माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले नेता खगराज अधिकारी सरकारलाई दिएको समर्थन फिर्ता लिन र नयाँ सरकार गठन प्रक्रिया थाल्न निर्देशन दिएसँगै माओवादी संसदीय दल सरकार छाड्न तयार भएको हो।
सरकार छाड्ने तयारीसहित माओवादी संसदीय दलका नेता तथा भौतिक योजनामन्त्री हरिबहादुर चुमानले शुक्रबारको लागि संसदीय दलको बैठक बोलाएका छन्।
चुमानले भने, ‘अध्यक्षले सरकारबाट बाहिरिन निर्देशन दिनुभयो। अब बस्ने कुरा भएन। भोलिको बैठकले निर्णय गर्छ।’
कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे नयाँ सरकार गठनको तारतम्य मिलाउन काठमाडौंमै छन्। उनले राष्ट्रपति र उपराष्ट्रपति चुनावलगत्तै गण्डकीको एमाले–माओवादी गठबन्धन तोडाउन शीर्ष नेतृत्व गुहारेका थिए।
प्रधानमन्त्री प्रचण्डले मंगलबार गोर्खामा बाटो उद्घाटन गर्दै प्रदेश सरकार फेरबदल हुने र गठबन्धनबीच आलोपालो हुने बताएका थिए। यसले पाण्डेलाई उत्साहित बनायो।
लगत्तै चुमानले नयाँ सरकारमा आफैं सुरुमा मुख्यमन्त्री हुने चाहना सार्वजनिक पनि गरे। तर, ८ सांसद रहेको माओवादीलाई २२ सांसद रहेको नेपाली कांग्रेस मुख्यमन्त्री दिन तयार थिएन। अझ, कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पान्डेलाई प्रचण्ड स्वयंले चुनावताका भावी मुख्यमन्त्री घोषणा गरेका थिए।
माओवादीका मन्त्रीको राजीनामा र समर्थन फिर्तासँगै गण्डकीमा खगराज नेतृत्व सरकार फेरिने छ। खगराज एमालेका २२, माओवादीका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसदको समर्थनमा पुस २५ गते मुख्यमन्त्री बनेका थिए।
चुनाव जित्दा स्वतन्त्र तर पछि एकीकृत समाजवादी प्रवेश गरेका दीपक मनाङेले सुरुमा समर्थन दिएपनि विश्वासको मत भने दिएका थिएनन्।
अहिले गण्डकीमा माओवादीका चुमान र रेशम जुग्जाली, एमालेका ४ र राप्रपाका ४ गरी ७ मन्त्री छन्।
प्रतिक्रिया