आगामी सोमबार (१३ चैत) सम्म मन्त्रिपरिषद् विस्तारको तयारीमा लागेका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा मन्त्रालय थप हुनसक्ने ब्रिफिङ गरेका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ब्रिफिङ गर्दै प्रचण्डले माओवादीको भागमा अर्को एक मन्त्रालय पनि थपिने सम्भावना रहेको बताएका हुन्।
बैठकमा सहभागी एक उच्च नेताले दिएको जानकारी अनुसार गृह वा अर्थमध्ये एक मन्त्रालय थपिने सम्भावनाबारे अध्यक्ष प्रचण्डले ब्रिफिङ गरेका थिए। ‘गृह वा अर्थमध्ये एक मन्त्रालय थपिन्छ होला। त्यसैगरी समझदारी बनाउने प्रयास भइरहेको छ,’ बैठकमा प्रचण्डले भनेको भनाई उदृत गर्दै ती नेताले भने, ‘भोलि बेलुकीसम्म प्रस्ताव तयार गरेर गठबन्धनको बैठक बोलाउँछु।’
माओवादी बैठक लगत्तै आजै कांग्रेसका शीर्ष नेताहरूसँग बसेर समझदारी बनाउने तयारी रहेको ती नेताले बताए।
पार्टी सचिव देवेन्द्र पौडेलले पनि भोलि बेलुकीसम्म एउटा प्रस्ताव तयार गरेर अघि बढ्नेगरी छलफल भएको बैठकपछि बताएका थिए। उनका अनुसार सोमबारसम्म मन्त्रिपरिषद् विस्तार भइसक्नेछ।
आजको बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) को विषय कसरी टुंगोमा पुर्याउने, सरकार र पार्टीहरुबीचको सम्बन्ध कसरी अघि बढाउने र संसदलाई कसरी प्रभावकारी बनाउने भन्ने लगायतका विषयमा पनि छलफल भएको थियो।
प्रतिक्रिया