ad ad

राजनीति


‘अखण्ड भारत’को नक्साबारे भारतीय जवाफ : नेपाल र बंगलादेशले कुरा बुझे, अब विवाद गर्दैनन्

‘अखण्ड भारत’को नक्साबारे भारतीय जवाफ : नेपाल र बंगलादेशले कुरा बुझे, अब विवाद गर्दैनन्

फाइल तस्बिर


नेपालखबर
जेठ २५, २०८० बिहिबार १८:७, काठमाडौँ

गत जेठ १४ गते प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सालाई लिएर अब नेपाल र बंगलादेशले विवाद नगर्ने दाबी भारतीय विदेश मन्त्री एस जयशंकरले गरेका छन्। 

नरेन्द्र मोदीले देशको नेतृत्व गरेको नौ वर्ष पुगेको अवसरमा विदेश नीतिको प्रगतिबारे बिहीबार पत्रकारहरुसँग गरिएको विशेष ब्रिफिङका क्रममा जयशंकरले यस्तो बताएका हु्न्। 

विशेष ब्रिफिङका क्रममा पत्रकारहरुले ‘अखण्ड भारत’नक्सालाई लिएर नेपाल र बंगालादेशमा विभिन्न प्रतिक्रिया आइरहेको भन्दै यसबारेमा औपचारिक धारणा माग गरेका थिए। 

‘मित्र देशहरु नेपाल र बंगलादेशले अब विवाद गर्ने छैनन्। उक्त नक्साको मुनि अशोका इम्पायरका बेलाको विवरण लेखिएको छ। यो केवल सांस्कृतिक कुरा मात्रै हो। यसलाई राजनीतिक विषय बनाउनु जरुरी नै छैन’, उनले भने, ‘हाम्रा मित्र देशले यसबारेको कुरा बुझ्ने छन्। अझै यसमा केही प्रष्ट पार्नुपर्ने छ भने हामी बुझाउँछौँ।’ 

उनले यस मामिलामा पाकिस्तानले कुरा नबुझ्ने बताए। ‘पाकिस्तानले त हाम्रो कुरा बुझ्दैन तपाईंहरुलाई थाहा नै छ’, उनले भने, ‘पाकिस्तान अक्युपाइड कश्मिरबारे हाम्रो धारणा पुरानै छ। त्यसमा हामी दायाँबायाँ हुँदैनौँ।’

उक्त ब्रिफिङका क्रममा पत्रकारहरुले नेपाल र बंगलादेशलाई मित्रराष्ट्र र पाकिस्तानलाई शत्रुराष्ट्रका रुपमा चित्रित गर्दै प्रश्न गरेका थिए। 

त्यसक्रममा ती पत्रकारले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट फर्किएपछि नेपालको संसद्‍मा यसबारे जवाफ दिएको पनि स्मरण गराए। 

‘पाकिस्तान त हाम्रो शत्रु राष्ट्र हो। उसको कुरा अलग्गै भयो। नेपालका प्रधानमन्त्रीले अखण्ड भारतको नक्साबारे नेपाली संसद्मा बोल्दै आफूले यो मुद्दा भारत यात्राका कारण उठाएको थिएँ भन्नु भएको छ’, ती पत्रकारले प्रश्नका क्रममा भने, ‘प्रचण्डले त्यो राजनीतिक नक्सा होइन, सांस्कृति नक्सा मात्रै हो भन्ने जवाफ भारती अधिकारीबाट पाएको बताउनु भएको थियो। खासमा यसबारे प्रष्ट पार्दिनुस् न।’

त्यसपछि जयशंकरले यो नक्सा सम्राट अशोकको समयको सांस्कृतिक प्रतीक मात्रै भएको व्याख्या गरे। 

‘उक्त नक्सालाई लिएर हाम्रा छिमेकी नेपाल र बंगलादेशले कुरा बुझिसकेका छन्। अब यसमा कुनै समस्या छैन। हाम्रा मित्र देशले कुरा बुझ्ने छन्। केही प्रष्ट पार्नुपर्ने छ भने हामी बुझाउँछौँ’, उनले थप ब्याख्यासहित भने। 

जेठ १४ मा उद्घाटन गरिएको नयाँ भारतीय संसद्‍मा राखिएको नक्सामा नेपाल, बंगलादेश, पाकिस्तान र अफगानिस्तासम्मका भूगोल राखिएको छ। जसलाई लिएर नेपाल र बंगलादेशमा विरोध भइरहेको छ। 

भारतले नयाँ संसद राखेको अखण्ड भारतको नक्सालाई लिएर नेपाली संसद् र जनस्तरमा पनि विरोध भइरहेको छ। 

यसलाई लिएर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद्मा कडा विरोध जनाइरहेका छन्। तर सरकारले भने यसबारे औपचारिक भनाइ सार्वजनिक गरेको छैन।


प्रधानमन्त्री प्रचण्डले यो नक्सालाई सांस्कृतिक रुपमा मात्रै बुझ्न भनेका छन्। उता परराष्ट्रमन्त्री एनपी साउदले यो नक्साबारे आफू जानकार नै नरहेको जवाफ दिएर पन्छिएका छन्। 

यो नक्सालाई लिएर बंगलादेशले भने भारतीय विदेश मन्त्रालयमा स्पष्टीकरण सोध्ने भएको छ। उसले विरोधस्वरुप दिल्लीस्थित दूतावासलाई लिखित विरोध र स्पष्टीकरण लिन भनिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .