउने बारे छलफल भएको प्रचण्डले बताए।
Shares

प्रतिक्रिया