ad ad

राजनीति


राष्ट्रपति भण्डारीको कार्यकाल सफल, सही, उत्कृष्ट र मर्यादित : ओली

राष्ट्रपति भण्डारीको कार्यकाल सफल, सही, उत्कृष्ट र मर्यादित : ओली

फाइल फोटाे


नेपालखबर
फागुन २४, २०७९ बुधबार १७:२८, काठमाडौँ

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताएका छन्।

राष्ट्रपति भण्डारीको सफल, सही, उत्कृष्ट र मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएको उल्लेख गर्दै अध्यक्ष ओलीले उनको यस खालको भूमिका नेपाल राष्ट्र र नेपाली महिलाहरुको लागि गर्वको विषय भएको बताए।

क्षुद्र राजनीतिक स्वार्थ प्रेरितहरुले मात्रै राष्ट्रपतिजस्तो सम्मानित ओहोदामा रहेकी भण्डारीको मर्यादा नगरेको उनको भनाई थियो।

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुधबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुुनु सामान्य विषय नभएको बताए। 

अध्यक्ष ओलीले भने, ‘राजनीतिक स्वार्थ प्रेरितहरुले आफ्नो स्वार्थमा कतै ठेस लाग्दा वा आफ्ना संकीर्ण क्षुद्र स्वार्थहरु पूरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहोदाको समेतको मर्यादा नगरेर बकबास गरेका हुन सक्छन्। ती कुराको खास अर्थ छैन। आज हामीले गौरव गर्नु पर्दछ। आज महिला दिदीबहिनीहरुले गौरव गर्नुपर्दछ कि विद्या भण्डारी जस्तो महिला नेतृ, तपाईहरुको आन्दोलनबाट हुर्किएर गएको महिला नेतृले, त्यस आन्दोलनको उपजले त्यहाँ पुगेको व्यक्तिले देशलाई ७ वर्षसम्म राष्ट्रप्रमुखको हैसियत भोजपुरको एउटा गाउँमा जन्मिएर, गाउँको पाठशालाको शिक्षादिक्षाबाट आएर, त्यस्ता ठाउँबाट आएर संघर्ष गर्दै राष्ट्रपतिको जिम्मेवारी बहन गर्ने।’ 

अध्यक्ष ओलीले महिलाहरु अव प्रधानमन्त्री पनि बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास भने गर्नुपर्ने बताए। नेपालमा महिला आन्दोलनले धेरै ठूलो उपलब्धि हासिल गरेको उनले बताए।

राष्ट्रपतिको तेस्रो कार्यकालका लागि भोलि (फागुन २५ गते) निर्वाचन भएसँगै भण्डारीको कार्यकाल फागुन २९ गतेदेखि सकिँदैछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .