राजनीति


कांग्रेस प्रवक्ता भन्छन् : प्रचण्डलाई विश्वासको मत र राष्ट्रपतिबारे पार्टीमा विवाद छैन

शेखर समूहको निष्कर्ष भन्दै भ्रम फैल्याइएको दाबी
कांग्रेस प्रवक्ता भन्छन् : प्रचण्डलाई विश्वासको मत र राष्ट्रपतिबारे पार्टीमा विवाद छैन

फाइल तस्बिर


नेपालखबर
माघ ९, २०७९ सोमबार १२:३, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्रीलाई दिइएको विश्वासको मत र राष्ट्रपति निर्वाचनलाई लिएर पार्टीभित्र कुनै किसिमको मतभेद नरहेको बताएका छन्। 

पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा भएको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसहितको छलफलपछि उनले यस्तो भनेका हुन्। 

बैठकले राष्ट्रपति निर्वाचनलाई माघ २९ भन्दा उता नलैजान पनि भनेको छ। महतले कानुनमा समस्या भए सुल्झाएर पनि माघ २९ भित्रै राष्ट्रपति चुनाव हुनुपर्ने बताए। 

'हामीबीच राष्ट्रपति निर्वाचन केन्द्रित छलफल भयो। राष्ट्रपति निर्वाचन समयमा हुनुपर्छ', उनले भने, 'ऐनमा समस्या छन् भने समयमा समाप्त पार्नुपर्छ भन्ने कुरामा सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ।' 

उनले माघ २९ भित्र राष्ट्रपति निर्वाचन सम्पन्न गर्ने कोसिसमा सबै लाग्नुपर्ने बताए। 'प्राविधिक समस्यालाई हटाउने काम सरकारको हो। फागुन २९ भन्दा पर लगियो भने कुनै हालतमा स्वीकार्दैनौँ', उनले भने, 'उता लैजाँदा समस्या हुन्छ। प्राविधिक कुरा सरकारले मिलाओस्।'

महतले आइतवार भएको डा. शेखर कोइराला समूहको भेलाको निष्कर्षलाई लिएर भ्रम फैल्याइएको पनि दाबी गरे।

देउवा निवासको बैठकमा सहभागी डा. कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको निष्कर्ष निकालेको भनेर आएको समाचार सही नभएको बताएको महतले सुनाए। 

'सरकारलाई विश्वासको मत दिनु गलत भयो भन्ने इतर समूहको हिजोको निष्कर्षसम्बन्धी समाचार भ्रामक हो भनेर डा. शेखरले बैठकमा भन्नु भएको छ', उनले भने, 'उहाँले भन्दै नभनेको र हुँदै नभएको कुरा सार्वजनिक भयो भन्नुभएको छ। त्यस्तो कुरा हिजोको बैठकमा भएको छैन। राष्ट्रपतिको निर्वाचनमा हामी एक ठाउँमा छौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .