राजनीति


नक्कली शरणार्थी प्रकरणमा ठूला माछा उम्काउन तीनदलीय ‘सहमति’ भएको आशंका छ- बाबुराम

नक्कली शरणार्थी प्रकरणमा ठूला माछा उम्काउन तीनदलीय ‘सहमति’ भएको आशंका छ- बाबुराम

फाइल तस्बिर


नेपालखबर
जेठ १४, २०८० आइतबार १२:५१, काठमाडौँ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचार प्रकरणमा समेत तीन ठूला दलबीच ‘सहमति’ हुन थालेको भन्दै आपत्ति जनाएका छन्। 

पशुपतिनाथमा सुनको जलहरी हाल्दा भ्रष्टाचार भएको आशंकासहित सांसदले प्रतिनिधिसभामा बोलेको कुरा संसद्को रेकर्डबाट हटाउनु गलत भएको टिप्पणी नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले गरेका छन्। 

‘संसद्‌मा उठाएको विषयमा चित्त नबुझे संसदीय समिति बनाएर छानबिन गर्ने हो, रेकर्डबाटै हटाउने हैन’, डा. भट्टराईले आइतबार सामाजिक सञ्जालमार्फत भनेका छन्।

बहुदलीय लोकतन्त्रमा परराष्ट्र सम्बन्ध, राष्ट्रिय सुरक्षा, प्राकृतिक विपद्जस्ता कुरामा प्रमुख दलहरूबीच सहमति खोज्नु राम्रै भए पनि संवैधानिक/राजनीतिक नियुक्ति, बजेट बाँडफाँड, भ्रष्टाचार प्रकरण आदिमा चोचोमोचो गर्नु बहुदलीय लोकतन्त्रको मर्मविपरीत मात्र नभएर घोर अनैतिक विषय पनि भएको टिप्पणी उनले गरेका छन्। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि ठूला नेता छुटाउन तीन दलबीच सहमति भएको आशंकासमेत उनले गरेका छन्।  

उनले भनेका छन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि ठूला माछा उम्काउन तीन दलीय ‘सहमति’को जुन आशंका छ, त्यो व्यवहारबाटै खण्डन होस्। विज्ञेषु किमधिकम्।’

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउँछु भनी लाखौँ रुपैयाँ ठगी गरेको प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित उच्च पदस्थ व्यक्ति पनि पक्राउ परेका छन्। उक्त प्रकरणमा उनीहरूसहित ३० जनालाई प्रतिवादी बनाई काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। जसमध्ये हिरासतमा रहेका १७ जनाको अदालतमा बयान चलिरहेको छ।

रायमाझी र खाँणसहित पूर्वसांसद आङटावा शेर्पा, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, गृहमन्त्रीका पूर्वसुरक्षा सल्लाहकार इन्द्रजित राई, खाँणका निजी सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप रायमाझी, शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मिया, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरुङ, सागर राई, रामशरण केसी, गोविन्द चौधरी र लक्ष्मी महर्जन पक्राउ परेका छन्।

अहिलेसम्म पूर्वगृहमन्त्री रामबाहदुर थापा बादलका छोरा प्रतीक र उनका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईका छोरा निरजसहित १३ जना फरार छन्।

उनीहरुविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा दायर गरिएको छ। अभियोग पुष्टि भएमा एकीकृत कसुरमा थप सजायसमेत हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .