राजनीति


जनयुद्धलाई अपराधीकरण नगर्न विप्लवको चेतावनी

जनयुद्धलाई अपराधीकरण नगर्न विप्लवको चेतावनी

नेपालखबर
चैत १, २०७९ बुधबार १६:४२, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न चेतावनी दिएका छन्।

माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरुले आफ्नो जीवनको र नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको ख्याल गर्नुपर्ने महासचिव विप्लवको धम्कीमिश्रित प्रतिक्रिया थियो।

बुधबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उनले जनताले लडेको त्यो युद्धलाई अपराधीकरण गर्ने काम सम्भव नभएको पनि पटकपटक दोहोर्याए।

उनले भने, ‘यसलाई जो अपराधीकरण गर्ने उद्देश्यले आएको छ नि, ऊसले आफ्नो जीवनको पनि ख्याल गर्नु पर्छ। र, उसले नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको पनि ख्याल गर्नुपर्छ। सजिलै जाला भन्ने कसैले सोचेको छ भने त्यो असम्भव छ नेपालमा।’

जनयुद्धलाई अपराधीकरण गर्ने खालका गतिविधिमा संलग्नहरुलाई छुट दिन नसकिने महासचिव विप्लवको भनाई थियो। 

महासचिव विप्लवले दलाल, पूजीवादी सत्ताको अन्त्य गर्दै वैज्ञानिक समाजवादको स्थापना गर्न नेपालमा कम्युनिष्ट पार्टीहरुबीचको एकता प्रक्रियालाई सुरु गरेको बताए। नेपाल राष्ट्रलाई स्वाधिन बनाउने मूल उद्देश्य अन्तरगत आफूहरुले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियान सुरु गरेको उनले दाबी गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .