श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री भएको १४ दिनपछि डोलप्रसाद अर्यालले मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाटै बाहिरिने चेतावनी दिइसकेको थियो।
उस्तै परे सरकारबाटै बाहिरिनु पर्ने अवस्थामा पुगेका श्रममन्त्री अर्यालको भने पहिलो पत्रकार सम्मेलन थियो यो। दिउँसो ४ बजेका लागि पत्रकारलाई बोलाइएको थियो। सवा ४ बजे मन्त्री अर्याल श्रम मन्त्रालयको भुइँ तलाको सभाहलमा पुग्दा एक जना पनि कर्मचारी सभाहलमा थिएनन्।
हलमा करिब २०/२२ जना पत्रकार मन्त्रीलाई कुरिरहेका थिए। १४ दिनमै मन्त्रालय छाड्नु पर्ने अवस्था नजिक पुगेका उनको मुहारमा हतासा प्रष्ट थियो। बिहान पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई भेटेर साँझसम्ममा आफ्नो पार्टीले गृह मन्त्रालय नपाए सरकारबाटै बाहिरिने चेतावनी दिएर फर्किएका थिए।
त्यतिबेलासम्म पनि प्रधानमन्त्री प्रचण्ड गृह नदिने अडानमा अडिग थिए। आफूले गरेका कामका फेहरिस्त सुनाउन पत्रकार सम्मेलन गरेका श्रम मन्त्रीसँग मन्त्रालयका सचिव समेत थिएनन्। सहसचिव पनि पुगेका थिएनन्।
आफू एक्लै भएपछि धकाउँदै उनी कुर्सीमा बसे। उनका सचिवालयका कर्मचारीहरु भने कोही माथिल्लो तलातिर कर्मचारी बोलाउन गए, कोही फोन लगाउन थाले। केहीबेरपछि सहसचिव डण्डुराज घिमिरे सभाहलमा पुगे, अनि बल्ल पत्रकार सम्मेलन सुरु भएको थियो।
पत्रकार सम्मेलनमा मन्त्री अर्यालले यो १४ दिनमा आफूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन जाँचमा वैदेशिक रोजगारीमा जानेहरुका लागि राखिएको छुट्टै डेस्क हटाएको र बिरामी तथा अशक्तहरुका लागि सिंहदरबारमा सार्वजनिक सवारी पनि पस्न पाउने व्यवस्था गरिएको सुनाए। यी दुवै काम भने गृह मन्त्रालयले गरेका हुन्। तर ती काम आफ्नो पहलमा भएको मन्त्री डोलप्रसादको दाबी छ।
यस्तै मन्त्री अर्यालले अर्को उपलब्धिका रुपमा सार्वजनिक गरेको विषय हो कल सेन्टर। श्रम मन्त्रालयमा रहेको कल सेन्टरको नाम फेरेको पनि मन्त्री अर्यालले बताए। अब कल सेन्टरलाई श्रमाधान बनाइएको बताए।
६ महिनाभित्रमा गुनासो सम्बोधनको टाइमकार्ड लागू गर्ने र मोबाइल एप पनि सञ्चालन गर्ने श्रममन्त्री अर्यालले योजना सुनाए। पत्रकार सम्मेलनमा श्रमिकमाथि म्यानपावर कम्पनीले चर्को शुल्क लिएर ठगी गरिरहेको विषयमा प्रश्न गर्दा भने उनले आलटाल गरे।
अहिले अध्ययन गरिरहेको बताउँदै अर्यालले भने, ‘फाइलहरु अध्ययन गरिरहेको छु। संस्थागत र व्यक्तिगत ठगीलाई कसरी समाधान गर्न सकिन्छ अध्ययन गर्दैछु। तर म म्यानपावर कम्पनीलाई मात्रै खराब भन्ने छैन।’
मन्त्री अर्याल म्यानपावर कम्पनीकै कर्मचारी हुन्। सुरुदेखि नै उनले म्यानपावर कम्पनीलाई कारबाही गर्न आनाकानी गर्दै आएका छन्। अहिले वैदेशिक रोजगारीमा खाडीका देश र मलेसिया जानेले सरदर २ लाख ५० हजार रुपैयाँ बुझाउँछन्।
प्रतिक्रिया