राजनीति


ढाकाकुमारलाई सांसद र पार्टी सदस्यबाट हटाउने रास्वपाको तयारी

चितवनमा केद्रीय समिति बैठकबाट निर्णय लिएर आजै संसद सचिवालयमा पत्राचार गरिने
ढाकाकुमारलाई सांसद र पार्टी सदस्यबाट हटाउने रास्वपाको तयारी

रास्वपा समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ। तस्बिर : श्रेष्ठको फेसबुकबाट।


सागर न्यौपाने
चैत २८, २०७९ मंगलबार २२:१५, काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्यमन्त्री बन्न दुई करोड माग गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीले सांसद र पार्टी साधारण सदस्य समेत नरहनेगरी निलम्बन गर्ने भएको छ।

बुधबार चितवनमा बस्ने केन्द्रीय समितिको जुम बैठकले उनलाई संसदबाट समेत हटाउन संसद् सचिवालयमा पत्र पठाउने तयारी गरिरहेको सभापति रवि लामिछाने निकट नेताले मंगलबार राति नेपालखबरलाई बताए।

‘ढाकाजीलाई पार्टी साधारण सदस्य समेत नरहनेगरी निलम्बन गर्ने तयारी छ। संसदबाट पनि निलम्बन गर्नका लागि संसद सचिवालयमा भोलि पत्राचार हुन्छ,’ सभापति रवि लामिछाने निकट ती नेताले भने, ‘ढाकाको टेप प्रकरणले चितवनको चुनावमा असर पार्ने कोसिस भएको भन्दै सभापतिजी निकै आक्रोशित हुनुभएको छ।’

भ्रष्टाचारको प्रकरणमा मुछिनेलाई छोड्न नहुने भन्दै सभापति लामिछानेले आपतकालीन केन्द्रीय समितिको बैठक बोलाएका हुन्।

बैशाख १० गतेको उपचुनावको लागि रवि चितवन २ नम्बर क्षेत्रमा खटिएका छन्। अन्य नेताहरू बारा र तनहुँमा खटिएका छन्।

‘भोलिको केन्द्रीय समितिको बैठक जुममा बस्ने तयारी छ,’ महामन्त्री एवं प्रवक्ता डा.मुकुल ढकालले भने, ‘काठमाडौं, बारा, तनहुँ र चितवनबाट नेताहरु जोडिनुहुन्छ।’

श्रेष्ठले मन्त्री हुन दुई करोड लामिछाने निकट कोर टिमलाई बुझाउनु पर्ने भन्दै प्रसाईंसँग मागेको अडिओ आइतबार सार्वजनिक भएको थियो।

रास्वपाले त्यसबारे अनुसन्धानका लागि डा. भरतमणि देवकोटाको संयोजकत्वमा ४ सदस्यीय अनुसन्धान समिति बनाएको थियो। समितिलाई ७२ घण्टाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको थियो। तर, समितिले ५० घण्टाभित्र मंगलबार नै प्रतिवेदन सभापति लामिछाने, महामन्त्रीलाई बुझाइसकेको छ।

सोही प्रतिवेदनका आधारमा श्रेष्ठमाथिको कारवाही हुन लागेको हो। 

रास्वपामा डा. देवकोटा प्रमुख रहेको अनुशासन तथा आचरण समितिमा रामहरि सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपाने छन्। 

श्रेष्ठसँग समितिले मंगलबार एक घण्टा लामो बयानसमेत लिएको छ।

त्यसअघि श्रेष्ठले सोमबार इमेलमार्फत् लिखित स्पष्टीकरण बुझाएर आफ्नो आवाज एडिट गरेको दाबी गरेका थिए। 

मंगलबार भौतिक रुपमा अनुसन्धान समिति समक्ष उपस्थित भएका श्रेष्ठले उक्त अडियो आफ्नो नभएको अडान दोहोर्याएका छन्।

उनले बयानका क्रममा अधिकांश समय रास्वपा गठनमा आफ्नो योगदान सम्झन आग्रह गरेका थिए। 

समितिका एकजना सदस्यले नेपालखबरसँग भने, ‘ढाकाजीले ४५ मिनेटजति रास्वपा बनाउन गरेको मिहेनेतको व्याख्या गर्नुभयो, पछि बल्ल अडिओ आफ्नो नभएको दाबी गर्नुभयो।’

अनुसन्धान समितिले विभिन्न प्रमाण संकलन गरेको छ। अडिओबारे बाहिर आएका समाचार, ढाकाको विगत लगायतका पाटाहरु पनि प्रतिवेदनमा समावेश गरेर सभापतिलाई बुझाइदिएको छ। 

‘अनुसन्धान समितिले सभापतिसमक्ष प्रतिवेदन बुझाईसकेको छ, डा. देवकोटाले भने, ‘बुधबार बिहान ९ बजे रास्वपाको केन्द्रीय समिति बैठक छ, त्यसैले थप कारवाहीबारे निर्णय गर्छ।’ 

उनले ढाकाको लिखित स्पष्टीकरण र बयानपनि लेखेर पठाइएको बताए।

‘उहाँले जे भन्नुभयो, त्यही लेखेर पठाइदिएका छौँ,’ देवकोटाले थपे।

मंगलबार चुनावी प्रचारकाक्रममा सभापति रविले चितवनको कालिकामा ‘रुपैयाँ माग्नेहरू बोरामा कुहिएका केही आलु’ भन्दै कटाक्ष गरेका थिए।

उक्त अडिओ तीन महिना पहिलेको भए पनि अहिले चुनावको मुखमा सार्वजनिक गरिएको रविले दाबी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .