ad ad

राजनीति


गगन थापा भन्छन् : मैले बोलाएर हुने भए महिना-महिनामा कांग्रेसको बैठक राख्थेँ

गगन थापा भन्छन् : मैले बोलाएर हुने भए महिना-महिनामा कांग्रेसको बैठक राख्थेँ

नेपालखबर
जेठ २५, २०८० बिहिबार १८:२४, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई विधिसम्मत ढंगले सञ्चालन गर्नु महत्वपूर्ण भएको बताएका छन्। पछिल्लो समय सभापति शेरबहादुर देउवाप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै आएका थापाले बिहीबार धनकुटा पुगेर पार्टी विधिसम्मत ढंगबाट सञ्चालन हुन नसकेको बताएका हुन्।

‘पार्टीलाई विधिसम्मत ढंगले सञ्चालन गर्नु महत्वपूर्ण छ,’ कांग्रेस धनकुटाको जिल्ला सम्मेलन सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक महिनौं भर बस्न सकेको छैन।’

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ उपधारा १२ मा ‘केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा कम्तीमा एक पटक बस्ने’ उल्लेख छ।

तर, पछिल्लो ९ महिनायता कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्न सकेको छैन। पछिल्लो पटक कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक २०७९ भदौ ५ मा बसेको थियो।

उक्त आकस्मिक बैठकले नेता प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो। त्यसअघि २०७९ असार २७ देखि साउन २ सम्म कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बसेको थियो।

गत भदौदेखि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक राखेको छैन। यसबीचमा मंसिर ४ मा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन, सरकारमा सहभागिता, वैशाख १० मा उपनिर्वाचनलगायत विभिन्न राजनीतिक घटना पनि भए। तर, सभापति देउवाले यी कुनै विषय पनि केन्द्रीय कार्यसमितिमा छलफल गराएनन्।

गत मंसिर ४ मा चुनाव सम्पन्न भएपछि केन्द्रीय कार्यसमिति बैठक राखेर चुनावी समीक्षा गर्ने भनिएको थियो। त्यसबेला उनले तीन पटकसम्म केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेका थिए। त्यो बेला अनिश्चितकालका लागि स्थगित गरिएको बैठक अहिलेसम्म बस्न सकेको छैन।

महामन्त्री थापाले कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सभापतिबाहेक अरुले बोलाउन नपाउने पनि बताए।

‘नेपाली कांग्रेसको बैठक फेरि पार्टी सभापतिले बाहेक अरु कसैले पनि बोलाउन पाउँदैन। मैले बोलाएर बैठक हुने भए म महिना–महिना दिनमा कांग्रेसको बैठक राख्थेँ,’ उनले भने, ‘मलाई त बैठक बस्न, छलफल गर्न आनन्द लाग्छ। मेरो नेचर पनि त्यस्तै छ, कुरा सुन्ने, आफ्नो कुरा भन्ने, नयाँ कुरा सिक्ने।’

महामन्त्रीको हैसियतमा बोलाउन नमिल्ने भएका कारण आफूले लगातार रुपमा सभापति देउवासँग बैठक बोलाउन आग्रह गरिरहेको उनको भनाइ थियो।  

‘कांग्रेसको बैठक महामन्त्री गगन थापाले बोलाएर हुने भए प्रत्येक महिना सानेपामा बैठक बस्थ्यो। बैठक सभापतिले बोलाए पनि सञ्चालन मैले गर्न पाउँछु, तर बोलाउन मैले पाउँदिन,’ थापाले भने, ‘त्यसैले सभापतिलाई म लगातार भनिरहेको छु– बैठक बैठक बैठक। चाँडो बैठक बोलाउनु पर्यो भनेर।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .