नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धनमा समस्या पैदा गर्न खोजिएको बताएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकमा ब्रिफिङका क्रममा प्रधानमन्त्रीसमेत रहेका उनले यस्तो बताएका हुन्।
नेताहरुको कार्यविभाजनसम्बन्धी मूल विषयमा प्रवेश नै नगरी स्थगित भएको उक्त बैठकमा प्रचण्डले छोटो ब्रिफिङ गरेका थिए।
यसअघिको पदाधिकारी बैठकले तय गरेको नेताहरुको कार्यविभाजन तथा पद बाँडफाँटबारे बिहीबारको बैठकमा कुनै कुरा नभएको एकजना स्थायी समिति सदस्यले बताएका छन्।
उनले बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्रीमा फेरि फर्काउन आफूलाई चौतर्फी दबाब परेको पनि खुलाएका छन्।
'रविजीको पार्टीबाट अहिले नै गृहमन्त्री बनाउनुपर्यो भनेर चौतर्फी दबाब छ', उनले नेताहरुलाई ब्रिफिङका क्रममा भने, 'आजै विराटनगर गएर केपी ओलीजीले पनि अलिकति बोल्नु भएछ, उहाँले बोलेको मैले सुनेरै यहाँ आएको छु।'
उनले माघ १३ को सर्वोच्चको फैसलापछि नागरिकता अवैध ठहर गर्दै सर्वोच्च अदालतले गैरसांसदको हैसियतमा पुर्याइदिएका रवि लामिछानेको हकमा राहदानी विवाद अझै बाँकी रहेको बताए।
'अहिले पनि उहाँ (रवि) का राहदानीसहितका केस बाँकी नै छन्', उनले भने, 'यसबारे अझै विस्तृत छलफल गर्नुछ। त्यही भएर आजको बैठक स्थगित गरौँ।'
प्रचण्डले गत पुस १० गते बनेको सात दलीय सत्ता गठबन्धनमा समस्या पैदा गर्न खोजिएको स्वीकारेका छन्।
'सत्ता समीकरण र गठबन्धनमा समस्या पैदा गर्न खोजेका छन्। तर मलाई के लाग्छ भने अहिले नै सत्ता गठबन्धनमा संकट पर्दैन', उनले भने, 'केही समस्या नदेखिएको होइन। तर अहिले नै यसकै कारण समीकरण हेरफेर हुने भन्ने सम्भावना छैन।'
प्रतिक्रिया