राजनीति


अरब क्षेत्रमा रहेका नेपाली नागरिक र दूतावासहरुलाई आपसमा सम्पर्कमा रहिरहन सरकारको निर्देशन

अरब क्षेत्रमा रहेका नेपाली नागरिक र दूतावासहरुलाई आपसमा सम्पर्कमा रहिरहन सरकारको निर्देशन

नेपालखबर
पुस २२, २०७६ मंगलबार ८:११,

अमेरिकी कारवाहीमा उच्च इरानी सैनिक कमाण्डर मारिएसँगै पश्चिम एशियामा तनाव बढेपछि नेपाल सरकारले सम्बन्धित नेपाली दूतावासहरुलाई त्यस क्षेत्रमा रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिएको छ। त्यस्तै, त्यहाँ रहेका नेपालीहरुलाई सम्बन्धित दूतावाससँग सम्पर्कमा रहिरहन आग्रह गरेको छ।

अमेरिकाले गतसाता इरानका जर्नेल कासिम सुलेमानीको इराकमा हत्या गरेसँगै नेपालीहरुको बैदेशिक रोजगारीको एक प्रमुख गन्तब्यको रुपमा रहेको खाडी क्षेत्रमा तनाव बढेको हो ।
अमेरिका इरानबीच बढेको तनावपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतामा श्रम तथा रोजगार मन्त्री रामेश्वर रायसहित सम्बन्धित अधिकारीहरुको बैठक बसेको थियो।

बैठकपछि परराष्ट्र मन्त्रालयले त्यस क्षेत्रमा रहेका नेपाली दुतावासहरुलाई परिस्थितिको बारेमा सुक्ष्म विश्लेषण गर्न र त्यहाँ रहेका नेपालीहरुसँग सम्पर्कमा रहन निर्देशन दिएको छ ।
‘हामीले पछिल्लो अवस्थाका बारेमा समिक्षा गरेका छौं । तनाव बढेको छ । परिस्थिति के हुन्छ त्यस विषयमा दुतावासलाई चानाखो भएर अध्ययन गर्न भनेका छौं,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले नेपालखबरसँग भने।

उनले नेपाली दुतावासहरु र नेपाली नागरिक दुवै पक्षलाई आपसमा सम्पर्कमा रहन आग्रह गरेको बताए। ‘दुतावासलाई त्यहाँ रहेका नेपालीसँग सम्पर्क गर्न र त्यस क्षेत्रमा रहनु भएका नेपालीहरुलाई सम्बन्धित दुतावासमा सम्पर्कमा रहिरहन आग्रह गरेका छौ,’ उनले भने।

इरानमा धेरै नेपाली नभएपनि तनावको केन्द्र बनेको इराकमा भने हजारौंको संख्यामा नेपाली छन् । ‘इरानमा नेपालीको संख्या एक सयभन्दा कम रहेको छ,’ प्रवक्ता पौडेलले भने, ‘इराकमा बढी छन् । तनावपछि दुवै देशमा रहेका नेपालीहरु दुतावासका सम्पर्कमा आउनुभएको छ ।’ पाकिस्तानस्थित नेपाली दुताबासले इरान र कुवेतस्थित दुतावासले इराक समेत हेर्छ ।

इरान र इराक नजिकै रहेका अन्य देशमा भने लाखौ नेपाली कार्यरत छन् । श्रमका लागि कतार, युनाइेटेड अरब इमिरेट्स (यूएई), बहराइन, साउदी अरब, कुवेतलगायत गल्फ मुलुकहरुमा १५ लाख भन्दा बढी नेपाली रोजगारीका लागि पुगेका छन् । तनावको केन्द्र बन्दै गएको इराकमैं रोजगारीका लागि करिब १५ हजार नेपाली छन् ।

‘विगतमा पनि ती देशमा रहेका नेपालीहरुलाई उद्दार गरेको अनुभव छ । हामीले परिस्थितिलाई निरन्तर नियाली रहेका छौं,’ पौडेलले भने ।

इरानले सुलेमानीको हत्याको बदला लिने चेतावनी दिएपछि पुरै पश्चिम एशियामा युद्धको बादल मडारिएको हो । केहि दिनयता तनाव उत्कर्षमा पुगेसँगै कतिपयले यहि घटनाकै कारण अब पश्चिम एशियाको राजनीति ठूलो द्वन्द्वतर्फ मोडिनसक्ने बताएका छन् ।

पश्चिम एशियामा बढेको तनावपछि तेलको मूल्य आकाशिन थालिको छ । जसले नेपालको अर्थतन्त्र समेत सोझै प्रभावित हुने विश्लेषण गरिएको छ । तनाव लम्बिए त्यसले इन्धन आपूर्तिमा समस्या हुनुका साथै पुरै खाडी क्षेत्र प्रभावित हुने र नेपालीहरुले रोजगारी गुमाउने संभावनाप्रति विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad