राजनीति


समर्थक भन्छन् : निर्दोष रेशमलाई फसाइयो, टीकापुर घटनाका दोषी अरु नै हुन्

समर्थक भन्छन् : निर्दोष रेशमलाई फसाइयो, टीकापुर घटनाका दोषी अरु नै हुन्

डिल्ली बजार जेलबाट रिहा भएका रेशम चौधरी। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ १५, २०८० सोमबार १२:३, काठमाडौँ

टीकापुर हत्याकाण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन कारावास सजाय बिताइरहेका रेशम चौधरी रिहा भएसँगै उनका समर्थकहरु खुशी देखिएका छन्।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसका अवसरमा आममाफी पाइ रिहा भएसँगै उनका समर्थकहरु उनको स्वागतका लागि कारागारमा नै पुगेका थिए।

चौधरीले रिहा भएसँगै मन्त्री क्वार्टर र त्यहाँबाट माइतीघर मण्डलमा आफ्ना समर्थकहरुसँग भेट गरेका छन्। माइतीघर मण्डलामा पनि उनलाई स्वागत गर्नेहरुको भीड देखिन्थ्यो। 

स्वागत र समर्थनमा माइतीघर मण्डलामा पुगेका देवराज लामाले टीकापुर घटनाका वास्तविक अपराधीहरुलाई उम्काइएको र निर्दोषलाई फसाइएको बताए। 

उनले चौधरी घटनास्थलमा पनि नभएको र निर्देशन पनि नदिएको भन्दै अहिलेसम्म पनि टीकापुर घटनाका वास्तविक दोषीहरुलाई पक्राउ नगरिएको बताए।

उनले आफूहरु अहिले पनि छानबिन गर्न तयार रहेको भन्दै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका छन्। 

‘टीकापुर घटनाका वास्तविक अपराधीहरुलाई उम्काइएको छ। उहाँ घटनास्थलमा हुनुहुँदैन थियो। उहाँले निर्देशन पनि दिनुभएको होइन, अहिलेसम्म टीकापुर घटनाका दोषी समातिएका छैनन्। अहिले पनि छानबिन
गरौँ, हामी अहिले पनि भनिरहेका छौँ लाल आयोग, संसदीय सुनुवाइका आयोगहरुको प्रतिवेदन सार्वजनिक गरौँ न सबै थाहा हुन्छ। उहाँ निर्दोष हुनुहुन्छ’, उनले भने। 

समर्थकहरुले विरोधका लागि विरोध गर्ने संस्कृति बढीरहेको भन्दै राज्यले भूमिपुत्रलाई जिताएको बताए। रेशम चौधरी रिहा हुनु लोकतन्त्र, पहिचानवादीको जित भएको उनीहरुले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .