ad ad

राजनीति


भारतीय स्थल सेनाध्यक्ष पाण्डेसहित ११ पूर्वप्रमुख फागुन ५ गते नेपाल आउँदै

भारतीय स्थल सेनाध्यक्ष पाण्डेसहित ११ पूर्वप्रमुख फागुन ५ गते नेपाल आउँदै

उजिर कार्की
माघ २३, २०७९ सोमबार १९:२९, काठमाडौँ

भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन्। नेपाली सेनाको विशेष निमन्त्रणामा स्थल सेनाध्यक्ष पाण्डे फागुन पहिलो साता आउन लागेका हुन्। 

नेपाली सेनाले भारतीय सेनाका पूर्व प्रमुखलाई पनि आफ्नो २६० औं स्थापना दिवसको अवसरमा निमन्त्रणा गरेको छ। भारतीय स्थल सेनाका ११ जना पूर्व प्रमुखलाई निमन्त्रणा गरिएको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए। 

पूर्वप्रमुखहरु विश्वनाथ शर्मा, शंकर रोय चौधरी, वेदप्रकाश मल्लिक, सुन्दराराजन पद्मनभन, निर्मलचन्दर बिज, जोगिन्द्र जसवन्त सिंह, दीपक कपुर, विजयकुमार सिंह, विक्रम सिंह, दलवीर सिंह र मनोज मुकुन्द नरवानेलाई सेनाले निमन्त्रणा गरेको छ। 

उनीहरु ५ गते आउने र ८ गते फर्किने सेनाले जनाएको छ। 

‘हामीले हाल भारतमा रहेका स्थल सेनाका बहालवाला र पूर्वप्रमुखहरुलाई निमन्त्रणा गरेका छौं। आशा छ, सबै उपस्थित हुनुहुनेछ। केही दिनमा को को उपस्थित हुनुहुन्छ भन्ने निश्चित हुन्छ,’ प्रवक्ता भण्डारीले नेपालखबरसँग भने। 

नेपाली सेनाले १० वर्षपछि विशेष कार्यक्रमकाबीच आफ्नो स्थापना दिवस मनाउन लागेको हो। यसअघि २५० औं स्थापना दिवश पनि विशेष कार्यक्रमकाबीच मनाएको थियो।

नेपाली सेना र भारतीय सेनाबीच एकअर्काका प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन छ। नेपाली सेनाका प्रमुखलाई पनि भारतमा मानार्थ महारथीको सम्मान दिइँदै आएको छ। 

भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे गत भदौ १९ गते ५ दिने नेपाल भ्रमणमा आएका थिए। नेपाली सेनाले त्यतिबेला उनलाई मानार्थ महारथीको सम्मान दिएको थियो। 

नेपाली सेनाका ५ वटा कम्पनी स्थापना भएको २६० वर्ष पूरा भएको छ। १८१९ मा पृथ्वीनारायण शाहले ५ वटा कम्पनी स्थापना गरेका थिए। 

श्रीनाथ, कालीबक्स, सबुज, गोरख र बर्दबाणी नामका कम्पनी पहिलो पटक स्थापना भएका थिए। पछि यीमध्ये केहीको नाम परिवर्तन भएको छ। गोरख नामका अरु स्थापना भएपछि यसलाई पुरानो गोरख भन्न थालिएको छ। 

बर्दवाणी कम्पनी पनि जंगबहादुरको पालामा बर्दबहादुर कम्पनीमा परिवर्तन भयो। नेपाल चीन युद्धमा बहादुरी देखाएको भन्दै यो कम्पनीलाई बर्दवाण्ीबाट बर्दबहादुरमा परिणत गरिएको थियो। 

कालीबक्स गण पनि हाल इन्जिनियरिङ गणमा रुपान्तरण भएको छ। नेपाली सेनाले अबदेखि भने नियमित स्थापना दिवस मनाउने भएको छ। यसअघि स्थापना दिवस मनाए पनि कतिऔं स्थापना दिवस भन्ने उल्लेख गरिँदैनथ्यो। आगामी वर्ष २६१ औं र अर्को वर्ष २६२ औं हुँदै नियमित मनाउन थाल्ने पनि प्रवक्ता भण्डारीले बताए। 

सेना दिवसको अवसरमा फागुन ५ गते वीर स्मारक छाउनीमा श्रद्धाञ्जली अर्पणको कार्यक्रम हुनेछ। फागुन ६ गते सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रम गर्ने सेनाको तयारी छ। 

सो अवसरमा ५५५ वटा मादल एकसाथ बजाउँदै विशेष प्रस्तुति गरिनेछ। भारतीय सेना र बेलायती सेनाले पनि विशेष ब्यान्डसहितको प्रस्तुति दिनेछन्। सैनिक मञ्च र छाउनीको स्मारकमा वीरगति प्राप्त सैनिकको सम्झनामा अखण्ड बत्ती बालिनेछ। 

फागुन ७ गते जंगी अड्डामा परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सांस्कृतिक कार्यक्रम हुने तय भएको छ। ७ गते नै नेपाली सेनाको मुखपत्र सिपाही विमोचन गरिनेछ। यस्तै सैनिक इतिहाससम्बन्धी पुस्तक पनि विमोजन गरिने सेनाले जनाएको छ। 

नेपाली सेनाले स्थापना दिवसकै अवसरमा यसअघि फोटो प्रदर्शनी गरेको थियो। यस्तै विभिन्न खेलकुद प्रतियोगिता पनि सञ्चालन गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .