राजनीति


लम्पी स्किन रोगलाई महामारी घोषणा गर्न माग गर्दै काठमाडौंमा एमालेको प्रदर्शन

लम्पी स्किन रोगलाई महामारी घोषणा गर्न माग गर्दै काठमाडौंमा एमालेको प्रदर्शन

नेपालखबर
साउन १७, २०८० बुधबार १४:४८, काठमाडौँ

नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटीले लम्पी स्किन रोगको तत्काल नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै प्रदर्शन गरेको छ।

बुधवार काठमाडौंको माइतीघर मण्डलामा भेला भई उनीहरुले सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले प्रभवकारी कदम चाल्न नसकेको बताएका हुन्। उनीहरुले लम्पी स्किन देशव्पयापी रुपमा फैलिसक्दासमेत सरकारले आवश्यक चासो नदिएको गुनसो गरे।

प्रदर्शन कार्यक्रममा बोल्दै वागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुँयालले लम्पी स्किन महामारी देशभर फैलिसक्दा समेत सरकार कानमा तेल हालेर बसेकाले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरेको बताए। उनले देशभरका किसानहरुलाई समस्या पर्दा सरकारलाई दुख्न नसकेको बताए।

उनले भने, ‘सातै प्रदेशमा प्रदेश सरकार छन्, ७५३ वटै स्थानमा सरकार छन्, अहिले १ अर्ब बढीको क्षति भइसकेको छ, लम्पी स्किनबाट। ७६ जिल्लामा पशु मरेका छन्। सबैतिर फैलिसक्यो। तरपनि सरकार कुम्भकर्ण निन्द्रामा छ। सबैलाई दुख्यो तर सरकारलाई दुखेन। त्यसैले सडकबाट सरकारको ध्यानाकर्षण गराएका हौँ।’

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले देशको आर्थिक अवस्था थला परिरहेको बेलामा लम्पी स्किन रोगले सताइरहेको भन्दै सरकारले आवश्यक ध्यान दिनुपर्ने बताए। उनले रोग नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको र पशुवस्तुमा क्षति पुगेका किसानलाई आवश्यक क्षतिपूर्ति दिनुपर्ने बताए।

उनले भने, ‘देशको आर्थिक अवस्था थला परिरहेको छ, यो रोगले धेरै पशुहरु मरिसकेको अवस्थामा सरकारको ध्यानाकर्षण गराएका हौँ। यस रोग नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चालोस् र क्षति पुगेका किसानहरुले उचित क्षतिपूर्ति पाओस्।’

कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले लम्पी स्किन रोगको तत्काल नियन्त्रण गर्न सरकारले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको बताए। उनले पशुलाई लम्पी स्किनको खोप दिनपनि सरकारले ढिलासुस्ती गरिरहेको आरोप लगाए।

उनले भने, ‘लम्पी स्किन रोगको तत्काल नियन्त्रण गर्न सरकारले प्रभावकारी कार्यक्रम ल्याउन सकेको छैन। यो देशव्यापी रुपमा फैलिसकेको छ। अहिले देशभर १० लाखको हाराहारीमा संक्रमित भइरहेका छन्। राज्यका तर्फबाट चालिएका कदममा ३ लाख पशुवस्तुमा खोप लगाइएको भनिएको छ, अरु कुरामा ढिलासुस्ती छ। खोपमा पनि ढिलो भइरहेको छ, पशु बीमा सम्बन्धी कार्यक्रम पनि अड्किएको छ। यो महामारी तत्काल नियन्त्रण गर्न नसके २५ लाख पशुवस्तुमा संक्रमण हुने र १ खर्बको क्षति पुग्ने विज्ञको अनुमान छ, त्यसैले राज्यले प्रभावकारी काम गरोस्।’

प्रदर्शनमा सहभागीहरुले ‘लम्पी स्किन महामारी घोषणा गर, किसानलाई तत्काल बीमा उपलब्ध गराउ, किसानलाई गोठगोठमा सेवा उपलब्ध गराउ, रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था गर, किसानलाई क्षतिपूर्ति र सहुलियत बैंक कर्जा उपलब्ध गराउ’ लगायतका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .