यसैसाता काठमाडौँ भ्रमणमा आएकी यूएसएआईडीकी प्रशासक समान्था पावरले नेपाललाई भूराजनीतिक वा सुरक्षाको कारणले नभई साढे सात दशक लामो द्विपक्षीय सम्बन्धको निरन्तरता र नेपालको समृद्धिका लागि सहयोग गरिरहेको बताइन्।
तर, नेपालका दुई विशाल छिमेकीहरु चीन र भारतको हैसियत विश्वमञ्चमा चुलिँदै जाँदा नेपालको भूराजनीतिक महत्व बढिरहेको र त्यसैकारण काठमाडौँमा पश्चिमा शक्ति, खासगरी अमेरिकाको सक्रियता बढेको विश्लेषण हुन थालेको वर्षौं भइसकेको छ।
छिमेकीहरुको उन्नति र खासगरी चीनसँग अमेरिकाको प्रतिस्पर्धाका कारण काठमाडौँको भूराजनीतिक भाउ केही मात्रामा बढेको भए पनि त्यसले सिर्जना गर्ने अवसरको लाभ उठाउन र चुनौतीको सामना गर्न आवश्यक तयारी नेपालसँग नदेखिएको कूटनीतिक मामिलाका जानकारहरुको ठम्याइ छ।
प्रशासक पावरअघि अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौँ आएकी थिइन्। अमेरिकाप्रति नेपालको नयाँ सरकारको धारणा बुझ्न आएकी उनले प्रधानमन्त्री पुष्पमकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री विमला राईलाई भेटेकी थिइन्।
अर्कोसाता दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री आफ्रिन अख्तर पनि काठमाडौँ आउँदैछिन्।
तीन सातामा अमेरिकाले तीन उच्च अधिकारीहरुलाई नेपाल पठाएसँगै नेपालमा अमेरिकाको चाहनाको लेखाजोखा पनि भइरहेको छ।
परराष्ट्र मन्त्रालय अमेरिकी अधिकारीहरुलाई स्वागत गर्न मात्र व्यस्त छैन। अन्य पश्चिमा अधिकारीहरु पनि निरन्तर नेपाल भ्रमणमा छन्।
अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली संघकी आयुक्त युटा उर्पलेननले पनि काठमाडौँ भ्रमण गरिन्। उनले पनि बुधबार प्रधानमन्त्री प्रचण्डसहित सरकारी अधिकारीहरुलाई भेटेकी छन्।
उर्पलेननले काठमाडौँमै यूएसएआईडीकी प्रशासक पावरलाई समेत भेटेर छलफल गरेकी छन्। उनीहरुबीच यूएसआईडी र युरोपेली संघबीचको निकट सम्बन्ध कायम राख्ने र नेपालसहित विश्वको विकासलाई सघाउने विषयमा छलफल भएको यूएसएआईडीले जनाएको छ।
त्यस्तै बेलायती रक्षा मन्त्रालयका एक अधिकार एन्ड्रयु मोरिसनले पनि उच्च राजनीतिक भेटघाट गरेका छन्।
पछिल्लो समय भइरहेका धेरैजसो भ्रमण नियमित र जरुरी भए पनि केही भ्रमणहरुले भने नेपालको भूरणनीतिक ‘पोजिसन’ मा सुधार भएको देखिने डेनमार्कका लागि पूर्वराजदूत विजयकान्त कर्ण बताउँछन्।
तर, त्यसको उपयोग गर्ने मामिलामा नेपाल पछि परेको र नेपालको चुनौती पनि बढेको उनको विश्लेषण छ।
‘नेपालको भूरणनीतिक पोजिसन अलिकति सुधार भएको हो,’ उनले भने, ‘तर, ध्यान दिनुपर्ने कुरा के हो भने यसो हुँदा खालि महत्व मात्र बढ्दैन, अप्ठेरो पनि बढ्छ।’
भूराजनीतिक प्रतिस्पर्धा नेपालका लागि ठूलो अवसर पनि भएको उनको ठम्याइ छ। तर, त्यसबाट लाभ लिने योजना नदेखिएको उनले बताए।
‘यो अवसरबाट नेपालले प्रविधि, लगानी, वैदेशिक सहयोग, अनुदान, विकासजस्ता कुरामा योगदान प्राप्त गर्न सक्छ। तर, यसको लेखाजोखा र सोही अनुरुपको प्रयास भएको देखिँदैन,’ कर्णले भने।
Shares
प्रतिक्रिया