संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको प्रक्रिया अगाडि बढिसकेको बताएका छन्।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विभागीय समितिको अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन्।
‘धेरै वर्षदेखि संघीय निजामती ऐन आउन सकेको थिएन, मैले पदभार ग्रहणको दिन नै संघीय निजामती ऐन ल्याउँछु भनेको थिएँ, अहिले सहमतिका लागि कानुन र अर्थमा गइसकेको छ’ मन्त्री मोदीले भने।
मन्त्री मोदीले संसदको जारी अधिवेशनमा नै ऐन टेबुल हुने समेत बताए।
मन्त्री मोदीले ऐनमा सबैका भावना र सुझावलाई समेट्ने उद्देश्यले सरोकारवाला पक्षसँग छलफल गरेको समेत जानकारी दिए।
आफू मन्त्री भएपछि कुनै पनि स्थानीय तहलाई निमित्त कार्यकारी अधिकृत दिने निर्णय नगरेको बताउँदै उनले भने, ‘अहिले जहाँ जहाँ निमित्त छन्, उनीहरुलाई पनि हामी हटाइरहेका छौँ।’
मन्त्री मोदीले सेवाग्राहीले प्रश्न उठाउन नपर्ने गरी सेवा प्रवाह दिन समेत कर्मचारीहरुलाई निर्देशन दिए।
प्रतिक्रिया