ad ad

राजनीति


इपिजी प्रतिवेदनबारे प्रधानमन्त्रीको जवाफ : अहिले माहोल बिगार्नतिर लागिएन

इपिजी प्रतिवेदनबारे प्रधानमन्त्रीको जवाफ : अहिले माहोल बिगार्नतिर लागिएन

समकक्षी मोदीसँग प्रधानमन्त्री प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
जेठ १९, २०८० शुक्रबार ११:३५, काठमाडौँ

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहले तयार पारेको रिपोर्ट बुझ्नेबारे यस पटकको भ्रमणमा कुनै कुरा नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। 

भारतको अनिच्छाले प्रबुद्ध व्यक्ति समूहका सदस्यले तयार पारेको रिपोर्ट सार्वजनिक नभइरहेको सन्दर्भमा यस पटक पनि समकक्षी नरेन्द्र मोदीसँग कुरा नभएको प्रचण्डले बताएका हुन्। 

शुक्रबार नयाँदिल्लीमा केही नेपाली सञ्चारकर्मीहरुसँगको संवादका क्रममा प्रधानमन्त्री प्रचण्डले अहिलेलाई इपिजी प्रतिवेदनको विवादमा अल्झिनुभन्दा अन्य विषयमा हल गर्दै अघि बढ्नु उचित हुने बताएका छन्। 

‘इपिजीलाई नेपालमा हामी सबैले गम्भीरतापूर्वक लिएको विषय त हो, तर अब यो विषयमा विवाद गरेर सबै काम अड्काउनु भन्दा फुकाउने काम फुकाएर अघि बढ्नु पर्छ’, उनले अगाडि भने ‘भविष्यमा वातावरण बनाएर एउटा बिन्दुमा गएपछि यो पनि काम हुन्छ। अहिले इपिजीबारे कुरा उठ्दै उठेन। उठाएर माहोल बिगार्नतिर लागिएन।’

भारतले अनिच्छा व्यक्त गरिरहेका बेला इपिजीबारे नेपालले कुरा उठाएर पनि माहोल बन्ने अवस्था नरहेको प्रधानमन्त्रीले बताए। ‘अहिले त्यसले माहोल बन्दैन। हुने कुरा पनि बिग्रिने गरी किन गर्ने?’, उनले प्रश्न गरे, ‘कहिलेकाहीँ हामीले राम्रा काम अघि बढाउँदै गर्दा यस्तो पनि हुन्छ। पछि भारतले यसलाई स्वीकार्ने अवस्था बन्छ।’

दुवै देशका विज्ञ समूहले संयुक्त रूपमा तयार पारेको रिपोर्ट बुझ्न भारतीय प्रधानमन्त्री मोदीले अझै अनिच्छा देखाइरहेका छन्। 

सन् २०१६ फेब्रुअरीमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला भारतीय समकक्षी नरेन्द्र मोदीसँगको सहमतिमा प्रबुद्ध व्यक्ति समूहको गठन गरिएको थियो।

त्यसबेला सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित नेपाल–भारतबीच भएका दुई पक्षीय सन्धिसम्झौता पुनरवलोकनलगायत विषयमा सुझावसहितको रिपोर्ट तयार पार्ने सहमतिअनुसार दुवै देशका तर्फबाट चारचार जना विज्ञ सदस्य रहनेगरी इपिजी गठन गरिएको थियो। 

उक्त समूहले सुझावसहितको रिपोर्ट बनाएको पाँच वर्ष हुँदा पनि भारतीय पक्षले अनिच्छा देखाउँदा सार्वजनिक भएको छैन। उक्त रिपोर्ट सुरुमा भारतीय प्रधानमन्त्री र नेपाली प्रधानमन्त्रीलाई बुझाउने भनिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .