राजनीति


एमालेलाई सरकारबाट हटाउन कर्णालीका मुख्यमन्त्रीलाई दबाब

जनार्दन शर्मा र जीवनबहादुर शाहीबीच वार्ता
एमालेलाई सरकारबाट हटाउन कर्णालीका मुख्यमन्त्रीलाई दबाब

फाइल तस्बिर


दिनेश बुढा
चैत २४, २०७९ शुक्रबार १२:४५, सुर्खेत

कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसले सहभागी हुने संकेत देखाएपछि सत्ता समीकरण फेरिने संकेत देखा परेको छ। 

नेकपा एमालेको समर्थनमा गत पौष २७ गते नेकपा माओवादी केन्द्रका नेता राजकुमार शर्मा नेतृत्वमा बनेको सरकारबाट नेकपा एमालेलाई अलग गराएर सरकारमा सहभागी हुने विषयमा प्रारम्भिक छलफल भएको जनाइएको छ। 

शुक्रबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीसँग केन्द्रीय गठबन्धनको मर्मअनुसार प्रदेशमा सत्ता परिवर्तनबारे छलफल भएको खुलासा गरेका हुन्।

‘संघको गठबन्धन फेरबदलसँगै कर्णालीमा नयाँ दिशा दिनुपर्ने आवश्यकता छ। कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीसँग पनि मिटिङ गरेँ', मुख्यमन्त्री शर्माले भने, 'प्रारम्भिक छलफलमा छिट्टै नयाँ स्वरूप दिने गरी सहमति भएको छ। यो अलमल छिट्टै अन्त्य गरेर सरकारलाई अगाडि बढाउँछौँ।’ 

सरकारमा सहभागिता परिवर्तन भए पनि सभामुख भने यथावत रहने शर्माको भनाइछ।

शर्माको यो भनाइले माआवादी र कांग्रेसबीच आन्तरिक रुपमा एमालेका मन्त्रीहरुलाई बर्खास्त वा राजीनामा दिन लगाउने दबाब मुख्यमन्त्रीमाथि परेको बुझिन्छ।

कर्णालीमा कांग्रेस सम्मिलित नयाँ मन्त्रिपरिषद् बनाउने तयारी छ। तर नेतृत्व भने माओवादीले नै गर्ने विषयमा कांग्रेससँग कुनै विवाद नरहेकाले केन्द्रीय गठबन्धनले प्रदेश सरकारका विषयमा छिट्टै निणर्य लिने शर्माले बताए। 

कन्द्रीय सत्ता समीकरण फेरबदलसँगै मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएको कांग्रेसले सम्मानजनक स्थान पाए सरकारमा सहभागी हुने बताइसकेको छ। 

यता नेकपा एमालेले अहिलेसम्म सरकारबाट बाहिरिने वा बसिरहने आधिकारिक धारणा बनाएको छैन। 

'सरकारबारे माओवादी र कांग्रेसबीच एक खालको सहमति जुटेको कुरा आइरहेको छ, तपाईंहरु बाहिरिने वा बसिरहने? भन्ने प्रश्नमा एमालेका प्रदेश उपसचिवसमेत रहेका सामाजिक विकास मन्त्री टेकराज पछाईले भने, ‘बाहिर के आएको छ भन्नेबारे हामीलाई थाहा भएन, हिजो विश्वासको मत माग्दा मुख्यमन्त्रीज्यूले जुनखालको सहयोग माग्नु भएको थियो, त्यहीअनुरुप हामीले अगाडि बढ्न खोजेका हौँ। मुख्यमन्त्रीले छोड भन्नुहुन्छ भने छोड्छौँ, त्यसमा दुई मत छैन।’ 

तर यस विषयमा मुख्यमन्त्री शर्माले कुनै प्रतिक्रिया दिएका छैनन्। 

दोस्रो पटक विश्वासको मत पाएपछि मुख्यमन्त्री शर्माले भावी सरकार सञ्चालनका विषयमा विश्वासको मत दिने दलहरूबीच सहकार्यमै अगाडि बढ्ने बताएका थिए। 

त्यसयता शर्माले एमाले र कांग्रेससँग छलफल गरेका छैनन्। त्यसो त संसदमा दोस्रो पटक विश्वासको मत लिँदा एमालेलाई सरकारबाट अलग गरेर कांग्रेससँग सहकार्य गर्न माओवादीभित्रैबाट मुख्यमन्त्री शर्मालाई दबाब परेको बताइएको थियो। 

तर मुख्यमन्त्री शर्माले कर्णालीका लागि सबै दलले सझा धारणा बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको भन्दै एमालेको साथ मागेका थिए। 

माओवादी र कांग्रेसबीचको पछिल्लो संवादले मुख्यमन्त्री शर्मा चेपुवामा परेका छन्। उता एमाले नैतिक संकटमा परेको छ। 

गत पुष २७ गते नेकपा एमाले र माओवदीबीच आलोपालो सरकारको नेतृत्व गर्ने गरी तीन-तीन मन्त्रालयमा भागवण्डामा टुङ्गो लागेको थियो। 

जसमा एमालेबाट आर्थिक मामिला मन्त्रीमा विनोदकुमार शाह, सामाजिक विकास मन्त्रीमा टेकराज पछाई र वन तथा वातावरण मन्त्रालयमा जितबहादुर शाही मन्त्री बनेका थिए। 

गत माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका मुख्यमन्त्री शर्माले सत्ता साझेदार राप्रपाले समर्थन फिर्ता लिएपछि फागुन १७ गते दोस्रो पटक विश्वासको मत लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .