खानेपानी मन्त्री अब्दुल खानले आफूले गरेको जति काम अन्य मन्त्रालयले गर्ने हो भने देश बन्न समय नलाग्ने बताएका छन्।
शुक्रबार सिंहदरबारभित्र ४ स्थानमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्दै मन्त्री खानले सो दाबी गरेका हुन्।
उनले आफूले मन्त्री बनेर काम गरेको लगभग साढे २ महिना भएको भन्दै यो अवधिमा आफूले सोचेअनुसार काम गर्न नसकेपनि राम्रो काम गरेको दाबी गरे।
‘हामीले एक घर एक धाराको अभियानका रुपमा काम अघि बढाइरहेका छौँ। यो काममा हाम्रो मन्त्रालय अघि बढेको छ। हामीले पानीको वितरण दुई महिनाभित्र अघि बढेको छ,’ मन्त्री खानले भने, ‘यो हाम्रो मन्त्रालयको निम्ति र मैले सोचेको अनुसार ऐतिहासिक काम हो, यही अनुसार अन्य मन्त्रालयले पनि काम गर्ने हो भने देश बन्न कसैले रोक्न सक्दैन।’
उनले आफूले मन्त्री बनिसकेपछि नै सबै नेपालीहरुलाई जार र बोतलको पानी किन्नुपर्ने अवस्थाबाट मुक्त गरी सार्वजनिक धाराको पानी खुवाउने घोषणाअनुसार सिंहदरबारबाट काम सुरु गरेको बताए।
उनले अब छिटै नै विभिन्न सार्वजनकि स्थल, शौचालय, विमानस्थल, बसपार्क र अस्पताल लगायतका स्थानमा सार्वजनिक धारा राख्ने बताए।
उनले मन्त्रालयका विभिन्न समस्याका कारण अझैपनि आफूले चाहेको गतिमा काम गर्न नसकेको बताए।
मन्त्री खानले बोतल र जारमा महंगो मूल्यको नियन्त्रण गर्ने काममा मन्त्रालय लागेको भन्दै पानीको मूल्य ५ महिनाभित्र घटाएरै छोड्ने दाबी गरे।
उहाँले देशका रेक क्षेत्रमा ५ वर्षभित्र खानेपानीको समस्या समाधान गर्नेगरी मन्त्रालयले काम गरिरहेको बताउनु भयो ।
‘सार्वजनिक धारा हामीले अहिले सिंहदरबारका विभिन्न स्थानमा राखेका छौँ, यसका अलावा हामीले सार्वजनिक स्थल, अस्पताल, बसपार्क, एयरपोर्टमा राख्ने सोच छ। मैले जुन स्प्रिटले काम गर्नुपर्ने हो त्यो अनुसार त अहिले पनि काम गर्न पाएको छैन,’ उनले भने, ‘किनभने विभिन्न किसिमका बाधाहरु हुन्छन्, त्यो बाधाहरु पार गर्दै अघि बढ्ने स्प्रिट पाएको छैन। बोतल र जारको पानीमा जुन अनियमितता, महंगी छ त्यो नहुनुपर्ने हो, पानीमा हामी यत्रो धनी हुँदाहुँदै पनि यत्रो महंगोमा किनेर खानुपर्ने कुरा दुःखको कुरा हो, पानीको मूल्य घटाउनुपर्छ।’
खानेपानीको समस्या समाधान गर्ने, दुई देखि अढाई वर्षसम्म तराई मधेसका समस्या समाधान गर्ने र ५ वर्षभित्र हाम्रो देशको पानी विदेशमा निर्यात गर्ने योजना छ।
शुक्रवार खानेपानी मन्त्रालय, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सक्रियतामा निःशुल्क रुपमा सेवा पाउनेगरी स्वच्छ खानेपानी धाराको उद्घाटन भएको हो।
निकट भविष्यमा काठमाडौं उपत्यकाका अन्य सार्वजनिक ठाउँमा सेवा बिस्तार गर्ने मन्त्तालयको योजना छ।
प्रतिक्रिया