राजनीति


केही व्यक्तिले गल्ती गर्दैमा गणतन्त्रलाई बदनाम गर्न मिल्दैन : सञ्चारमन्त्री शर्मा

केही व्यक्तिले गल्ती गर्दैमा गणतन्त्रलाई बदनाम गर्न मिल्दैन : सञ्चारमन्त्री शर्मा

नेपालखबर
जेठ १४, २०८० आइतबार १८:४, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिको गल्तीको दोष प्रणालीलाई दिइनु गलत भएको बताएकी छन्।

सामुदायिक सूचना नेटवर्क सीआईएनको १५ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन्।

पदमा पुगेका केही व्यक्तिले गरेका गैरकानुनी कामलाई लिएर सिङ्गो गणतन्त्रलाई नै बदनाम गराउने गरिएकोमा उनले असहमति जनाइन्।

सरकार सञ्चालनका क्रममा गल्ती कमजोरी गर्नेलाई कानुनअनुसार कारबाही गर्ने अवसर पनि गणतन्त्रमा रहेको भन्दै उनले उनीहरूलाई कारबाही गर्न सबै एकैठाउँ उभिनुपर्ने बताइन्।

गणतन्त्रको विकल्प गणतन्त्र मात्र रहेको भन्दै शर्माले गणतन्त्र दिवस मनाउनु हिजोका राजा महाराजाको जन्म दिन मनाएको जस्तो नभएको बताइन्।

सरकारका प्रवक्ता समेत रहेकी शर्माले सङ्घीय गणतन्त्रप्रति आम नागरिकको अपनत्व बढाउन सरकारले यस वर्ष तीन दिनसम्म गणतन्त्र दिवस भव्यताका साथ मनाउन लागेको बताइन्।

मन्त्री शर्माले प्रविधिको विकासलगायत कारणले रेडियो, टेलिभिजन र छापा माध्यमकै भविष्यप्रति संशय उत्पन्न हुने गरेको भन्दै उनले आमनागरिकका समस्याको उठान गर्ने र गुणस्तरीय सामाग्री उत्पादन गर्न सके रेडियो, टेलिभिजन र छापा माध्यमको भविष्य उज्यालो रहेको बताइन्।

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबका अध्यक्ष अर्जुन गिरीले ग्रामीण तहमा रहेका रेडियो जोगाउन आवश्यक रहेकोमा जोड दिए।

उनले विपद्का बेला रेडियो समुदायको सबैभन्दा नजिकको साथी भए पनि सरकारका विभिन्न नीतिलगायत धेरै कारणले मारमा परिरहेको भन्दै सामुदायिक रेडियो बचाउन तीनै तहका सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताए।

सीआईएनसँगै सामुदायिक रेडियोहरूलाई पनि ग्रामीण आवाज स्थापित गर्न सरकारका साथै सबै सरोकारवालाले साथ सहयोग गर्नुपर्ने उनले बताए।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सीआईएनले खास गरी दूरदराजको समुदायलाई सूचना र सञ्चारको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेकोमा धन्यवाद दिँदै आयोग र सीआईएनबिच सहकार्य गरेर अघि बढ्न सकिने बताए।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले अप्ठ्यारो बेलामा रेडियोबाट आउने सामग्री औषधिका रूपमा आउने भएकाले औषधि जोगाउन आवश्यक रहेको बताए।

अकोराबका पूर्वअध्यक्ष मीनबहादुर शाहीले १९ वटा रेडियो आबद्ध भएर सुरु गरेको सीआईएन दक्षिण एसियाकै सबैभन्दा ठूलो रेडियो नेटवर्क बनेर समुदायको आवाज मुखरित गर्न सफल भएकोमा प्रशंसा गर्दै पहरेदारको भूमिकामा सधैँ खटिइरहन सुझाव दिए।

सीआईएनको उपलब्धि र वार्षिक गतिविधि प्रस्तुत गर्दै सीआईएनका म्यानेजर दीपक आचार्यले भविष्यमा आइपर्ने सबै खाले चुनौतीको सामना गर्दै समुदायको सञ्चारको अधिकारका पक्षमा काम गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .