ad ad

राजनीति


दुई युवाको काँधमा एमाले संसदीय दल, ओलीको निर्णयप्रति भित्रभित्रै गुनासो

दुई युवाको काँधमा एमाले संसदीय दल, ओलीको निर्णयप्रति भित्रभित्रै गुनासो

सागर न्यौपाने
चैत ९, २०७९ बिहिबार २१:४६, काठमाडौँ

नेकपा एमालेले आफ्नो संसदीय दल हाँक्ने जिम्मा दुई युवाको काँधमा छाडिदिएको छ। संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकले नै सांसदहरुको नेतृत्व गर्छन्। 

हाल ७८ सांसद रहेको एमाले संसदीय दलको नेता अध्यक्ष केपी शर्मा ओली छन्। तर, त्यसपछिको महत्वपूर्ण पदमा अनुभवी र भेट्रान नेतालाई पछि पार्दै गण्डकी र बागमतीका दुई युवाले अवसर पाए।

संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०७९ फागुन २५ गते पर्वतका सांसद पदम गिरीलाई प्रमुख सचेतक र पहिलो पटक संसद् प्रवेश गरेका महेश बर्ताैलालाई सचेतकमा मनोननित गरे।

गिरी ४६ र बर्तौला ४० वर्षका हुन्। दुवै विद्यार्थी राजनीति गरेर संसदीय यात्रा तय गरेका नेता हुन्। दुवैले शालिन, अनुशासित, अध्ययनशील र संगठकको छवि बनाएका छन्। त्यसका अलावा दुवै अध्यक्ष ओलीप्रति बफादार छन्।

सांसद गिरीले अघिल्लो पटकको चुनाव पनि जितेका थिए। तर, बर्ताैला नयाँ अनुहार हुन्। जसले संसद् पुग्नेबित्तिकै  महत्वपूर्ण जिम्मेवारी हात पार्न सफल भए।  

बागमती प्रदेश अन्तर्गत पर्ने मकवानपुर २ बाट नेकपा एकीकृत समाजवादी पार्टीका नेता विरोध खतिवडालाई पराजित गरेर बर्ताैला निर्वाचित भएका थिए। 

संसदीय राजनीतिका धुरन्धर अनुभवीलाई पछि पार्दै गिरी र बर्ताैला अगाडि सारिएपछि केही नेताहरु भने बिच्किएका छन्। वरिष्ठलाई पाखा लगाएर कनिष्ठलाई संसदभित्र हाबी गराउन खोजिएको असन्तुष्टहरुको टिप्पणी छ। 

तर, प्रमुख सचेतक र सचेतक छान्ने अधिकार संसदीय दलको नेतालाई रहेकाले असन्तुष्टहरुले पनि मुख फोरेर विरोध भने गर्न सकेका छैनन्।

‘सिनियर नेता कमरेडहरुले आफू पर्छु कि भनेर सोच्नुभएको थियो, उहाँहरुले अध्यक्षसँग त्यो अपेक्षा पनि राख्नुभएको थियो,’ एक पदाधिकारीले नेपालखबरसँग भने, ‘तर, जुनियरलाई जिम्मेवारी दिइएको भनेर भित्रभित्र गुनासो गर्नुभएको छ।’ 

तर, यसबारेमा ओलीले पार्टीभित्र भने छलफल नचलाएको एक पदाधिकारीले बताए, ‘यो अध्यक्षको एकल निर्णय हो, यसबारे पार्टीभित्र छलफल भएको मलाई थाहा छैन, अनौपचारिक भएको हो कि?’

किन छानिए युवा?
अध्यक्ष ओलीले संसदमा प्रभावकारी भूमिका खेल्ने, छिटो र चलाख नेता छानेरै प्रमुख सचेतक र सचेतक बनाएको नेताहरु बताउँछन्।

उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार दुवै जना राम्रो सम्भावना बोकेका नेता हुन्।

‘संसदमा फूर्तिलो र छिटो निर्णय गर्नसक्ने नेताको आवश्यकता पर्छ, अबको संसद गतिशील हुनैपर्छ,’ गुरुङले नेपालखबरसँग भने, ‘दलको नेताको अनुपस्थितिमा पनि संसदको एजेन्डा बनाउन सक्ने सांसदलाई अवसर दिइएको हो।’

के भन्छन् गिरी?
पदम गिरी ४२ दिन स्वास्थ्यमन्त्री पनि भए। उनी अध्यक्ष केपी शर्मा ओलीलाई संसदभित्र सहयोग गर्ने नेता मध्यमा पर्छन्। आफू नयाँ पुस्ताको भएकाले महत्वपूर्ण जिम्मेवारी पाएको गिरी बताउँछन्। 

‘संसदीय अभ्यासमा यसको भूमिका ठूलो छ,’ गिरीले नेपालखबरसँग भने, ‘नयाँ पुस्तालाई अगाडि सार्दा संसदमा प्रभावकारी काम हुन्छ भन्ने नेतृत्वको बुझाइ होला। समग्र संसदभित्रको अहिलेको अवस्थाका कारण दलको हितका निम्ति आवश्यक ठानेर हुनसक्छ।’ 

‘जनताका मुद्दा उठाउन मात्र होइन, संसदमा समयमै परफेक्ट्ली उठाउन क्षमता चाहिन्छ, यो गह्रुङ्गो र महत्वपूर्ण जिम्मेवारी हो,’ उनले थपे, ‘संसदभित्र कस्ता एजेन्डा राख्ने? जनताका चासो र सरोकारका विषय उठाउने, कार्यव्यवस्था परामर्श समितिमा समन्वय गर्ने काम प्रमुख सचेतकको हुन्छ।’ 

पार्टीभित्र वरिष्ठ नेताहरुले अन्य जिम्मेवारी पाइरहेकै उनको भनाइ छ।

पर्वतमा गिरीले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेका छन्। ०७४ सालमा एमाले–माओवादी गठबन्धनबाट चुनाव जितेका उनी यसपटक एक्लै जित्न सफल भए। अब उनी सो क्षेत्रका लागि बलियो र अनुभवी नेता भएको ओलीको बुझाइ छ।

यस्तै, हेटौँडाबाट निर्वाचित बर्तौलालाई पनि नयाँ पुस्ताले रुचाएकैले उनले कांग्रेस–माओवादी–एकीकृत समाजवादीका उम्मेदवार हराउन सफल भएको ओलीको विश्लेषण छ।

सचेतक भएपछि अहिले उनले दैनिकजसो उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङसँग भेट गरिरहेका छन्। संसद्, सांसदको भूमिका, सचेतकको व्यवहार लगायतका विषयमा उनी नेम्वाङबाट जानकारी लिइरहेका छन्।

त्यसबाहेक दलकै सांसदहरुभित्र कसरी समन्वय गर्ने भन्नेबारे जानकारी लिइरहेका छन्। 

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को धारा २८ मा सचेतकले गर्ने काम उल्लेख छ।  सचेतकले संसदीय दलका नेताको निर्देशन बमोजिम ह्विप जारी गर्ने लगायतका काम गर्न सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .