नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनका लागि गरिएको आठ दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन्।
सुर्खेत विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा उनले गत शुक्रबार बनेको आठ दलीय गठबन्धन अर्को निर्वाचनसम्म जाने बताएका हुन्।
‘आँट भएका, विचार भएका दलहरू एक ठाउँमा छौँ। यो गठबन्धन टिक्छ, चुनावसम्म जान्छ,’ अध्यक्ष नेपालले भने, ‘अहिले आठ दलीय गठबन्धन आगामी चुनावसम्म लैजाने गरि हाम्रो प्रयास रहन्छ।’
उनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी हुने पनि बताए। ‘रामचन्द्र पौडेल जीलाई राष्ट्रपति उम्मेदवार खडा गरेका छौँ,’ नेपालले भने, ‘हामीले अघि सारेका उम्मेदवार पौडेल विजय हुनुहुन्छ।’
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वार्ता गरेपछि २०७५ को दिशामा फर्काउन सकिन्छ कि भनेर पहल गरिए पनि सफल नभएको बताए। ‘केपी जीले हामीसँग वार्ता गरेपछि हामीले ०७५ को दिशामा फर्काउन सकिन्छ कि भनेर पहल थालेका थियौँ,’ अध्यक्ष नेपालले भने, ‘तर हुन सकेन।’
उनले विचार, सिद्धान्त, कार्यशैली मिले आफूहरु पार्टी एकताको पक्षमा रहेको पनि बताए। ‘हामी विचारको आधारमा सहकार्य गर्ने सोच अगाडि सारेका छौँ। अझै विचार, सिद्धान्त, कार्यशैली मिल्छ भने हामी पार्टी एकताको पक्षमा छौं। नभए हामी एकता गर्न चाहन्नौँ,’ उनले भने, ‘अहिले राष्ट्रिय राजनीतिमा क्रान्तिकारी धार भएको पार्टीको रुपमा एकीकृतलाई अगाडि बढाउन चाहिरहेका छौँ।’
अध्यक्ष नेपालले राजतन्त्र पुनस्र्थापना गर्न चाहने र एमालेले अनेक खालका तान्डवका बीचमा खेल खेलिरहेकोसमेत टिप्पणी गरे।
प्रतिक्रिया